सी जिनफिङ तेस्रोपटक चीनको राष्ट्रपतिमा सर्वसम्मत निर्वाचित

Read Time = 3 mins

बेजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी जिनफिङ निर्विरोध निर्वाचित हुनुभएको छ । चिनियाँ संसद् जनकांग्रेसले ६९ वर्षीय जिनफिङलाई शुक्रबार राष्ट्रपतिमा सर्वसम्मत निर्वाचित गरेको हो । नेशनल पिपुल्स कांग्रेसको करिब तीन हजार सदस्यले उहाँलाई विजयी गराएका हुन् । राष्ट्रपतिमा उहाँ एकमात्र उम्मेदवार हुनुहुन्थ्यो ।

निर्वाचित भएपछि उहाँले ‘समृद्ध, बलियो, लोकतान्त्रिक, सभ्य, मेलमिलाप र महान् आधुनिक समाजवादी देश निर्माण गर्ने’ टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको शपथमा वाचा गर्नुभयो ।

गत अक्टोबरमै उहाँ चिनियाँ कम्युनिष्ट पार्टी र सेनाको अध्यक्ष भएपछि राष्ट्रपति पद सुनिश्चित भएको थियो । चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै सी गत अक्टोबरमा तेस्रोपटक पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बन्नुभएको थियो । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उहाँ सत्तासीन हुनुभएको हो । गोप्यरूपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका भने राखिएका थिए ।

यस्तै, जनकांग्रेसले हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ भने चाओ लचीलाई जनकांग्रेसको अध्यक्ष निर्वाचित गरेको छ ।
बैठकले जनकांग्रेस स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ । बैठकले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरू तथा अन्य सरकारी उच्च अधिकारीहरू पनि निर्वाचित गर्नेछ । राष्ट्रपति सीका निकट लि छियाङ नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?