मिर्चैया नगरपालिकाविरुद्ध वडावासी आन्दोलित

हिमालय टाइम्स
Read Time = 3 mins

शिवनाथ मण्डल/ सिराहा । सिराहाको मिर्चैया नगरपालिकाले पाँच दशकदेखि बसोबास गरिरहेका स्थानीयको घर भत्काएपछि वडाबासी आन्दोलित भएका छन् । नगरपालिकाले स्थानीयको वर्षौंदेखि बसोबास गरी आएको घर भत्काएर पीडित बनाएको भन्दै उनीहरू केही दिनयता निरन्तर आन्दोलनमा छन् । नगरपालिकाले स्थानीय व्यापारी तथा वडावासीको भवन तथा घर भत्काएको थियो । घर भत्किएसँगै ५ र ६ वडाका स्थानीयहरू पीडित बनेका छन् । सबैभन्दा बढी पीडित ५ नम्बर वडाका छन् ।

नगरपालिकाले नगरवासीका अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन गर्न खोजेको आरोप उनीहरूको छ । व्यवसाय पुनःस्थापना र रोजगारीको पुनः व्यवस्था गर्नुपर्ने माग पीडितको छ । चाँडोभन्दा चाँडो व्यवसायको सुनिश्चितता गर्नुपर्ने उनीहरू बताउँछन् । वर्षौंदेखि बसोबास गर्दै आएकालाई लालपुर्जा जारी गर्नुपर्ने माग उनीहरूको छ । प्लेकार्डसहित पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।

मिर्चैया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार महत्तोले नगरपालिकाको जग्गा मिचेकालाई मात्र हटाइएको बताउनुभएको छ । सडक मिचेर बनाएको र नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बनाइएको घर मात्र हटाइएको उहाँको भनाइ छ । निजी सम्पत्तिमा बनाइएको कुनै संरचना नहटाएको महत्तोले दाबी गर्नुभयो ।

उहाँका अनुसार सरकारी जग्गामा बनाइएका संरचना मंसिरमा भत्काइएको थियो । सबैसँग छलफल गरी समझदारीमा भत्काइएको थियो । पाँच महिनापछि विरोध हुनुमा विरोधीहरू सलबलाएको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत महत्तोले बताउनुभयो । अहिले राजनीतिक रंग मिसिएको र विकास विरोधीहरूले आन्दोलन गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले तीन बिगाहा १२ कठ्ठा १७ धुरमा बनाएको संरचना भत्काएको हो । १० देखि १२ वटा घर भत्काएको छ । ‘नगरपालिकाले खाली गरेको जग्गामा व्यापारिक प्रयोजनका लागि भवन बनाउनेछ,’ उहाँले भन्नुभयो, ‘घर भत्केका स्थानीयलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’ छलफलका लागि बोलाइए पनि उनीहरू नआएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?