विद्यार्थी आन्दोलन, स्ववियुको विगत र वर्तमानमा उठेका प्रश्न

Read Time = 20 mins

✍️ ललितकुमार यादव

गर्विलो इतिहास बोकेको नेपाली विद्यार्थी आन्दोलन र स्ववियुको अस्तित्वमाथि नै पछिल्लो समय प्रश्न उठन थालेको छ । विद्यार्थी संगठनहरूले अब के गर्ने र विशेषगरी कुन मुद्दा उठाउने ? विद्यार्थी आन्दोलनको पछिल्लो समयको उपलब्धि के ? कहाँ अड्कियो विद्यार्थी आन्दोलन र अब कुन बाटो लिने ? यी र यस्तै प्रश्नहरूमाझ अल्झिएको छ, वर्तमान नेपाली विद्यार्थी आन्दोलन ।

नेपाली विद्यार्थी आन्दोलन पछिल्लो समय गैरशैक्षिक र अराजनीतिक गतिविधितर्फ उन्मुख हुँदै गएको देखिन्छ । विद्यार्थी आन्दोलनमा विकृति बढ्दा पछिल्लो समय विद्यार्थी हकहितभन्दा अन्यत्र केन्द्रित हुन थालेको छ । विद्यार्थी संगठनहरू र तिनका नेताहरू विद्यार्थीकै विश्वास गुमाउन थालेका छन् । विद्यार्थी आन्दोलन गतिविधिविहीन बनेको छ । विद्यार्थी नेताहरू माउ पार्टीका नेता र सत्ताको ताबेदारी गर्नमै रमाएका छन् । विद्यार्थी संगठनहरूले आफ्नो स्थापनाको औचित्यसमेत वर्तमान समयमा पुष्टि गर्न सकिनरहेको अवस्था छ । विद्यार्थी आन्दोलन सेवाभन्दा लाभ केन्द्रित हुन पुगेको वर्तमान अवस्था छ ।

माउ पार्टीहरूमै नीतिगत र वैचारिक स्पष्टताको कमीले पनि विद्यार्थी आन्दोलनले बाटो बिराउन पुगेको हो । विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिमा राजनीतिक दलहरूबीच भागबण्डा हुन थालेदेखि विद्यार्थी आन्दोलन गैरशैक्षिक गतिविधिमा केन्द्रित हुन थाल्यो । विद्यार्थी नेताहरूमा पार्टी र संसदीय राजनीतिमा छिट्टै छलाङ मार्ने पछिल्लो समयमा पलाउँदै गएको सोचका कारण विद्यार्थी आन्दोलनको गतिविधि सुस्त हुँदै गएको हो । विद्यार्थी संगठनहरू अहिलेको अवस्थामा पुग्नुमा माउ पार्टीहरूको उत्तिकै दोष छ भने विद्यार्थी आन्दोलन समयानुकूल अद्यावधिक हुन नसकेर कमजोर हुँदै जानुको कारण स्ववियु कमजोर हुनु हो ।

त्रिविले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ । त्रिविले स्ववियु निर्वाचनको मिति तोकेपछि विद्यार्थी संगठनहरू अहिले निर्वाचनको तयारीमा केन्द्रित भएका छन् र फेरि जुरमुराउन थालेका छन् । केही विद्यार्थी संगठनले स्ववियु निर्वाचनअघि आफ्नो केन्द्रीय महाधिवेशन गरेका छन् । कतिपय विद्यार्थी संगठनले नियमित महाधिवेशन समेत गर्न सकेका छैनन् । ती विद्यार्थी संगठनमा नेतृत्व हस्तान्तरणको क्रम रोकिएको लामो समय भइसकेको छ । स्ववियुको कार्यकाल दुई वर्षको रहने प्रावधान छ । सो प्रावधानअनुसार २०७५ फागुन १७ गते नै स्ववियुको कार्यकाल सकिएको थियो तर विभिन्न कारणले कार्यकाल सकेको लामो समयसम्म स्ववियु निर्वाचन हुन सकेको छैन । पछिल्लो समय २०६५ सालमा प्रायः सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो । त्यसपछि पटक–पटक चुनाव घोषणा हुने र अन्त्यमा स्थगित हुने क्रम चलिरहृयो । २०७३ मा केही क्याम्पसमा निर्वाचन भए पनि सबै क्याम्पसमा निर्वाचन हुन सकेन ।

विद्यार्थी आन्दोलनको इतिहास स्वर्णीम छ । नेपालको हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । राजनीतिक दलहरूका लागि नेता र कार्यकर्ता उत्पादन गर्ने प्रारम्भिक चरणको कारखाना नै विद्यार्थी संगठन हो ।

स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको मूल अभियन्ता हो तर समयमै स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको मेरुदण्ड स्ववियु थिलथिलो हुँदै गएको छ र अभियान नै रोकिएको छ । स्ववियु कमजोर हुँदा विद्यार्थी आन्दोलन नै कमजोर भएको छ । विद्यार्थी आन्दोलन कमजोर हुनुको परिणाम विद्यार्थी हकहितका र शैक्षिक मुद्दाहरू ओझेलमा पर्दै जानु हो । तसर्थ विद्यार्थी आन्दोलनलाई कमजोर हुन नदिन निर्धारित अवधिमै सबै क्यापसमा नियमित स्ववियु निर्वाचन हुन आवश्यक छ । विद्यार्थी आन्दोलनको इतिहास स्वर्णीम छ । पञ्चायत कालमा राजनीतिक आन्दोलनको दर्पण नै विद्यार्थी आन्दोलन थियो । नेपालको हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । राजनीतिक दलहरूका लागि नेता र कार्यकर्ता उत्पादन गर्ने प्रारम्भिक चरणको कारखाना नै विद्यार्थी संगठन हो । आजका प्रायजसो राष्ट्रिय नेताहरू विद्यार्थी आन्दोलनकै जगबाट पैदा भएका हुन् । राजनीतिक प्रवेश र प्रशिक्षणको प्रथम स्थल विद्यार्थी आन्दोलन नै हो । राजनीतिमा प्रवेश गर्न चाहनेहरू यहीबाट आफ्नो राजनीतिक करियरको प्रारम्भ गर्ने गरेका छन् ।

विद्यार्थी हकहितका र शैक्षिक मुद्दाहरूलाई सरकारसँग जोड्ने, शैक्षिक कुरीतिका विरुद्ध सिर्जनशील आन्दोलन चलाउने, राजनीतिक सवालमा ठूलठूला आन्दोलनदेखि वैचारिक आन्दोलनमा महत्वपूर्ण सहयोग गर्ने आदि विद्यार्थी आन्दोलनले निर्वाह गरेको अति नै महत्वपूर्ण भूमिका रहेको छ । विगतदेखि नै उपभोक्ता अधिकारको लागि होस् या किसान मजदुर, सिमान्तकृत पीडित शोषित सबैको हक, अधिकारको माग र सुनिश्चितदेखि सीमा अतिक्रमणविरुद्ध सम्मका मुद्दामा जिम्वेवारीपूर्वक निरन्तर संघर्षशील रहँदै आएको छ ।

जनजीविकाका सवालमा पनि निरिन्तर बुलन्द आवाज उठाउँदै आएको विद्यार्थी आन्दोलन महँगी, भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरोधमा पटक-पटक आन्दोलन गरेको छ । यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट विद्यार्थी आन्दोलनकै उपलब्धि हो ।
जागरण, दवाव र प्रतिपक्षीय आन्दोलनको पर्याय विद्यार्थी संगठन राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमीसहित गठन भएको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथिको प्रतिबन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा नेपाली विद्यार्थी आन्दोलनको सुरुवात भएको हो । ‘जयतु संस्कृतम्’ नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण कडी हो । यही आन्दोलनको नाममा २००४ साल असार १ गते काठमाडौंमा रहेको तीन धारा संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलोपटक आन्दोलनको बिगुल फुकेका थिए ।

विद्यार्थीहरूले त्यो बेलामा राणा शासनको चर्को विरोध गरेका थिए । त्यस समयमा विद्यालयमा विद्यार्थीहरूलाई संस्कृतमा कर्मकाण्डमात्र अध्यापन गराउने गरिन्थ्यो । यस प्रकारको शैक्षिक व्यवस्थाको विरोध गर्दै विद्यार्थीहरूले संस्कृतबाहेक इतिहास, भूगोलशास्त्र, अर्थशास्त्रलगायत विषय समावेश गर्नुपर्ने माग राखेर आन्दोलन चर्काए । यही क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रवासबाट राणा शासकहरूले ४३ जना विद्यार्थीहरूलाई निष्काशन गरियो । विद्यार्थीहरूले चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । यही आन्दोलनको पृष्ठभूमिमा आजका सबै विद्यार्थी संगठनहरूको गठन हुँदै आएको छ । यस आन्दोलनलाई नेपाली विद्यार्थी आन्दोलनको एउटा कोसेढुंगाका रूपमा समेत लिने गरिन्छ । यसै आन्दोलनको जगमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) को स्थापना २००६ साल असार १७ गते भूमिगत रूपमा भयो । २००७ सालमा भएको दिल्ली सम्झौता धोका हो भन्दै यस संगठनले व्यापक विरोध गरेको थियो । २०२२ सालमा यसै संगठनको संघर्ष र बलिदानको जगमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थापना भएको हो । आज पनि तमाम विद्यार्थीहरूका हकहित, अधिकार र विद्यार्थी आन्दोलनको प्रतिनिधित्व गर्न स्ववियु उत्तिकै आवश्यक छ ।

अहिले विद्यार्थी संगठनहरू राजनीतिक दलका गोटी बन्न पुगेको छ । माउपार्टी सत्तामा गएपछि विपक्षमा हुँदा जस्तो मुद्दा र आवाज उठाउँदैनन् । माउ पार्टी र पार्टी नेतासँग सम्बन्ध बिग्रिन्छ, डराएर विद्यार्थी नेताहरूले मुद्दा नै छोड्ने गरेका छन् । कतिपय विद्यार्थी नेताहरूलेनै निजी शिक्षण संस्थामा लगानीसमेत गरेका छन् । निजी शिक्षण संस्थालाई स्वीकृति दिलाउनेदेखि विद्यार्थी भर्नासमेतमा विद्यार्थी नेताहरूले दबाब दिने र कमिसन लिने गरेका छन् । विद्यार्थी संगठनहरू माउ पार्टीका कमी कमजोरीविरुद्ध बोल्नै सकेका छैनन् । जहिल्यै राजनीतिक दलको सहयोगीमात्रै बन्ने गरेका छन् । दलहरूलाई बलियो बनाउनमात्र सक्रिय हुने तर शैक्षिक रूपान्णतरण र सामाजिक आन्दोलनमा सक्रिय हुन नखोज्ने रोग देखापरेको छ । शिक्षामा साझा दृष्टिकोण निर्माण गर्न आफ्ना माउ पार्टीलाई दबाब दिन नसकेका विद्यार्थी संगठनहरूले न त शिक्षामा बढ्दै गएको व्यापारीकरण रोक्न र सार्वजनिक शिक्षा सुधारको प्रभावकारी अभियान चलाउन सकेका छन् ।

विद्यार्थी संगठनको काम भनेको आगजनी गर्ने, टायर बाल्ने, ध्वंस गर्ने, पढाइ बिगार्ने र व्यवस्थापनसँग बार्गेनिङ गर्ने हो भने स्ववियु भनेको भ्रष्टाचार गर्न सिक्ने थलो हो भन्ने सन्देश आमविद्यार्थीमा जान थालेको छ । यस्तो सन्देशबाहिर जानुमा दोषी स्वयं विद्यार्थी संगठनहरू र तिनका नेताहरू नै छन् । यस्तो अवस्था अन्त्यका लागि विद्यार्थी नेताहरूले आफ्नो प्राथमिकता छुट्याउन सक्नुपर्छ । पहिलो नेता रिझाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने कि दोस्रो विद्यार्थी आन्दोलनको नेतृत्व गरेर शैक्षिक विकृतिको अन्त्य गर्ने ? विद्यार्थी आन्दोलनको विगतको उचाइ घट्न नदिन र सही दिशा दिन विद्यार्थी संगठन तयार छन् भने दोस्रो प्राथमिकता रोज्नुको विकल्प छैन विद्यार्थी नेताहरूसँग ।

विद्यार्थी संगठनको काम भनेको आगजनी गर्ने, टायर बाल्ने, ध्वंस गर्ने, पढाइ बिगार्ने र व्यवस्थापनसँग बार्गेनिङ गर्ने हो भने स्ववियु भनेको भ्रष्टाचार गर्न सिक्ने थलो हो भन्ने सन्देश आमविद्यार्थीमा जान थालेको छ ।

शिक्षा क्षेत्रमा निजी क्षेत्रको प्रवेशसँगै यस क्षेत्रमा व्यापारीकरणले प्रवेश पायो । आज शिक्षा क्षेत्रमा व्यापारीकरण निकै हावी हुनका साथै सम्भवतः सबैभन्दा बढी नाफामूलक व्यवसायको क्षेत्र बन्न पुगेको छ । उता सार्वजनिक शिक्षण संस्था धराशयी हुँदै गएको छ तर विद्यार्थी आन्दोलनको मुद्दा बन्न सकेको छैन । यतिबेला देशमा शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको छ । शिक्षाले समाजमा विभिन्न तह र तप्काका मानिसबीच समानता कायम गर्न सहयोग गर्नुपर्नेमा उल्टै समाजमा असमानता बढाउने प्रमुख माध्यम बनेको छ । समान, व्यावहारिक र व्यावसायिक शिक्षाको खाँचो अति नै खट्किएको छ । गुणस्तरीय उच्च शिक्षामात्र होइन गुणस्तरीय विद्यालय शिक्षासमेत गरिब र सर्वसाधारण जनताका सन्ताहरूको लागि उनीहरूको पहुँच बाहिर रहेको छ/गइरहेको छ । सार्वजनिक शिक्षाको गुणस्तर स्खलित हुँदै गएको कारण सार्वजनिक शिक्षण संस्थाहरूमा विद्यार्थीको उपस्थिति पातलिएर विद्यार्थीविहीन बन्ने अवस्थामा पुगेको छ । उच्च शिक्षा लिन विद्यार्थीहरू बाहिरिने क्रममा बढोत्तरी भएको छ । तर विद्यार्थी आन्दोलन किंकर्तव्यविमूढ अवस्थामा पुगेको छ ।

२०६२/०६३ को जनआन्दोनले मुलुकको राजनीतिक व्यवस्था परिवर्तन ग¥यो । मुलुकले नयाँ संविधान पाएको छ । संविधानमै शिक्षा, स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । तर नागरिकले संविधानको व्यवस्था अनुसारको हक व्यवहारमा पाउन सकेका छैनन् । अबको विद्यार्थी आन्दोलन संविधान प्रदत्त नागरिकको मौलिक हक व्यवहारमै कार्यान्वयन गराएर आफ्नो औचित्य पुष्टि गर्न केन्द्रित हुनुपर्छ । बेलाबखतमा हुने स्ववियु निर्वाचलाई विद्यार्थी संगठन र राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको लडाइँको रूपमा लिने गरेका छन् । स्ववियु हत्याउन विद्यार्थी संगठनहरूले साम, दाम, दण्ड र भेद चारै नीतिको प्रयोग गर्ने गरेको देखिन्छ । विशुद्ध शैक्षिक मुद्दामा केन्द्रित र विद्यार्थी संगठनबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने स्ववियु निर्वाचन राजनीति दलबीचको निर्वाचनमा परिणत हुन थालेको छ । यिनै कारणले सार्वजनिक शिक्षण संस्थामा चरम राजनीतिकरण हुनाले साख गिर्दै गएको आवाजसमेत उठेको छ । त्यसै दलगत विद्यार्थी संगठनहरूको उपस्थितिमाथि नै प्रश्न उठ्न थालेको छ । तसर्थ विद्यार्थी आन्दोलनको विकास गर्ने कि विनाशको बाटोमा लाने ? विद्यार्थी नेताहरूले गम्भीरताका साथ सोचेर विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्न अत्यावश्यक छ ।

शिक्षा क्षेत्र र विद्यार्थीका समस्याहरू पूर्णरूपले समाधान नभएसम्म नेपाली विद्यार्थी आन्दोलनको औचित्य सकिँदैन तर समयानुसार विद्यार्थी आन्दोलनमा सुधार हुनुपर्ने आवश्यकता छ । स्वियुलाई केबल विद्यार्थी संगठनको अखडा बनाउनुको सट्टा विद्यार्थीहरूको साझा मञ्चको रूपमा उपयोग गर्न जारुरी छ । समय र आवश्यकता अनुसार स्ववियुको संगाठनिक संरचना पनि परिवर्तन गर्दै लानुपर्छ । विद्यार्थी आन्दोलन र स्ववियुबीच अन्योन्याश्रित सम्बन्ध छ । यी दुई सँगसँगै अगाडि बढ्दै प्राप्त उपलब्धिको सुनिश्चितता र आवश्यकता एवं राज्यको क्षमता अनुसार थप अधिकार खोज्नुपर्छ । त्यसका लागि कर्मकाण्डी होइन, बलियो र शैक्षिक मुद्दामा केन्द्रित स्ववियु आजको आवश्यकता हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ranjana K.c
Ranjana K.c
2023-03-15 8:47 am

ऊतकृष्ट बिचार सहितको लेख🙏🙏🙏🙏

रिलेटेड न्युज

छुटाउनुभयो कि ?