पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी

हिमालय टाइम्स
Read Time = 4 mins

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुगा गाउँका दन्तलाल भियालको दैनिकी कार्य हो रारातालमा आएका पर्यटकलाई घोडामा घुमाउने । पिठ्युँमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उहाँ आन्तरिक तथा बाहृय पर्यटकको पर्खाइमा बस्नुहुन्छ । सुक्खा रोटी र पिरो खुर्सानीको सहारामा उहाँ दैनिक रारा पुग्नुहुन्छ । जहान परिवार पाल्ने आशमा अन्य काम छाडेर घोडासँगै उहाँ रारामा दौडिने गर्नुहुन्छ ।

पर्यटक नआउँदा उहाँको मन सुक्खा रोटीसँगै खाएको पिरो खुर्सानीजस्तै मन पनि पिरो हुन्छ । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन् । तीमध्येका एक घोडा व्यवसायी भियाल घोडा व्यवसाय खस्कँदै गएको बताउनुहुन्छ । विगतका वर्षहरूमा एक घोडा सवार गरेको पाँच सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए । तर, अहिले राराताल हेर्न आउने पर्यटकको संख्या पनि कम हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन चलाउन पनि सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ-धौ रहेको उहाँको भनाइ छ ।

रारातालमा घुम्न आउनेको संख्यामा कमी भएपछि मुगुका घोडा व्यवसायीको पनि रोजगारीमा समस्या भएको हो । दिनभरि रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म आम्दानी गरेको अर्का घोडा व्यवसायी पप्पु तिरुवाले बताउनुभयो ।

उहाँका अनुसार भदौ-असोज महिनातिर अलि बढी पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार पाँच सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार पाँच सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । घोडा चढेको दररेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दररेट निर्धारण नहँुदा पर्यटकहरू ठगिने गरेका छन् ।

रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसायमात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ । हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १० देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?