उत्तर कोरियाद्वारा फरि दुई क्षेप्यास्त्र परीक्षण

Read Time = 5 mins

सोल । उत्तर कोरियाले मंगलबार पनि दुईवटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीनदिनमा यो दोस्रो प्रक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो ।

उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिंटन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृंखला तीव्र भएको छ ।

दक्षिण कोरियाका एकजना वरिष्ठ सैनिक अधिकारीका अनुसार मंगलबार प्रक्षेपण गरिएका क्षेप्यास्त्र ६२० किलोमिटरसम्म उडेका थिए । उहाँले आफ्नो सैनिक दस्ताले निगरानी र सतर्कतालाई सुदृढ बनाएको बताउनुभएको छ ।

जापान सकारका प्रवक्ता हिरोकाजु मात्सुनोले क्षेप्यास्त्र आफ्नो देशको जलक्षेत्रमा नखसेको बताउनुभएको छ । यद्यपि उहाँले उत्तर कोरियाबाट थप उत्तेजक कारबाही हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनडुब्बीबाट दुईवटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका-कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहनेछ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ । प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिंटनको वैमनस्यतापूर्ण एवं उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका-दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

सुरक्षा विश्लेषकका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासका लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले खाद्य संकट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आहृवान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?