एक खर्ब ३३ अर्बको शोधनान्तर बचतमा

Read Time = 6 mins

काठमाडौं । शोधनान्तर स्थितिमा थप सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अवधिमा शोधनान्तर स्थिति एक खर्र्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तनि करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब सात करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब एक करोडले बचतमा रहेको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ माघमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

सात महिनामा नौ खर्बभन्दा बढीको आयात
आर्थिक वर्ष २०७९/०८० को सात महिनामा कुल वस्तु निर्यात २९.० प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पोलिष्टर धागोलगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायतको निर्यात घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई नौ खर्ब १९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो ।
भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामानलगायतकोे आयात बढेको छ । सवारीसाधन तथा स्पेयर पाटर््स, औषधि, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्ट्स, चाँदीलगायतका वस्तुको आयात घटेको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो ।

सात खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको सात महिनामा झण्डै सात खर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आय २७.१ प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि आठ प्रतिशत
माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति झण्डै आठ प्रतिशत अर्थात् ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?