विशाल चितवनका मार्की खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको मार्की खेलाडीका रूपमा अनुबन्ध हुनुभएको छ । गेम वान प्रालीअन्तर्गत रहेको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशालबीच आबद्धता पत्रमा हस्ताक्षर भएको क्लबले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट सुरु हुँदैछ ।
विशालले पहिलो संस्करणमा बुटवल लुम्बिनी एफसीबाट खेल्नुभएको थियो । चितवनले पहिलो संस्करणको एनएसएलमा भरत खवासलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । राष्ट्रिय टोलीबाट कम मौका पाउनुभएका विशाल घरेलु फुटबलमा भने सफल गोलकिपरमा पर्नुहुन्छ ।

एक दशकभन्दा बढी समय नेपाल राष्ट्रिय टोलीमा रहे पनि विशालले डेब्यु भने सन् २०२१ मा भारतविरुद्धको खेलमा गर्नुभएको थियो । उहाँ शहीद स्मारक ए डिभिजन लिग मच्छिन्द्रबाट खेल्ने गर्नुहुन्छ । मच्छिन्द्र दुईपटक च्याम्पियन बन्दा उहाँ टोलीको पहिलो रोजाइका गोलकिपर रहनुभएको थियो ।

चितवनले पहिलो संस्करणमा जितविहीन रहँदै एनएसएलको अन्त्य गरेको थियो । सात टोली सम्मिलित पहिलो संस्करणमा चितवनले ६ खेलमा २ बराबरीसहित २ अंकमात्र जोडेको थियो । चितवनसहित धनगढी र बुटवलले मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

धनगढीले आशिष चौधरी र बुटवलले एरिक विष्टलाई अनुबन्ध गरेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ । यसपटक ९ टोलीले एनएसएल खेल्दैछन् । विराटनगर एफसीले भने यसपटक नखेल्ने भएको छ । ३ टोली पहिलोपटक एनएसएल खेल्दैछन् ।

बुटवलले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । लुम्बिनीले एरिकसँग मार्की खेलाडीका रूपमा सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्रिय फुटबल टोलीमा उहाँले विभिन्न भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।

२३ वर्षीय युवा मिडफिल्डर एरिकले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा पहिलो सहभागितामा नै चर्च ब्वाइज युनाइटेडलाई च्याम्पियन बनाउन महत्वपूर्ण प्रदर्शन गर्नुभएको थियो । एरिकले मार्की खेलाडीका रूपमा अनुबन्ध भएपछि निकै उत्साहित भएको बताउनुभएको छ । पहिलो संस्करणमा लुम्बिनी प्लेअफबाट बाहिरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?