विभागीय डर्बीमा एपिएफको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विभागीय डर्बीमा एपिएफ क्लबले जित हात पारेको छ । च्यासल मैदानमा सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई दुई-शून्यले हराउँदै एपिएफले तेस्रो जित निकालेको हो । लिगको छैटौँ चरणअन्तर्गत सुरु भएको खेलमा एपिएफको जितमा हरि कार्की र सविन गुरुङले एक-एक गोल गर्नुभयो ।

खेलको ५७औँ मिनेटमा हरिले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा सविनले गोल गर्दै एपिएफलाई दुई-शून्यको जित दिलाउनुभयो ।

जितसँगै एपिएफले ६ खेलमा १० अंक जोडेको छ । एपिएफ पाँचौँ स्थानमा उक्लिएको छ । पुछारको पुलिसको यो पाँचौँ हार हो । पुलिसले ६ खेलमा एक अंक जोडेको छ ।

अर्को खेलमा संकटा क्लबले एफसी खुमलटारमाथि एक-शून्यको कठिन जित निकाल्यो । यस जितसँगै संकटाले ६ खेलमा नौ अंक जोड्दा पराजय बेहोरेको खुमलटारको समान खेलबाट ६ अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २७औँ मिनेटमा जुनियर ओन्गुनेले निर्णायक गोल गर्नुभयो ।

त्यसअघि दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । चौथो मिनेटमा स्टेफन विनोङको फ्रिकिक प्रहारलाई संकटाका गोलकिपर विष्णुकुमार केसीले बचाउनुभयो । १४औँ मिनेटमा खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरियो । १५औँ मिनेटमा संकटाका नेल्सनको प्रहार क्रसबार माथिबाट बाहिरियो । अब संकटाले चैत २६ गते मच्छिन्द्र फुटबल क्लब तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लबको सामना गर्नेछन् ।

चेन्चो मच्छिन्द्रमा
साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुबन्ध गरेको छ । मच्छिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै आधिकारिकरूपमा चेन्चोलाई जारी सिजनका लागि अनुबन्ध गरिएको जनाएको हो । मच्छिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । चेन्चो लिगको छैटौँ चरणदेखि मच्छिन्द्रको जर्सीमा देखिनुहुनेछ । मच्छिन्द्रले बुधबार हिमालयन शेर्पा क्लबको सामना गर्दैछ ।

सुरुवाती दुई खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय भोगेको मच्छिन्द्रले त्यसपछि जम्मा एक खेलमा जित हात पार्दै पाँच खेल खेल्दा पाँच अंक नै बटुलेको छ । मच्छिन्द्र हाल ११औँ स्थानमा छ ।

भर्खरै सम्पन्न आई-लिगमा राउण्ड ग्लास पञ्जाब एफसी च्याम्पियन बन्दा चेन्चोले १२ खेलमा तीन गोल र पाँच असिस्ट गर्नुभएको थियो । उहाँले सन २०१८ मा बेंगलुरु फुटबल क्लबसँग आबद्ध भएर इण्डियन सुपर लिग पनि जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?