प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको १६ नं. वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी-२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आइतबार आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।
सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यसपटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए ।

प्रतियोगिताअन्तर्गत सैनिक मुख्यालयको खेल मैदानमा जगदल गण र श्रीमेहर गणबीच आइतबार भएको फुटबल खेलमा शून्यका विरुद्ध एक गोलले जगदल गण विजयी भई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा श्रीमेहर गण दोस्रो र देवीदत्त गण तेस्रो घोषित भए । दोस्रो र तेस्रो हुने गणलाई बलाध्यक्ष रथी सरोजप्रताप राणा र सीताराम खड्काले क्रमशः ४० हजार र २० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट गोल किपर जगदल गणका सञ्जय बराल र सर्वाेत्कृष्ट खेलाडी सोही गणका सनी लामा घोषित हुनुभयो ।

प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले विसं २०६५ देखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ ।

समारोहमा विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय पहिचान कायम गर्न सफल खेलाडीलाई पूर्वप्रधानसेनापतिद्वय गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आर्चरी पूर्वी पृतना, एथलेटिक्स र सुटिङमा १६ नं. वाहिनी अड्डा, तेक्वान्दोमा उपत्यका पृतना, पौडीतर्फ विशेष फौज वाहिनी, भलिबलतर्फ मध्यपूर्वी पृतना प्रथम घोषित भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?