लण्डन । इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । यस्तै अर्को खेलमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि एक-शून्यको जित निकाल्यो । युभेन्ट्सको जितमा एञ्जल डी मारियामा निर्णायक गोल गर्नुभयो । उहाँले ५३औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्नुभएको थियो ।
यस जितसँगै युभेन्ट्सको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वार्टरफाइनलमा पुग्नेछ । फ्रेइवर्गलाई जित आवश्यक हुनेछ । दोस्रो लेग फ्रेइवर्गको मैदानमा १६ मार्चमा हुनेछ । अर्काे खेलमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग दुई-दुई गोलको बराबरीमा रोकियो । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गर्नुभयो ।
खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लियो । ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा दुई-एकको अग्रता लियो । ६२औं मिनेटमा हिडेमासा मारिताले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगियो ।
यस बराबरीले दुवै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ । यता, यूरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल बेटिसमाथि चार-एकको फराकिलो जित निकाल्यो । युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले गोल गर्नुभयो । रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काउनुभयो ।
दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युनाइटेड क्वार्टरफाइनलमा पुग्नेछ । रियल बेटिसलाई भने फराकिलो जितबाहेकको विकल्प छैन । दोस्रो लेग १६ मार्चमा रियल बेटिसको मैदानमा हुँदैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच