स्वदेशी सवारी दर्ता प्रक्रियाका लागि पहल सुरु

Read Time = 3 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादित सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधानका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री ज्वालाले सोमबार मातहतका कर्मचारी र सरोकारवाला निकायसँगको छलफलमा सोसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिनुभएको हो । उहाँले दुुई दिनभित्र नेपालमा उत्पादित सवारीसाधन दर्ता र सञ्चालनको समस्या हल हुने दाबीसमेत गर्नुभएको छ ।

स्वदेशमै उत्पादित सवारीसाधनलाई सरकारले प्रोत्साहन गर्ने तर त्यसको सुरक्षा, सुलभ मूल्य हुनुपर्ने मन्त्री ज्वालाको भनाइ थियो । नेपालमा उत्पादित सवारीसाधन दर्ता र सञ्चालनमा लामो समयदेखि कानुनी जटिलता रहँदै आएको छ । उक्त जटिलता तत्काल फुकाउन सरकारले यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधनको तयारी गरेको हो । यात्रीलगायतका केही कम्पनीहरूले नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आए पनि कानुनी जटिलताका कारण दर्ता र सञ्चालन हुन सकेका छैनन् । प्रज्ञापनपत्रको अभावमा दर्ता हुन नसकेका हुन् ।

विगतमा बनेको यातायात व्यवस्थाको कार्यविधिले नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने सोचेको छैन । सोही कारण समस्या आएको हो । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारीसाधनमात्रै दर्ता गर्ने व्यवस्था रहेको छ । नीतिगत अवरोधका कारण यात्री बाइक दर्ता र सञ्चालन हुन नसकेको भन्दै चौतर्फी विरोधपछि सरकार फास्ट ट्र्याकमा कार्यविधि संशोधनको तयारीमा जुटेको हो । सरकारले नेपालमा बनेका सवारीसाधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिँदा यात्रीको उत्पादन करिब आठ महिनादेखि बन्द छ । समस्या समाधानका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएको कम्पनीको गुनासो छ ।

अघिल्लो दिनमात्रै नेपाली वैज्ञानिक तथा खोजकर्ता डा. महावीर पुनले स्वदेशी प्रविधिको प्रवद्र्धन अभियानसहित सामाजिक आन्दोलन घोषणा गर्नुभएको थियो । सरकारले देशमै आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहित गर्नुपर्ने भन्दै विभिन्न आठबुँदे नारासहित आन्दोलनका लागि अभियन्ताहरूलाई आहृवान गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?