सबै वामपन्थी घटकलाई एमाले भित्र केन्द्रित हुन एमाले सचिव भट्टको अपील

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन अपिल गर्नु भएको छ ।

नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसङ्गठनहरूको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमाले भित्र केन्द्रित हुन अपिल गर्नुभएको हो । उहाँले त्यसको नेतृत्व भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनु भयो ।

अघिल्लो निर्वाचनमा एमाले भित्रैका कारणहरूले परिणाम सोचेअनुसार आउन नसकेको बताउँदै उहाँले अब ग्रासरुट अभियानले बिगतका सबै समस्या हल गर्ने समेत विश्वास व्यक्त गर्नु भयो ।

एमालेलाई जताले कसरी बुझेका छन् भन्ने कुराको ग्रासरुट अभियानले प्रस्ट पार्ने बताउँदै उहाँले त्यसका लागि घरघर सम्म पुगेर पार्टीका बिषयमा सुझाव संकलन गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन समाजवादमा जाने पार्टीको लक्ष्य भएको बताउनु भयो । उहाँले जनपक्षीय नीति र कामले मात्र समाजवाद स्थापना गर्न सकिने उल्लेख गर्नुभयो ।

हालै सम्पन्न तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउँदै उहाँले पार्टीको नीति, सिद्धान्त र निर्णय पालन गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुटले पार्टीलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताउनु भयो । उहाँले अगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गर्नु भयो ।

‘अहिलेको संसदीय प्रणालीमा कुनै पार्टीको पनि बहुमत नभएका कारण मुलुक जुनसुकै बेला चुनावमा जानसक्छ । त्यसकारण तयारी अवस्थामा रहनुपर्छ,’ ठगुन्नाले भन्नुभयो, ‘एमाले एक्लैले बहुमत ल्याउनेगरी आजैदेखि तयारी गर्नुपर्छ ।’

उहाँले विगतमा टुटफुट र मनमुटुवाका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?