सरकारले तिर्नुपर्ने ऋण २१ खर्ब नजिक

Read Time = 3 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुससम्म ११ खर्ब दुई अर्ब ५१ करोड बाहृय ऋण र नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको छ महिनामा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असारसम्म कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाहृय ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड थियो । चालु आवको दोस्रो त्रैमासिकसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाहृय ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोडले घटेको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको छ । हाल जिडिपी ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाहृय ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ । चालु आवको पुससम्म नेपालले ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब आन्तरिक र १७ अर्ब २७ करोड बाहृय ऋण उठाएको हो । सोही अवधिमा ४५ अर्ब ६१ करोड बराबर साँवा-ब्याज भुक्तानी गरेको छ । पुससम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड र ब्याज १७ अर्ब ३१ करोड बराबर छ ।

सो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख गरी कुल ३५ अर्ब २५ करोड भुक्तानी भएको छ भने बाहृय ऋणको साँवा आठ अर्ब ७१ करोड र ब्याज एक अर्ब ६५ करोड गरी १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कुल साँवा-ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा-ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाहृय ऋणको साँवा-ब्याज भुक्तानी २२.७२ प्रतिशत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?