महिलाको नेतृत्व शासन-प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ : सभामुख घिमिरे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा नेपाली महिला आन्दोलनमा योगदान गर्नुहुने अग्रजप्रति पनि विशेष सम्मान र श्रद्धा अर्पण गर्नुभएको छ ।

‘जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लङ्ग छ । आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन-प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित हुनुहुन्छ भने सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।’, सभामुख घिमिरेले सन्देशमा भन्नुभएको छ ।

सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारिए पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।

महिला माथिको विभेदलाई आफ्नै आमा, दिदीबहिनी वा छोरीविरुद्धको अपमान हो भन्ने बुझ्न सके सामाजिक असमानतासमेत हट्ने बताउँदै सभामुखले भन्नुभयो, ‘अहिले पनि महिलामाथि हुने सामाजिक विभेद, अन्याय र हिंसाले समाज ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक र सामाजिकरूपमा मूल प्रवाहमा ल्याउन चेतना अभिवृद्धि गर्न जरुरी छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?