निर्वाचन गतिविधि र यसको शैली

Read Time = 5 mins

भनिरहनै पर्दैन स्थानीय तहको निर्वाचनको संघारमा छौं हामी । देशैभरि एकै पटक हुनलागेको निर्वाचनले सबैलाई प्रभाव पारिरहेको छ । निर्वाचनमा भाग लिने दलसँग कुनै न कुनै रूपका कोही न कोही जोडिएकै छन् । निर्वाचनमा भाग लिने दल, यसका सदस्य र उम्मेदवारलाई मात्र होइन सबैजसो जागरिक यसबाट प्रभावित छन् । पार्टीका साधारण सदस्य, क्रियाशील सदस्य, उम्मेदवारका परिवार तथा नातागोतालगायत संख्यामात्र अत्यधिक हुन्छन् । स्वतन्त्र रूपमा रहने सामान्य जनता र स्वतन्त्र मतदाता दलीय प्रणालीमा कमैमात्र हुन्छन् ।

यस्तो अवस्थामा हुनलागेको स्थानीय तहको निर्वाचनमा संसदीय निर्वाचनभन्दा फरक खालको परिदृश्य देखिने गर्छ । भन्न त दलीय प्रणालीमा दलीय मत आउने हो भनिन्छ तैपनि कतिपय मत नातागोता, गाउँले, दाजुभाइ इष्टमित्र, छिमेकी आदि आउने भएकाले आकलन गरेको परिणाम नआउन सक्छ । गाउँघर छरछिमेक आदिमा चिनजान बढी भएका कारण उम्मेदवार मतको पूर्वानुमान गरेर बसेका हुन्छन् । तर, अन्तिम क्षणसम्ममा पैसा तथा खानपिनका कार्यबाट अनुमानित मत संख्या उल्ट्याउने कार्य गर्ने प्रयास गरिन्छ ।

यसले गर्दा राजनीति भनेकै त्यस्तै हो भन्ने मान्यता विकसित भएको छ । आफूबाहेक अरू कसैलाई राजनीति गर्नेहरूले राम्रो देख्दैनन् । तिनले पाँच वर्षसम्म अर्काले गरेका राम्रा कामलाई नराम्रा मात्र देख्छन् र चुनावका बेला तिनको घोर आलोचना गर्छन् । अहिलेको चुनावी कार्यक्रम पनि यसको अपवाद छैन । दलहरू आफ्ना कार्य र एजेण्डा यस्ता छन् भनेर जनतालाई देखाउनुको सट्टा विपक्षी दलहरूको आलोचना र विरोधमात्र गरिरहेका छन् । नेपालमा अझै राजननीतिक संस्कारको विकास हुन नसकेको दृष्टान्त हो यो । नेकपा एमालेले जनतासामु आफ्ना ६७ बुँदे अपिल सार्वजनिक गरेको छ । यो दल पनि आफ्ना कार्यको सार्वजनिकीकरण गर्नमा भन्दा अरूको विरोधमै तल्लीन छ । सत्ता गठबन्धन र नेपाली कांग्रेस पार्टीको आलोचनामै व्यस्त छ ।

हालको स्थानीय तहको निर्वाचन नेकपा एमाले र सत्ता गठबन्धनबीचको प्रतिस्पर्धा जस्तो देखिएको छ । जहाँ-जहाँ गठबन्धन भएको छ ती-ती ठाउँमा गठबन्धन नैै सुरक्षित देखिन्छ । अर्कातिर नेकपाका रूपमा संगठित पूर्वअवस्थाबाट आधा फ्याक माओवादी फुटेर गएको छ भने बाँकी रहेको एमालेबाट एमाले समाजवादी पनि फुटेर गएपछि एमाले स्वाभाविक रूपमा कमजोर हुनपुगेको छ । त्यसकारण उसलाई आफ्नो पराजय निश्चित छ भन्ने लागेको हुनसक्छ तर बाहिर-बाहिर भने ऊ आफ्नो सबलता देखाइरहेको छ । त्यसैले यति लामो फेहरिस्त तयार पारेर जनतालाई अपिल गरिरहेको छ । आफ्नो कार्यकालमा गरेका कामको विवरणसहित जनतासामु जाने प्रयत्नमा नेकपा एमाले छ तर आफू सरकारमा रहेका बेला गरेका गलत कार्यलाई लुकाउन खोजिरहे पनि सकिरहेको छैन ।

पराजयलाई पहिले नै स्वीकारेर बस्नुभन्दा त्यसलाई ढाक्ने गरी ठूलो स्वरमा कराउनु उचित हुने रणनीति उसको हो भन्ने देखिन्छ । जसरी भए पनि आपूm कमजोर छैन भन्ने देखाउनुपर्ने चुनौती एमालेको रहेको हुँदा उसले निर्वाचनका लागि साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेको छ । एमालेले ठूलो राशिमा पैसा खर्च गरिरहेको छ भन्ने चर्चा भइरहेको छ । गठबन्धन पनि यस्ता कार्य गर्नमा नचुक्ला तर गठबन्धनका शीर्ष नेताहरूको ध्यान शीर्ष ठाउँहरूमा मात्र केन्द्रित भएको हुँदा तल्ला निकायहरू ओझेलमा परेका छन् । सामान्य र पछाडि परेका ठाउँतर्फ उनीहरूको नजर पर्न सकेको छैन । यसबाट केही चर्चित ठाउँमा उनीहरूले चाहेजस्तो परिणाम आउला तर सबै ठाउँमा चाहेजस्तो परिणाम नआउन सक्छ । यतातिर पनि शीर्ष नेताहरूको ध्यान पुग्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?