फुटबल प्रशिक्षकको तलब दक्षिण कोरियाले दिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको पारिश्रमिक दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण कोरिया फुटबल एसोसिएसनबीच आर्थिक सहायतामा सम्झौता भएसँगै उक्त पारिश्रमिक दक्षिण कोरियाले उपलब्ध गराउने भएको हो ।

एन्फाका महासचिव किरण राई र कोरिया एफएका महासचिव हान्जिन चुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । रुवान्डामा आयोजना भएको फिफा कंग्रेस दौरान सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गर्नुभएको छ । तीन हप्ताअघि एन्फाको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्य प्रशिक्षकका लागि १६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि एन्फाले इटालियन प्रशिक्षक एनिसलाई नियुक्त गरेको हो । ३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यसअघि बेलिजको राष्ट्रिय फुटबल टोली हेर्नुभएको थियो । पछिल्लो समय भिन्सेन्जोले इण्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेड सम्हाल्नुभएको थियो । युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले त्यसअघि भारतीय क्लब गोकुलम केरलालाई दुईपटक आई लिगको उपाधिसमेत दिलाउनुभएको थियो ।

भिन्सेन्जोको नेतृत्वमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?