माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरित छः उपाध्यक्ष सापकोटा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताकाअनुसार संक्रमणकालिन न्यायको विषय अगाडी बढ्नुपर्ने बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताउनु भयो । उहाँले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरित छ । त्यहाँ स्पष्ट भनिएको छ, यि विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि शुरुवात गरिरहेको छ । फेरि यो कुरापनि त्यत्तिकै स्पष्ट छ कि २०६३ सालको अन्तरिम संविधानले जे व्यवस्था गरेको थियो अहिलेको संविधानको धारा ३०४ को उपधारा २ मा के भनिएको छ भने अन्तरिम संविधानमा व्यवस्था भएका कुराहरु यही संविधान अनुसार भए बमोजिम हुनेछ भन्ने त्यति स्पष्ट छ कि फेरि त्यसदेखि बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालिन न्यायको पद्धति, प्रक्रिया विपरित जाँदाखेरी यसले शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ । शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पुर्‍याउन सहयोग पुग्दैन । परिवर्तनमा नेपाल आमाका छोराछोरीहरुले ठूलो कुर्वानी गरेका छन् । यो परिवर्तनलाई असर पर्नेखालका गतिविधिहरु हुनु हुँदैन । विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडी बढ्नुपर्छ । त्यस अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता संक्रमणकालिन न्याय सम्बन्धि विषयहरु समाधान गरिनुपर्छ । यो कुरा गठबन्धनका ८ दलले पनि निर्णय गरिसकेका छन् । त्यस्तै संसद बाहिर भएका घटकहरुले पनि गरिरहेका छन् ।’

उहाँले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताउनु भयो । उहाँले विस्तृत शान्ति सम्झौताको गम्भिरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?