स्ववियु निर्वाचनमा सत्ता गठबन्धननिकट विद्यार्थी संगठनबीच तालमेल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्ववियु निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी उपत्यकाका अन्य ठूला क्याम्पसहरूमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको हो । अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालय(त्रिवि) हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी संठनबीच उपत्यकाका ठूला क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले तीन क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ । नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्मकन्या, शंकरदेव, मीनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ नर्सिङ, आयुर्वेद, जनप्रशासन, सरस्वती, ग्रामीण, कोटेश्वर, भक्तपुर बहुमुखी, केआइसी कालीमाटी, शिक्षा क्याम्पस थली पाउनेछ भने अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठिमी, पुल्चोक, नेपाल (ल), पब्लिक युथ, विश्वभाषा, एनआर, नेसनल ई., हिमालयन ई. पाउने सहमति भएको छ । साथै, अनेरास्ववियूले आरआर, ताहाचल, वानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ । तीन विद्यार्थी संगठनले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा त्रिविका अतिरिक्त मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा पनि तालमेल गरेर जाने निर्णय भएको उल्लेख छ ।

त्रिवि आंगिक क्याम्पसतर्फ एक लाख ६३ हजार मतदाता
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आंगिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै अांगिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी संख्या प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आंगिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता संख्या प्राप्त भएको छ । उहाँले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता संख्या यकिन नभएको बताउनुभयो । उपत्यकाका २१ क्याम्पसमा ६६ हजार ६४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार ४३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् ।

निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा रहेको बताउनुभयो । पिएन क्याम्पसमा १० हजार ८७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार २६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार १०९ विद्यार्थी सहभागी हुँदै छन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?