काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो । एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताउनुभयो । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उहाँले भन्नुभयोे, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो ।’
निर्वाचन प्रकृयामा सत्तारुढ गठबन्धनबाट भएका यी विकृतिप्रति आफूहरुको गम्भीर चिन्ता रहेको उहाँले बताउनुभयो । उहाँले २०७४ को निर्वाचनभन्दा एमाले कमजोर भएको तर पपुलर मतमा एमाले अग्रपंक्तिमा कायमै रहेको जिकिर गर्नुभयो । ‘३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उहाँले भन्नुभयो । केही ठाउँमा एमालेकै कतिपय साथीले घात-अन्तर्घात गरेको भन्दै उहाँले पुष्टि भएका ठाउँमा सम्बन्धित कमिटीले कारबाही गर्ने पनि बताउनुभयो । २०६४ देखि नेपालको मतको ‘प्याटर्न’ हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस देशको मुख्य शक्ति रहेको र पपुलर मतमा एमाले नै पहिलो शक्ति देखिएको उहाँको भनाइ थियो । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको पनि उहाँले जानकारी दिनुभयो ।
‘नेपालको बाह्य सम्बन्धमा विचलन देखियो’
नेकपा एमालेले नेपालको बाह्य सम्बन्धमा विचलन देखिएको निष्कर्ष निकालेको छ सोमबारको सचिवालय बैठकले सरकारका कारण बाह्य सम्बन्धमा विचलन देखिएको भन्दै त्यसको विरोध, खबरदारी र भण्डाफोर गर्ने निर्णय गरेको हो । नेता ज्ञवालीका अनुसार नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम सरकारले गरेकोमा बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ । त्यसको आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच आउन नदिने गरी पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई असार २ र ३ गते प्रशिक्षण
एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले नेता प्रदिप ज्ञवालीका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने दुई दिने प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा समृद्धिका आधारशीला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्नेबारे प्रशिक्षण दिन लागिएको हो । उहाँले समग्र राष्ट्रिय राजनीतिको बारेमा पनि प्रशिक्षण दिइने जानकारी दिनुभयो । प्रशिक्षणमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुने उनले बताउनुभयो । स्थानीय तहको निर्वाचन समीक्षा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण र प्रशिक्षण र केही विभागलाई पूर्णता दिने एजेन्डामा छलफल भएको उहाँको भनाइ थियो ।
‘वामपन्थी शक्ति एक ठाउँमा आउने अनुमान सही होइन’
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वामपन्थी शक्तिहरू एक ठाउँमा आउने अनुमान सही नभएको बताउनुभएको छ । सचिवालय बैठकपछि पत्रकारले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धन बन्न लागेको हो? भनी प्रश्न सोधेका थिए । सोही प्रश्नको जवाफ दिँदै उहाँले अनुमान गलत भएको बताउनुभयो । ‘त्यो अनुमान सही होइन । यसबीचमा विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफलहरू चलिरहेको छ,’ ज्ञवालीले भन्नुभयो । उहाँले नेकपा एमालेजस्तो मूल वामपन्थी शक्तिलाई परास्त गरेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउनेलाई वामपन्थी भन्ने कि नभन्ने भन्दै प्रश्न समेत उठाउनुभयो । अहिले एमाले देशको बलियो शक्तिको रूपमा थप सुदृढ बनाउने अभियानमा रहेको समेत उहाँले बताउनुभयो । ‘वामपन्थी साथीहरू जसले कम्युनिष्ट आन्दोलनलाई बलियो हुँदा खुसी हुने होइन कि कम्युनिष्ट आन्दोलनको मूल शक्तिलाई परास्त गरेर कांग्रेसलाई शिरमा चढाउँदा, उसलाई धुरीमा पुर्याउँदा खुसीयाली मनाउने खालका साथीहरू हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई कति वामपन्थी भन्ने छ । अहिले नेकपा एमाले मूलतः एउटा बलियो राष्ट्रिय शक्तिको रूपमा थप सुदृढ बनाउने अभियानमा छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच