उपाधिमा मनाङ र थ्रीस्टारको दाबी

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रिम्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौँ संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । शनिबार (आज) धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्रीस्टारका कप्तान विक्रम लामाले सेमिफाइनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितिले क्लबको प्रदर्शनमा कुनै असर नपार्ने बताउनुभयो । उहाँले आफूहरूसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वाभाविक दाबी रहने उल्लेख गर्नुभयो । फाइनल खेलमा आफ्नो भूमिकाबारे बोल्दै उहाँले भन्नुभयो, ‘फाइनलको रणनीतिअनुसार मेरो भुमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’

उहाँले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताउनुभयो । तर, फाइनल खेलका लागि टिम मानसिकरूपमा तयार रहेको उहाँको भनाइ थियो । ‘एन्फाले खेलतालिकालाई व्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मिहिनेतले फुटबलमा राम्रो योगदान गर्ने थियो,’ उहाँले भन्नुभयो, ‘तेस्रोपटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलोपटक उपाधि जित्न चाहन्छौँ । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताउनुभयो । टिमको अवस्थाबारे जानकारी दिदै उहाँले भन्नुभयो, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडुले शनिबार खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनीहरूको प्रदर्शनले टिमलाई धेरै सहज भएको छ ।’ गुरुङले थप्नुभयो, ‘मनाङजस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महसुस गरेको छु । तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोली सहभागी थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?