‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गर्नुभएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले वाग्ले र खरेलजस्ता विज्ञहरुले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गर्नुभयो । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आउनुभएको सिंगो देशका लागि उज्यालोको संकेत भएको उहाँको भनाई थियो ।

सभापति लामिछानेले भन्नुभयो, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन । त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं । अन्त्यमा पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत र साथ दिनुभयो । म दुवै जना साथीहरुलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु । तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईहरु दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ । यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ । यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईहरुले एउटा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनु भएको छ । यस अर्थमा तपाईहरुले यो मुलुकलाई, यो ठाउँलाई र तपाईहरुले सिंगो समाजलाई रर सिंगो देशलाई आशाको जुन किरण झल्काई दिनु भएको छ । यो गुण तपाईले लगाउनु भएको छ । मलाई विश्वास छ । आउँदै गरेको पुस्ताले तपाईले लगाउनु भएको यो गुणलाई सम्झने छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं । जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन् । र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ । जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ । म त्यो दिनको सपना देखिरहेको छु । यो सपना मैले सुतेर, निदाएर देखेको सपना होइन ।’

सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताउनु भयो । साथै सभापति लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?