प्रधानमन्त्री सरकारको नेता हुन सक्नुपर्छ : महामन्त्री थापा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ ।
आईतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताउनु भयो । उहाँले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताउनु भयो । उहाँले सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले ५ वर्षको लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरु मैले नेपाली काँग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो । म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ ।’

महामन्त्री थापाले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्नै बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एउटा भ्रम राखेका छौँ की जस्तो लागेको छ । हामी खुशी हुँदा कता कता देश नै खुशी भयो भन्ने भ्रम पो राखेका छौँ की ? हामी खुशी हुनासाथ देशभरका सबै नगरिकहरु स्वतः स्फुर्तः खुशी हुन्छन् भन्ने छ । हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुशी हुन्छन् की भन्ने पनि मलाई लाग्दैन । हामीले खुशी बनाउनसक्छौँ की सक्दैनौँ भन्नेसँग जोडिएको छ । किनकी सरकार बन्ने कुरा त सरकार पहिला पनि थियो । अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो । व्यक्तिकै कुरा गर्ने हो भनेपनि आखिर नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री हुने हो । त्यसमा पनि अहिले नयाँ स्वाद आइहाल्छ भनेर अनुमान लगाउने कुरा पनि भएन । त्यसैले नागरिकलाई अहिले भएको राजनीतिक घटनाक्रमको विकासले कति धेरैलाई छुन सकेका छौँ भन्ने यो प्रश्न हामीले सोच्नुपर्छ । यो गठबन्धनले एक ठाउँमा रहेर हामीसँग ५ वर्ष छ, ५ वर्ष हामीले सरकार चलाउँछौँ, ५ वर्षको डेलिभरीको जिम्मा हाम्रो हो, यसमा हमीले डेलिभरी गर्न सकेनौँ भने त्यसको दण्ड सजाय हमी भोग्न तयार छौँ । यो ५ वर्षको विश्वास, आत्मविश्वास, भरोसा रहन्छ की रहँदैन, त्यहाँबाट यात्रा प्रारम्भ हुन्छ की हुँदैन । त्यसमा सोच्नुपर्छ । प्रधानमन्त्री गठबन्धनको नेता हुने की सरकारको नेता हुने भन्ने हो । गठबन्धनले ५ वर्षको निम्ति जिम्मेवारी पायो । तर प्रधानमन्त्री गठबन्धनमा हुँदा राजनीतिक दलको नेता हो । तर प्रधानमन्त्री सरकारको नेता हुन सक्नुपर्छ ।’

महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री गठबन्धनको नेता नभइ सरकारको नेता हुन सक्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?