मेयर कप जितकुण्डोमा काठमाडौं च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं चार स्वर्ण, तीन रजत र सात कास्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान दुई-दुई स्वर्ण र रजतसाथ दोस्रो भयो । तेस्रो स्थानको सिन्धुपाल्चोकले एक स्वर्ण, तीन रजत र एक कास्य जित्यो । धनगढीले एक स्वर्ण प्राप्त गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका विजय थापा तथा महिलामा काठमाडौंकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

पुरुषको ३०.५-३५ केजीमा काठमाडौंका लोकेन्द्र तामाङ, ३५.५-४० केजीमा सर्लाहीका कृष्ण पण्डित, ४०.५-४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५-५० केजीमा काठमाडौंका विजय थापा, ५०.५-५५ केजीमा काठमाडौंका सुनिल विष्ट र ५५.५-६० केजीमा काठमाडौंका सुमन तामाङले स्वर्ण जित्नुभयो ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पार्नुभयो । पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गर्नुभयो ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषमा ११० र महिलामा ४० गरी १५० खेलाडी सहभागी थिए । पुरुषमा ६ तथा महिलामा दुई गरी आठ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताअघि संघको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जितकुण्डो सेमिनार आयोजना गरिएको थियो । राखेपमै भएको दुईदिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?