✍️ इन्द्रबहादुर बराल
बुढापाकाले भन्थ्ये ‘बोल्न पायो भनेर प्वाक्क नबोल्नु, खान पायो भनेर क्वाप्प नखानु’ । यो भनाइ आजभोलि नेताजीहरूको भाषणले चरितार्थ गर्दै गरेको सुनिन्छ । नेपालको संविधान २०७२ जारीपछिका तीनै तहका निर्वाचनपछि देशले एउटा निश्चित दिशा समात्ने र नागरिकका दैनिकिहरू सहज हुँदै जाने अपेक्षा थियो । साथसाथै राजनीतिक स्थायित्व हुने पनि त्यत्तिकै विश्वास लिएका थिए आम नेपालीले तर दुर्भाग्यबस संघीय संरचना अन्तर्गतको पहिलो संघीय निर्वाचन झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा (नेकपा) र त्यस पार्टीका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले शान्ति, स्थिरता र विकासको पर्खाइमा रहेका नागरिकको चाहनामाथि तुषारापात गरे ।
राजनीतिका ठूल्ठूला मुद्दाहरूको छिनोफानो भई समृद्धिको यात्रालाई तीव्रता दिनुको सट्टा तत्कालीन नेकपाका नेताहरू जुँगाको लडाइँमा फसे । विशेषत सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ दोषी बन्न पुग्यो । आफ्नो पार्टीको आन्तरिक विवादलाई व्यवस्थापनमा लचकता हुनु त कता हो कता उल्टै संसद विघटन गरेर अस्थिरतातिर देशलाई धकेल्ने काम भयो । जुन काम आफैंमा असंवैधानिक र अलोकतान्त्रिक थियो । त्यस्तो विघटनकारी कार्यलाई न्यायपालिकाले असंवैधानिक ठहर गर्दासमेत दोहो¥याएर दोस्रो पटक संसद भंग गरेर असहिष्णु र अलोकतान्त्रिक व्यवहार र चरित्र प्रदर्शन गर्दै स्वतन्त्र न्यायालयको समेत अवहेलना गर्न पछि परेनन् तत्कालीन प्रधानमन्त्री ।
सर्वोच्च अदालतको आदेश र परमादेशको अपव्याख्या र खिल्ली उडाउँदै गरेको अहिले पनि बेलाबखत सुन्न पाइरहिन्छ । यस्ता अनुत्तरदायी नेताहरूका कारण आज मुलुक अस्थिरतातिर जाँदै गरेको सर्वत्र महसुस हुँदै छ । यो त विषय प्रवेशको प्रशंगमात्र हो । किन नेताजीहरू यति धेरै छाडा र अनुत्तरदायी भए अनि त्यसको प्रभाव र परिणाम के भइरहेको छ भन्ने सामान्य हेक्का नभएकाले आफ्नो बोलीमा लगाम लगाउन अनिवार्य आवश्यकता देखिएको छ । अहिलेका मूलधारका ठूला दलहरू जसलाई आजभोलि त तथाकथित भन्न मन लाग्छ, उनीहरूले हिजो गरेका ती ऐतिहासिक र बलिदानिपूर्ण क्रान्तितिर फर्केर भविष्यको सही बाटो समात्न त्याग गर्न सक्नुपर्छ ।
चाहे कांग्रेस हुन् या कम्युनिष्ट ती दुवैले सत्ताभन्दा माथि उठेर सिष्टमका लागि जे-जे त्याग्नुपर्ने हो त्यो-त्यो त्याग्न नसके फेरि अर्को विडम्बना पक्का छ । एकथरि पुराना शक्तिहरू सधैं धमिलो पानीमा माछा मार्न मौकाको पर्खाइमा छन् । त्यस्ता पुरातनवादी शक्तिहरूले शिर ठाडो गरिसकेको अवस्था प्रष्ट देखिइरहेको छ । परिवर्तनकारी पार्टी र शक्तिलाई खुलेआम ‘चोर’ को संज्ञा दिन थालिसके तर पनि नचेत्ने हो भने अब के आशा गर्ने ? यसर्थ २००७ सालदेखि २०६२/०६३ सम्मका जनक्रान्ति, विद्रोह र सशस्त्र युद्ध आदिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति, स्थिरता र विकासको राजमार्ग बनाउनै पर्छ ।
त्यसका लागि मूलधारका राजनीतिक शक्तिहरूमा सहमति, सहकार्य र एकताको एकमात्र विकल्प हो । सत्ताको छिनाझपटी र असहिष्णुता नै आजको मूल समस्या हो । लोकतन्त्रको मूल मर्म र भावनाविपरीत जान खोज्दा स्थिति खराब हुँदै गएको हो । तसर्थ बेला अझै घर्किसकेको छैन । सबैभन्दा पहिले मुखमा लगाम लगाउन अत्यन्तै आवश्यक र ढिलाइ भएको छ । गत वैशाख ३० गते सम्पन्न भएको निर्वाचन केन्द्रित कार्यक्रममा शीर्षनेताबाट व्यक्त अभिव्यक्ति निकै विवादित र आलोचित पनि देखिए । बोल्ने बेला बेलगाम बोलिदिइहाल्ने अनि पछि सच्याउन खोज्ने प्रवृत्ति यहाँ त्यति नौलो त होइन तर चुनावको मुखमा त्यस्ता बेलगामका बोलीले कति क्षति भयो होला यसै अनुमान गर्न सकिन्छ ।
नेताहरूको बोली र भाषणले आफ्ना कार्यकर्तालाई कुन हदसम्म अप्ठ्यारो र कहिलेकाहीँ कति लज्जित पारेको हुन्छ भन्ने कुरा ख्याल नराख्दा त्यसको प्रतिकूल असर भर्खरै सम्पन्न चुनावमा पनि परिसकेको छ । त्यसैले ‘बोलेर बाठो र दौडिएरमात्रै छिटो भइँदैन’ भन्ने भनाइ स्मरण गर्दै आफ्ना पाइला अघि बढाउनु बुद्धिमानी हुन्छ । स्थानीय चुनावलाई केन्द्रमा राखेर शीर्षनेता देश दौडाहामा त निस्कनुभयो तर ती सबै देश दौडाहा निरर्थक जस्तो महसुस हुँदैछन् । यहाँ कुनै खास एक पार्टीको मात्रै कुरा होइन सबै एउटै ड्याङका मुला हुन भन्नेमा सम्भवतः सम्पूर्ण सचेत नागरिकले अनुभूति गरेको हुनुपर्छ । यसर्थ यतिमात्रै बोलौं जति डेलिभरी दिन सकिन्छ ।
सधैं हाबादारी गफकै भरमा जनता आश्वस्त बनाइराख्न सकिँदैन भन्ने तथ्य अब काठमाडौं महानगरमात्रै होइन देशका विभिन्न पालिका र वडाहरूमा स्वतन्त्र र विद्रोही उम्मेदवारलाई चुनाव जिताइदिने जनताको भावनाको सम्मान गर्न सिक्नु अनिवार्य आवश्यकता भइसक्यो । आइन्दा आकाशका तारा खसाल्ने उडन्ते र हावादारी गफ जनताले हावामै उडाइदिन थालिसके । नेपाली नागरिकहरू नेताभन्दा एक पाइला अगाडि छन् । पढेलेखेका धेरै विद्वान छन् जसले नेपाली समाजलाई सचेत र जागरुक गराइराखेका छन् । नेता हुनु एउटा प्राविधिक कुरामात्रै हो तर उनीहरूभन्दा नागरिक समाजका अगुवाहरू र पढेलेखेका देश विदेश देखे घुमेका युवाहरूलाई नजरअन्दाज गर्नु महाभुल हुनेछ ।
हालै सम्पन्न स्थानीय चुनावको समीक्षा गर्यो भने पनि आफैं प्रष्ट हुन सकिन्छ । अहिलेको पुस्ता अश्वासन, भाषण र भ्रम होइन उनीहरू परिणाममा विश्वास राख्छन् भन्ने बिर्सनु हुँदैन । यदि युवाहरूमा त्यो परिणाममुखी कार्ययोजना ल्याउनबाट चुक्यौं भने निसन्देह उनीहरूले पनि नेता र पार्टीहरू बिर्सिदिन बेर हुँदैन । फेरि पनि भन्नै पर्छ यसपटकको स्थानीय निर्वाचन परिणामलाई अझै गम्भीरताका साथ समीक्षा गर्नैपर्छ । तसर्थ अब हरेक राजनीतिक पार्टीहरू के कुरामा सचेत हुनुपर्छ कि हामी कहाँनेर चुक्यौं ।
समाजका विभिन्न क्षेत्र, वर्ग, पेशा वा व्यवसायमा रहेर आफ्नो अनुभव र शिक्षाबाट प्राप्त विशेषज्ञता हासिल गरेकाबाट राष्ट्र निर्माणमा योगदान हुनेगरी उपयोग गर्न हिचकिचाउँनु हुँदैन । ‘आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले बिसे नगर्ची जस्ताबाट शिक्षा लिएर देश र जनताको पक्षमा महत्वपूर्ण काम गरेको इतिहासलाई स्मरण गर्दा सानो भइँदैन ।
अब नेताहरूले आफूभित्र रहेको हिनताबोधलाई त्यागेर सबैको रायसल्लाह, सुझावमात्रै होइन चिया तथा भट्टी पसलमा हुने गफबाट पनि धेरै कुरा सिक्नुपर्ने हुन्छ । नेता, मन्त्री या अन्य कुनै पद पाएपछि सबै मै जान्ने हुँ भन्ने अहमता तुरुन्तै त्यग्नुपर्छ । जथाभावी बोलेर कतै अश्वासनमा झुण्ड्याएर राख्ने कतै मनोवैज्ञानिक त्रास देखाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने गराउने प्रवृत्तिले आज काठमाडौंमा बालेन शाह जस्ता थुप्रै युवा जगत राजनीतिक दलहरूलाई कडा चुनौती दिइराखेका छन् ।
समयको गतिसँगै आफूलाई समाहित गर्न नसक्दा अकल्पनीय दुर्घटना निम्तिने खतरालाई पनि बिर्सनु नहुने देखिन्छ । एक्काइसौं शताब्दीका अहिलेका पुस्ता धेरै सचेत र जागरुक छन् । आफ्नो अधिकार र कर्तव्यबोध गर्न सक्ने आलोचनात्मक चेत भएका युवालाई राष्ट्र निर्माणको मूल प्रवाहमा सरिक गराउने कार्ययोजनाका साथ सरकार, दलहरू र तीनका नेताहरू प्रस्तुत हुनुपर्छ । साथसाथै नैतिक र सामाजिक मूल्यलाई उच्च प्राथमिकतामा राख्नै पर्छ । दलहरूले टिकट दिएपछि जस्तोलाई पनि स्वीकार्नुपर्ने दलीय विधिविधान र निर्देशनलाई समयानुकूल परिमार्जन गर्न आवश्यक देखियो ।
नत्र कार्यकर्ता र सचेत नागरिकहरूले पार्टी ती सबै बन्धन आफैं तोड्दै हिँड्ने छन् । त्यसको ज्वलन्त उदाहरण अहिले सप्पन्न स्थानीय निर्वाचन आफैं छ । सामाजिक सञ्जालले मानिसलाई यति धेरै सचेत र जागरुक बनाइसकेको छ कि काठमाडौंमा केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार बालेन शाह त्यो पनि मधेसीमूलकासँग प्रतिस्पर्धामा कमजोर देखिएको तथ्य घाम जस्तै छर्लंग छ । त्यस कारण पार्टीहरूले अब कुनै पनि तहको निर्वाचनमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा उतार्दा उच्च नैतिकता र स्वच्छ छवि भए व्यक्तिको छनौट गर्नैपर्ने हुन्छ ।
आज काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको उम्मेदवारी ठूला भनाउँदा दलहरूका लागि फलामको चिउरा त भएकै छ त्यसभन्दा असंगठित रूपमा तर स्वतस्फुर्त तर संगठित युवाहरूको जमातले दलहरूलाई गिज्याइरहेका छन् । स्थानीय चुनावका ताजा रिपोर्टले दलहरूलाई चुनौती थपिदिएको छ । त्यसैले अब पार्टीका नेताहरूले महसुस गर्नै पर्छ कि जथाभावी बोल्नु नहुने रहेछ । नेताहरूद्वारा हालै गरिएका चुनावी भाषण अत्यन्तै आलोचित र विवादित हुँदा जनतामा नकारात्मक प्रभाव पर्न गएको अनुभव भएकै हुनुपर्छ । त्यसैले नेताजी अब बोल्दाखेरि मुखमा लगाम लगाएरमात्र बोलौं । त्यसैमा आफ्नो गरिमा र ओज उच्च कायम राख्न सकिन्छ ।