हैसियत सम्झिरहन्छु म !

डा. नारायण चालिसे
Read Time = 15 mins

छोराछोरीले सधैँ मलाई मेरो हैसियत सम्झाइरहन्छन् । हुन पनि हो मेरो कुनै हैसियत नै हुन सकेन । न राम्रो जागिर खान सकियो न मनग्गे पैसा कमाएर सुखसयल गर्न जानियो । न परिवारलाई सुखी र खुशी राख्न सकियो । न मैले अन्य कुनै स्रोतले धन कमाउन सकेँ । सबैका सामु छोराछोरीले आफ्नो हैसियत सम्झाइरहँदा मन कटक्क हुन्छ । पितामाताहरू पनि थरिथरिका छन् सन्तान पनि थरिथरिका छन् । या राम्रैका कुरा बढी हुन्छन् । या नराम्रैका कुरा हुन्छन् ।

समाजमा औसत मानिसहरू धेरै छन् जसका विषयमा खास चर्चा हुँदैन । सबैलाई एउटै विचारको घानमा राखेर हेर्न मिल्दैन । सबैलाई एउटै दृष्टिले मूल्याङ्कन गर्न पनि हुँदैन । झुपडीमा बस्नेले महलको सम्पन्नताका विषयमा र महलमा बस्नेले झुपडीको विपन्नताका विषयमा जति नै कल्पना गर्दा पनि सही चित्रण गर्न सक्दैन । यस्ता विषय धेरै छन् जसका विषयमा लेखिँदै छ र लेखिँदै जानुपर्छ ।

यदि हाम्रा बाबासँग अलि धेरै सम्पत्ति हुन्थ्यो भने म आजसम्म डाक्टर वा पाइलट भइसकेको हुन्थेँ वा विदेशको राम्रो विश्वविद्यालयमा पढिरहेको हुन्थेँ । आज म क्याम्ब्रिज, अक्सफोर्ड वा हारवर्डमा हुन्थेँ । आफूलाई यो विषय पढ्न मन थियो पैसाका कारणले अर्कै विषय पढ्न परिरहेको छ । साथीको घर यस्तो छ मेरो छैन । मेरो घरमा एउटा गाडीसम्म छैन मेरो साथीको घरमा यतिवटा कार छन् । साथीको बाइक यति महँगो छ मेरो छैन । मेरा लुगा यस्ता साथीका लुगा उस्ता । साथीका बाबा यति पढेका छन् मेरा बाबुआमा धेरै नपढेका । साथीका बाको यस्तो राम्रो जागिर छ मेरा बाको छैन ।

हैसियतका कुरा गरेर आजका सन्तानहरूले बाबुआमालाई यति धेरै बाध्य बनाउने गरेका छन् कि हो न हो हाम्रै कारणले सन्तानहरूले भनेजस्तो गर्न पाएनन् । त्यसकारण अब हामीले त्यही गर्नुपर्छ जे कुरा अब यिनीहरूले भन्छन् ।

आज धेरैका सन्तानहरूले आफ्ना बाबुआमाको हैसियत सम्झाउँदै भन्ने गरेका साझा शब्दहरू हुन् यी । हारवर्ड, क्याम्ब्रिज पुगेका सन्तान पनि छन् । डाक्टर, पाइलट वा इन्जिनियर बनेका सन्तान पनि छन् । स्वदेशमै राम्रो उन्नति गरेका सन्तान पनि छन् । विदेशमा गएर दुव्र्यसनमा फसेका सन्तान पनि छन् । असल सन्तानले आफ्नो अवस्थाबोध गराइरहन्छ खराब सन्तानले सधैँ बाबुआमालाई उसको हैसियत सम्झाइरहन्छ । बाबुले सम्पत्ति नकमाउनु बाबुको अपराध होइन र पाप पनि होइन । जस्तो आर्थिक हैसियत भएको परिवारमा जन्मियो त्यस्तै भएर आउनु हाम्रो नियति हो ।

त्यसमाथि आफ्नो बलबुताले कसैकसैले केही आर्जन गर्दछन् कतिले अवसर पनि पाउँदैनन् र कतिसँग क्षमता हुँदैन । तर जब सन्तान जान्ने भएर मुख चलाउन सुरु गर्छन् अनि उनीहरूले बाबुलाई हैसियतको बोध गराइरहन्छन् । मलाई सानोमा यस्तो कुरा किन किनिदिनुभएन ? यस्तो किन गर्नुभएन मलाई उस्तो किन गर्नुभएन ? यसो भएको भए म यो गर्थें यसो भएको हुनाले मैले यो गर्न सकिन । सानोमा मलाई उचित पालनपोषण भएन वा उचित वातावरण प्राप्त भएन । बाबुआमाले यो कुरा समयमै सिकाएनन् । म यस्तो हुने मानिसै होइन । बाल्यकालमा दुःख पाएँ त्यसैले प्रगति गर्न सकिन ।

राम्रो विद्यालयमा पढ्ने पैसा भएन त्यसैले राम्रो गर्न सकिन । मेरो यो कुरा पूरा गरिदियौ भने म पढ्छु अथवा तिमीहरूले भनेको मान्छु । मेरा साथीको हैसियत यस्तो छ । त्यसका सामु मलाई लाज लाग्छ । मेरा साथीले यसो गरेको छ । त्यसैले म पनि त्यसै गर्छु । यसरी बाबुआमालाई ब्ल्याकमेल गरेर आफ्नो इच्छा पूरा गराउने प्रचलन समाजमा बढेको सुन्न पाइन्छ । मेरो यो कुरा पूरा गरिदिएनौ भनेँ म मर्छुसम्म भन्न भ्याउँछन् आजका बच्चाहरू । परीक्षा दिन्न, यो गर्दिन ऊ गर्दिन त सामान्य कुरा भए ।

हैसियतका कुरा गरेर आजका सन्तानहरूले बाबुआमालाई यति धेरै बाध्य बनाउने गरेका छन् कि हो न हो हाम्रै कारणले सन्तानहरूले भनेजस्तो गर्न पाएनन् । त्यसकारण अब हामीले त्यही गर्नुपर्छ जे कुरा अब यिनीहरूले भन्छन् । हाम्रो कारणले बच्चाले राम्रो विषय पढ्न पाएन त्यसैले यो दुःखी छ । अब त्यसको क्षतिपूर्ति छोराले अहिले जेभन्छ त्यो कुरा मानिदिनुपर्छ भनेर सन्तानका अनावश्यक इच्छालाई पनि पूरा गरिदिने गर्नाले सन्तानको आदत बिग्रेका धेरै दृष्टान्त छन् । सन्तानको मन राखिदिनकै निम्ति यसरी अस्वाभाविक फर्माइसहरू पूरा गरिदिँदै जाने हो भने एक दिन त्यस्तो आउँछजुन दिन हामी पछुताउनुबाहेक हामीसँग विकल्प रहँदैन ।

केही वर्ष पहिलेको कुरा हो हामी एकजना धनीमानीका घरमा डेरा बस्थ्यौँ । आफ्नो समयमा राम्रो अड्डामा जागिर गरेर आर्थिक हैसियत बनाएका ती घरपति बाका दुई छोराहरू थिए । धेरै छोरी जन्मेपछि बुढेसकालमा जन्मिएका ती छोराहरूको लालनपालनमा उनीहरूले केही कसर बाँकी राखेनन् । जे भन्यो त्यही पु¥याउँदै गए । बाबुभन्दा स्वभावैले आमाको मन कोमल हुन्छ भनिन्छ । सन्तानका कतिपय कमजोरीलाई आमाले ढाकछोप गरिदिनाले सन्तानहरूमा त्यसप्रकारको हौसला बढ्दै जान्छ भन्ने पनि सुनिन्छ । त्यहाँ पनि आमाको सिफारिशमा बाबुले छोराका हरेक कुरा पूरा गर्दै गए ।

हामी त्यो घरमा डेरा बस्ने समयसम्ममा ती होनहार छोराहरू लागूपदार्थको कुलतमा फसिसकेका थिए । ती छोराहरूले बेलबेलामा हामीसँग भाडाबापतको पैसा माग्थे हामी महिना नपुग्दै पनि पैसा दिन्थ्यौँ । पछि थाहा लाग्यो त्यसरी हामीसँग मागेर लगेको पैसाले पनि ती छोराहरूले लागूपदार्थ किनेर खाँदा रहेछन् । उनीहरूले अनेक प्रयत्न गरे तिनीहरूको कुलत छुटाउनका लागि तर सबै उपाय समाप्त भएपछि यस्तो समय आयो कि ती छोराहरूलाई केही वर्ष बढी बचाउनको निम्ति बाध्य भएर स्वयं आमाबाबुले लागूपदार्थ किनेर ल्याइदिन थाले ।

बाबुआमाले रुँदैरुँदै ती सबै कुरा बताउँदा हाम्रो पनि मन भावुक भएर आउँथ्यो । जसरी सन्तान जन्माउनु उनीहरूको बाध्यता रहृयो त्यसरी नै जन्माइसकेपछिका सबै जिम्मा पनि उनीहरूले नै लिनुपर्छ । सकियोस् नसकियोस् सन्तानका इच्छा पूरा गराउनु उनीहरूको जिम्मेवारी हो भन्ने भावनाले गर्दा कतिपयका घरमा अनपेक्षित घटनाहरू घट्ने गरेका प्रशस्त दृष्टान्तहरू छन् । निश्चय पनि सन्तानकाप्रति बाबुआमा जिम्मेवार नभएर सुख पाइँदैन तर त्यसो भन्दैमा सन्तानका सबै फर्माइस पूरा गर्न बाआमा बाध्य हुनुपर्छ भन्ने छैन ।

सबैको त नभनौँ प्रायः अहिलेका धेरै बच्चाहरूलाई दुःखको पत्तो हुँदैन । जति दुःख परे पनि बाबुआमाले सन्तानलाई त्यसको असर नपरोस् भनेर सचेत रहन कोसिस गर्छन् । आफूले आधा पेट खाएरै पनि सन्तानका महँगा इच्छाहरू पूरा गरिदिँदै जान्छन् । बाबुआमा गरिब छन् भन्ने कमजोरीलाई भजाएरै पनि सन्तानले आफ्ना माग पूरा गराइरहन्छन् । अहिलेका बच्चाहरू आफ्ना बाबुआमाले केही जानेकै छैनन् हामी नै यिनीहरूभन्दा जान्नेबुझ्ने छौँ भन्ने ठान्छन् ।

हैसियत होस् तर त्यस्तो हैसियत नहोस् जुन कुराले हाम्रो स्वाभिमानलाई खिज्याउन थालोस् । सन्तानहरूले हाम्रो धरातल पटक-पटक सम्झाउने अवस्था आइरहोस् । हैसियत बनाउने हो भने अरू पनि बाटाहरू छन् । समाजमा सम्मानित हुने हैसियत बनाउन पाइन्छ ।

त्यतिमात्र होइन बाबुआमाले भनेका कुराहरूलाई उनीहरूले असान्दर्भिक ठान्छन् । सल्लाह लिने वा मान्ने त परको कुरा भयो । बाबुआमाको अनुभवभन्दा आफ्नो ज्ञान उच्च छ भन्ने ठान्छन् र आफ्नै ज्ञानमा गौरव गर्न थाल्छन् । नुहाउनुको साटो शरीरमा स्प्रे गरेर दश दिन बस्न रुचाउँछन् । बेडरूम वा वाथरूमबाट आएको खराब स्मेल थाहा पाउँदैनन् । अंग्रेजी गीत सुन्दै काँटाचम्माले भात खानु अनि लामा दाह्री र कपाल पालेर हिँड्नुलाई सभ्यता ठान्छन् । फाटेको जिन्स वा बेलायती सुट लागाएर हिँड्नुलाई उच्चता मान्छन् । बाबुले लगाएको दौरा सुरुवाललाई उपेक्षा गर्छन् । आमाले लगाउने गुन्युचोलीलाई असभ्य मान्छन् ।

त्यसपछि उनीहरू आफ्ना साथीहरूलाई निकट व्यक्ति र उनीहरूका भनाइलाई ब्रहृमवाक्य नै मान्दछन् । साथीभाइका सामु आफ्ना बाबुआमाको अपमान भएको पत्तो पाउँदैनन् । यतिसम्म कि उनीहरू आफ्ना गुरु वा श्रेष्ठजनलाई समेत सम्मान गर्न जान्दैनन् वा चाहँदैनन् । आफ्नो लाइफस्टाइलमा कसैले हस्तक्षेप नगरोस् भन्ने चाहन्छन् । अनि उनीहरूले देशलाई गाली गर्छन् । सरकारलाई गाली गर्छन् ।

आफूजस्तो योग्य नागरिक यस्तो सानो देशमा जन्मिनुलाई दुर्भाग्य ठान्छन् र जतिसक्दो चाँडो आफ्नो जन्ममुलुकलाई छोड्न चाहन्छन् । देशकाप्रति आफ्नो कर्तव्य के हुनुपर्ने भन्ने विषयमा उनीहरू बेखबर छन् । देशले मात्रै आफूलाई दिइरहनुपर्छ भन्ने मान्छन् जसरी बाबुआमाले गरिरहनुपर्छ भन्ने मान्दै आएका छन् ।

यति धेरै कुरा जान्ने भइसकेपछि त सन्तानले बाबुआमाको बाध्यता पनि बुझ्न सक्नुपर्ने हो नि तर त्यसो हुँदैन । भनिन्छ नि असल सन्तानले पितामातालाई देवतासमान मान्छन् र आफूहरू पनि देवसन्तान हुन रुचाउँछन् । तर खराब सन्तानले पितामाताको हैसियत सम्झाइरहन्छन् र आफूहरू पनि हैसियत नभएका पितामाताका सन्तान हुन रहर गर्छन् । हैसियत धेरैथोरै त सबैको हुन्छ तर हैसियत भन्नाले हुनेखाने हुनु हो भन्ने बुझाइका कारणले हैसियत शब्दको अर्थ आर्थिक उन्नतिसँग मात्रै जोडिन आउँदा केही नकारात्मक हुन थालेको छ ।

हैसियत होस् तर त्यस्तो हैसियत नहोस् जुन कुराले हाम्रो स्वाभिमानलाई खिज्याउन थालोस् । सन्तानहरूले हाम्रो धरातल पटक-पटक सम्झाउने अवस्था आइरहोस् । हैसियत बनाउने हो भने अरू पनि बाटा छन् । समाजमा सम्मानित हुने हैसियत बनाउन पाइन्छ । पढेलेखेर उच्च प्राज्ञिकको हैसियत बनाउन सकिन्छ । समाजसेवा गरेर समाजसेवीको हैसियत बनाउन सकिन्छ । हैसियतका यस्तै अनगिन्ती महल छन् जहाँ जाँदा हाम्रो आत्मसम्मानमा चोट पुग्दैन ।

हाम्रा छोराछोरीहरूले त्यसै प्रकारले हाम्रो हैसियतको परिचय गराउन् न कि केवल आर्थिक हैसियतको मात्र कुरा गरेर होच्याउने प्रयत्न गरून् । प्रिय सञ्चेतना ! समाजमा हैसियत बनाउन र हैसियत जोगाउन दुवै कुरा गाह्रो रहेछ । कामना गरौँ हामी हाम्रा सन्तानका भावनालाई बुझ्ने बनौँ । हाम्रा सन्तानहरू हाम्रा भावनालाई बुझ्ने बनून् । हाम्रो अवस्था बुझ्ने बनून् । हाम्रो हैसियत सम्झाएर लज्जित पार्ने नबनून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?