संसारको कुनै पनि शासनपद्धति आफैँमा नराम्रो हुँदैन । शासन सञ्चालन गर्ने पद्धतिले कहिलेकाहीँ शासकीय स्वरूप र मान्यतालाई खाडलमा लैजाने गर्दछ । शासकीय पद्धतिको आफ्नो पहिचानका कारण देशले जहिले पनि गतिशीलता पाएको हुन्छ । शासकको विचार, उसले प्रतिनिधित्व गर्ने राजनीति दर्शनको आधार, उसले नियुक्त गरेका मन्त्रीको व्यवहारका कारण शासकीय पद्यतिमा नयाँपन आएको हुन्छ । त्यसैले शासक आफैँमा सबै होइन । उसले प्रवाह गरेका काम र उसले नियुक्त गरेका मन्त्रीका आधारमा प्रधान सेवकका गुणहरू र राज्यको शासकीय पद्यति गतिशील बनेको हुन्छ ।
नेपाल पहिले राजतन्त्रात्मक मुलुक थियो । राजतन्त्रमा एकाधिकार रहेको यो देश उत्तराधिकारीका रूपमा चलेको शासकीय पद्यति पनि हो । तर, आज हामी गणतन्त्रात्मक मुलुकको शासकीय पद्यतिमा चलेका छौं । गणतन्त्रमा उत्तराधिकारी भएको अवस्था राजनीतिमा पनि हुँदैन ।
विश्वका शक्तिशाली देशहरूका कतिपय शासक आफैँ प्रशंसाका पात्र बनेका होइनन् । उनीहरूले गरेका काम र उनीहरूको व्यवहारका कारण प्रशंसा पाएका हुन् । शासनमा बस्ने शासक र उसले शासन गरेका जनताले पाएको सुविधा तथा अधिकारका कारण शासक र देशको नामलाई आदरसाथ लिने गरिन्छ । शासनमा बसेर भ्रष्टाचारलाई प्राथमिकता दिइयो भने शासक र उसले गर्ने सबै कामले उसलाई सम्झन नसक्ने अवस्थामा राखेका हुन्छन् । त्यसैले देशको विकास र उन्नतिमा शासक होइन शासकले चलाएको शासकीय पद्धति र त्यस देशका जनताले पाएको अधिकारलाई पहिलो प्राथमिकतामा राखिएको हुन्छ ।
उत्तराधिकार
शासनमा उत्तराधिकार पनि रहेको हुन्छ । राजकीय परम्परामा राजाको पुत्र नै उत्तराधिकारी हुने व्यवस्था गरिएको हुन्छ । तर, राजतन्त्र नभएका देशमा उत्तराधिकारको व्यवस्था हुँदैन । तर परम्पराका नाममा बाबुले पत्नी वा छोरालाई उत्तराधिकारीका रूपमा स्थापित पनि गर्न सक्दछ । त्यसकिसिमका उत्तराधिकारीलाई शासनमा बस्ने मन्त्रीहरूले सम्मानपूर्ण व्यवहार उसका क्रियाकलापका आधारमा गर्नुपर्ने देखिन आउँछ । शासनमा उत्तराधिकार परिवारजस्तो हुँदैन । कतिपय शासक आफूमात्र शासक बने । उनीहरूले आफ्ना सन्ततिलाई राजनीतिमा उत्तराधिकारी बनाउन चाहेनन् । उनीहरूको गमनसँगै राजनीतिको उत्तराधिकार पनि समाप्त भएको पाईन्छ । शुक्राचार्य उत्तराधिकारका बारेमा भन्छन् :
विष्ण्वाद्यैरपि नो दत्ता स्वपुत्रे स्वाधिकारता
स्वायुषः स्वल्पशेषे तु सत्पुत्रे स्वाम्यमादिशेत् ।।
नाराजकं क्षणमपि राष्ट्रँ धर्तुं क्षमाः किल
युवराजादयःस्वाम्यालोभचापलगौरवात् ।।
सद्गुणयुक्त छोरालाई पनि पूर्ण अधिकार दिनु अनर्थ वा घमण्डलाई जन्म दिने खालको हुन्छ । त्यसैले विष्णु आदिले कहिले पनि आफ्ना पुत्रलाई उत्तराधिकार दिएनन् । आयु उत्तरार्ध अवस्थामा पुगेपछि र पुत्र सत्पुत्रका रूपमा रहेको छ भने पूर्ण अधिकार दिनु आवश्यक मानिन्छ । अधिकारबाट प्राप्त हुने चञ्चलताले छोटो समयमा पनि अधिकारको दुरुपयोग हुन सक्ने आधारलाई जन्म दिएको हुन्छ ।
उत्तराधिकारबाट पाएको राजनीति कहिले पनि क्षणिक हुनुहुँदैन । उत्तराधिकारीले पिताको आदेश र निर्देशलाई गतिलो तरिकाले मान्नु आवश्यक मानिन्छ । उत्तराधिकार पाएर महाभारतमा दुर्योधनले आफ्नो अधिकारको दुरुपयोग गरे । त्यही अधिकार र पिताको आज्ञालाई रामायणका रामले सजिलो र व्यवस्थित तरिकाले निर्वाह गरे । उत्तराधिकार पाएपछि पनि उत्तराधिकारीले जहिले पनि आफूलाईर आफ्नो पिताको निर्देशलाई सही तरिकाबाट निर्वाह गर्नु उचित मानिन्छ ।
प्राप्योत्तमं पदं पुत्रः सुनीत्या पालयन् प्रजाः
पूर्वामात्येषु पितृवद् गौरवं सम्प्रधारयेत् ।।
छोराले उत्तराधिकार पाएपछि नीतिपूर्वक राज्यको पालना गर्नु अनिवार्य मानिएको छ । उसले जनता र मन्त्रीसित पिताको समान् व्यवहार गरोस् । यही नै सबल उत्तराधिकारीको मूल पहिचान हो । यही पहिचानमा राज्यको शासकीय व्यवस्था सञ्चालन हुनुपर्ने धारणालाई शुक्राचार्यले शुक्रनीतिमा राखेका छन् । शासकीय व्यवहार कहिले पनि उत्तराधिकारयुक्त हुनुहुँदैन । राजतन्त्रमा उत्तराधिकारी स्वयंं राजपुत्र हुने हुनाले राजतन्त्र कहिले सक्षम र कहिले असक्षम शासकीय पद्यतिमा चलेको देखिन्छ । कतिपय देश राजतन्त्र भएर पनि सबल शासकीय पद्यतिमा चलेका छन् भने कतिपय राज्य पूर्णरूपमा असफल पनि भएका छन् । यी तथ्य राजकीय परम्परामा देखिएका मूलभूत मान्यता पनि हुन् । केहीमुलुक राजतन्त्रमा पनि गतिलो र व्यवस्थित तरिकाले सञ्चालन भएका छन् । त्यसैले उत्तराधिकार र उत्तराधिकारी राजनीतिको मूल प्राप्ति होइन ।
नेपालमा उत्तराधिकार
नेपाल पहिले राजतन्त्रात्मक मुलुक थियो । राजतन्त्रमा एकाधिकार रहेको यो देश उत्तराधिकारीका रूपमा चलेको शासकीय पद्यति पनि हो । तर, आज हामी गणतन्त्रात्मक मुलुकको शासकीय पद्यतिमा चलेका छौँ । गणतन्त्रमा उत्तराधिकारी भएको अवस्था राजनीतिमा पनि हुँदैन । त्यसैले राजनीतिका बलबान् व्यक्तिहरूले पनि उत्तराधिकारीको व्यवस्था गरेको देखिँदैन । आज राजनीतिमा सक्रिय राजनीति गर्ने नेता र उनीहरूका छोराछोरी उत्तराधिकारीका रूपमा देखापरेका छैनन् । राजनीतिमा सक्रिय रहेका व्यक्तिहरूका सन्तान आज व्यापार, व्यवसायमा संलग्न रहेको देखिन्छ ।
केही राजनीतिक व्यक्तिहरूले आफ्ना छोराछोरीलाई राजनीतिमा नउतारेका पनि होइनन् तर राजनीतिमा सफलता असफलता उसको राजनीतिक विरासतबाट प्राप्त हुँदैन । राजनीति आफूले गर्ने हो । विरासतबाट पाइने राजनीतिले कहिले पनि सफलतालाई बाहिर ल्याउन सक्दैन । त्यसैले नेपाली राजनीतिमा उत्तराधिकारी कतिपय अवस्थामा असफल भएको पनि देखिन्छ ।
राजनीति पितामाताको विरासतबाट पाइने होइन । विरासतबाट पाइएको राजनीतिले देशको हित र देशको विकासलाई प्राथमिकताका आधारमा हेर्नसक्दैन । राजनीति विरासतीय व्यवस्था होइन । राजनीतिमा सफलता व्यक्तिले गरेका काम र उसको व्यवहारले नै स्थापित गरेको हुन्छ । राजनीति गर्ने व्यक्तिको व्यवहार र उसले देखाएको बाटोलाई नै उसका मतदाता र जनताले स्वीकार गर्ने र अस्वीकार गर्ने अवस्था सिर्जना हुने गर्दछ ।
जनता राजनीतिकर्मीका सहयोगी हुन् । उनीहरूलाई दास बनाउने मनोवृत्ति पलायो भने राजनीति संस्कारले सजिएको राजनीतिज्ञ त्यसलाई मान्न सकिँदैन । राजनीतिक विचारका माध्यमबाट जनतासामु पुग्नु राजनीति गर्ने व्पक्तिको मूल मान्यता हो । नेपालको राजनीतिले त्यही अवस्थालाई भोगिरहेको छ ।
राजनीति दर्शनबाट चल्ने मान्यता हो । दर्शनलाई राजनीतिको आधार मानिएको हुन्छ । त्यसैले राजनीतिलाई जहिले पनि दर्शनको भारीले बोकेको हुनुपर्दछ । दर्शनविनाको राजनीति र सिद्धान्तविनाको राजनीतिले कहिल्यै पनि देशको उन्नति र प्रगतिलाई गतिशील बनाउन सक्दैन । राजनीतिमा देखिने दर्शन र विचारलाई थाति राखेर गरिने राजनीतिले देशको भलो गर्दैन । आजकल नेपालको राजनीतिमा पनि यही अवस्था देखिएको छ । केही राजनीतिक दलका सिद्धान्त, दर्शन र विचार विद्यमान् छन् । ती विचारलाई अध्ययन गर्ने जनताको मतलाई जीवन्त बनाउने उद्देश्य नेपालको राजनीतिमा देखिँदैन । केही दल विचारबिहीन अवस्थामा नेपाली राजनीतिका वृत्तमा सक्रिय बनेर रहेका छन् । ती राजनीति दलसित विचार छैन । दर्शन छैन । विचारलाई बहन गर्ने कार्यकर्ता छैनन् । उनीहरूसित केही हदसम्मका मतदाता भने रहेका देखिन्छन् ।
चर्का भाषण गरेर जनताको मनलाई जित्न खोज्ने प्रवृत्तिले राजनीतिलाई कहिले पनि दिगो बनाउन सक्दैन । राजनीति कहिले पनि क्षणिक र अल्पकालीन हुनुहुँदैन । दीर्घ र लामो समयसम्म गरिने राजनीति नै जीवनको सार र अस्तित्व बनेर बाहिर आएको हुन्छ । भाषणले जनतालाई आफ्नो पक्षमा पार्ने राजनीतिक अवस्था अब नेपालजस्तो देशमा रहन सक्दैन । दिनप्रतिदिन राजनीतिमा देखिने अस्वस्थता र विकराल अवस्थाले नेपालको राजनीतिमा नयाँपन आउन सक्दैन ।
राजनीतिक विचारले जनतालाई जीवन्त बनाएर मानवीय भावनाको कदर गर्नु अनिवार्य मानिन्छ । राजनीतिलाई पेशा र पेशागत कर्म मान्ने प्रवृत्तिका कारण नेपालको राजनीति दिनदिनै दुषित बनिरहेको छ । यो नेपाली राजनीतिमा देखिएको सराहनीय पक्ष भने होइन ।
राजनीतिकर्मी जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यासित एकाकार हुनु अनिवार्य मानिन्छ । यदि त्यसो गर्न सकिएन भने राजनीतिले राजनीति गर्ने व्यक्तिलाई नै समाप्त पारेको हुन्छ ।
जनता राजनीतिकर्मीका सहयोगी हुन् । उनीहरूलाई दास बनाउने मनोवृत्ति पलायो भने राजनीति संस्कारले सजिएको राजनीतिज्ञ त्यसलाई मान्न सकिँदैन । राजनीतिक विचारका माध्यमबाट जनतासामु पुग्नु राजनीति गर्ने व्पक्तिको मूल मान्यता हो । नेपालको राजनीतिले त्यही अवस्थालाई भोगिरहेको छ । नेपालको राजनीतिमा विचारलाई कहिले पनि प्राथमिकतामा राखिएन । चुनावका समयमा मात्र जनतालाई सार्वभौमसत्ता स्वीकार गरियो । अन्य समयमा जनताका हरेक माग र भावनालाई राजनीतिक दल र नेताले उपेक्षा गरिरहे । यो अवस्था सिर्जना हुनुमा राजनीतिक दलको नै अहं भूमिका रहेका देखिन्छ ।
जनता र उनका हरेक क्रियाकलापलाई आधार मानेर गरिने राजनीतिले देशको विकासलाई आधारभूमि मान्दैन । काम गर्न सकिन्छ तर विचार स्वस्थ र स्वच्छ हुनु जरुरी छ भन्ने तथ्यलाई काठमाडौंका मेयर बालेनले बताएर देखाएका छन् । उनले केही कामहरूलाई बाहिर ल्याए जनताले देखिने गरी । उनको विरोध नभएको पनि होइन तर विरोधलाई उनले बेवास्ता गरिदिएका छन् । शुक्राचार्यले भनेजस्तो उत्तराधिकारवादी राजनीति नेपालमा नभए पनि उत्तराधिकारीलाई फलिफाप बनाउने राजनीति भने सदा रहेको देखियो । यो अवस्थाको राजनीतिलाई शुक्राचार्यले कहिले पनि स्वीकार गरेनन् । राजनीति स्वस्थ र स्वच्छका साथै देशको उन्नतिका लागि समर्पित हुनुपर्दछ भन्ने धारणा नै उनको रहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच