हिमसन्तानहरूको दुःखको गाथा सल्लीपिर उपन्यास-३

Read Time = 14 mins
A A- A+

✍️ डा. नारायण चालिसे
यो उपन्यास पेमा, दावा र फुर्वाको कथा त हुँदै हो साथसाथै धेरै हिमपुत्रहरूको साझा कथा पनि हो । उपन्यासको यो मूल कथामा धेरै सहकथा र उपकथाहरू पनि जोडिएका छन् । ती कथा र व्यथाहरू पनि यो उपन्यासका प्राण नै हुन् । पेमाको बाल्यकालको साथी कर्मा अनि पेमा र कर्माको बालप्रेम, उनका अबोध, कञ्चन मन र ती मनहरूमा एक अर्कालाई सजाएर राखेको चित्र कम्ता मनमोहक र मार्मिक छैन । पेमा र कर्माको बाटो छुटिएको दिन नै मन भरिएर आउँछ एक प्रकारको रित्तोपनले घेर्न थाल्छ । पेमाकी आमा ग्याल्मोले छिरिङले छोडेपछि अमेरिकी नागरिक पिटरलाई समाती ।

पिटरले छोरी पेमालाई छोड्ने आग्रह गर्दा सजिलै हुन्छ भनिदिई, फेरि मन एक तमासको भएर आयो । त्यो बिचरी बच्ची पेमा बाबु र आमा दुवैले छोडेपछि कसरी बस्ली भन्ने चिन्ता थपियो । एक मन त ग्याल्मोको कठोर मन सम्झेर रिस पनि उठेको हो । आमाहरू पनि यस्तै हुन् आफ्नो निजी स्वार्थ र सुखभन्दा महत्वका वस्तु छोराछोरी हुँदै होइनन् त्यसैले आमाहरूले पनि त्यति धेरै मातृत्वको अहं नगरे हुन्छ भन्ने जस्तो पनि लाग्यो तर तुरुन्तै अर्को मनले भन्यो ग्याल्मोको पनि त जीवन छ । छोरीको स्नेहमा उसले सबै जीवन कुण्ठामा बाँच्न पनि त गाह्रो छ ।

उसलेमात्रै कर्तव्य सोचेर पनि त पुग्दैन । नखाएको विषले ऊ पनि डसिनु हुन्न, आफ्नो जीवन बाँच्न पाउनै पर्छ भन्ने लाग्यो । पेमा त जङ्गलकी बिरुवा हो कुनै न कुनै सुरत उसलाई हुर्काउने जिम्मा विधाताले पनि त लिएकै होला । जन्माउनेले त्यसको व्यवस्था पनि गरिदिनै पर्छ भनेर चित्त बुझाउन मन लाग्यो । पेमालाई नासोको रूपमा लिए पेमाका मावालीका हजुरबाबु/हजुरआमाले
भर्तृहरिले भनेका छन् बरू प्राण दिन सजिलो छ नासोको सुरक्षा गर्न त्यति गाह्रो हुन्छ । पेमा नामको नासो दावालाई नबुझाउन्जेल उनीहरूलाई पनि त्यस्तै गाह्रो भयो होला । पेमा दावाको पछि-पछि उसको घरजान लागेको दृश्यको वर्णनले शिव शर्माको पछि लागेकी गोमालाई सम्झायो । हुन त शिवजीको पछि लागेकी पार्वती जस्तै उनीहरू आफ्नो कैलाशमा पुगेका थिए । तर आजको कैलाशमा पेमा र दावाको जीवन त्यति सजिलो थिएन ।

तैपनि प्रेममा सबै कुरा सम्भव भयो । हिमाली लेकमा चौंरी गोठाला बनेर उवा र फापरको खेती गरेर पनि उनीहरूले प्रेमका निष्ठालाई जीवन्त बनाएर राखे । दावाको गाउँ, उसका साथीहरू नाङ्सेरे, दोर्जे, काजी, ग्याल्जेन, डोल्माहरूसँग जोडिएका दुःख र करुणाका कथाहरू उत्तिकै मार्मिक र हृदय विदारक छन् । गरिबीको चोट सहेर अनगिन्ती सपनाहरू मनमा सजाएर बाँचेका यी सबै शेर्पा शेर्पिनीहरूका कथाहरू पढ्दा त्यतिकै मन भक्कानिन्छ । यी सबैको जीवन अभावै अभावमा बितेको छ । उनीहरूले जानेको, पिता पुर्खाले गर्दै आएको काम कि त चौंरीको गोठालो बन्नु हो कि त टुरिस्टहरूको भरिया बन्नु हो ।

उनीहरू त्यसभन्दा पर गएर जीवनलाई व्यवस्थित गर्नेतर्फ पाइला चाल्नै सक्दैनथे । किनकि न उनीहरूसँग शिक्षा/ज्ञान छ, न उनीहरूसँग रुपैयाँ पैसा छ । आफू जसरी बाँच्यो त्यसरी नै आफ्ना सन्तानलाई राख्न मन त छैन उनीहरूलाई तर उनीहरूसँग अर्को कुनै विकल्प नै छैन । यसरी जीवन जस्तै बनेर जीवनका बाध्यताहरू पनि उनीहरूका अङ्ग भएर आएका छन् । त्यसैले त्यसभन्दा पर उनीहरूले सोच्नै सक्दैनन् ।
उपन्यासमा नेपालको पछिल्लो राजनीतिक गतिविधिको पनि झलक पाइन्छ । माओवादी सशस्त्र युद्धले सर्वसाधारणमा अपारदर्शी किसिमले पार्ने गरेको प्रभाव, राजनीति गर्ने व्यक्तिका स्वार्थपूर्ण सम्बन्धहरू र देशको शासन सत्ता केवल शासकहरूलाई मात्र हो जनताको निम्ति कागलाई बेलसरह हो भन्ने सन्देश पनि व्यक्त भएको छ । जनताले पाउने सास्ती, जनताको गरिबी, पछौटेपन, अशिक्षा, असुरक्षा आदिका विषयमा देश र सरकारलाई कुनै वास्ता नभएकोप्रति उपन्यासकारको सांकेतिक असहमति पनि उपन्यासमा अभिव्यक्त भएको छ ।

यस उपन्यासको ज्यादै सशक्त यसको शैली पक्ष हो । साथसाथै ठाउँ ठाउँमा परिकल्पना गरी भनिएका छोटा कथाहरू जसले सांकेतिक रूपमा धेरै सारगर्भित कुरा भनिरहेका हुन्छन्, ती ज्यादै सशक्त छन् । सुरुमा त्यो परिकल्पना पेमा र कर्माले प्रारम्भ गरेका थिए । विशेषतः पेमाले आफ्नो जन्मका विषयमा कल्पना गरेर भनेको कथाबाट यस्ता कथाहरू प्रारम्भ भएका हुन् पछि त्यसैगरी पाका मानिसहरूको निम्ति पनि अन्धविश्वास र रुढीलाई जनाउन त्यसप्रकारका कथाहरू भनिएका छन् भने पेमाले अनि छिमिले फुर्वालाई पनि त्यस्ता कथा भनेका छन् । यस्ता कथाहरू उता फिर्फिरे उपन्यासमा जुठी आमैले वसन्त र पवनलाई भनेको सम्झना ताजा भएर आयो । यी कथाहरू फिर्पिmरेकै शैलीका भएर पनि मौलिक छन् ।

यो उपन्यासमा उज्यालोको खोजी गरिएको छ । सदियौंदेखि अज्ञानको निस्पट्ट अँध्यारोमा बाँच्न विवश रहेका खुम्बु क्षेत्रका शेर्पाहरू यति सारो पछि पर्नुको मुख्य कारण अशिक्षा र गरिबी हो । भौगोलिक विकटता, साधन स्रोतको अभाव र इच्छा शक्तिको कमीले गर्दा यहाँका आदिवासी शेर्पाहरू आफ्नो पुरानै परम्परा र अवस्थाबाट माथि उठ्ने प्रयत्न गर्न सकेका छैनन् । नियतिलाई शिरोधार्य गर्दै आएका यी जातिमा पछिल्लो समयमा केही परिवर्तनको इच्छा भए पनि त्यसलाई चरितार्थ गर्नेतर्पm न त यिनीहरू लागि परेका छन् न त यो क्षेत्रलाई व्यवस्थित गर्न केन्द्रीय तहबाट नै कुनै पहल भएको छ ।

बौद्ध लामा गुरुहरू, रिङ्पोछेहरूलाई देवता सरहका मान्ने शेर्पाहरूले आफ्ना सन्ततिलाई लामा गुरु बनाउन त चाहन्छन् तर एकातिर सामथ्र्यको कमी छ भने अर्कोतिर त्यो प्रकारको वातावरण बन्न सकेको छैन । जसले गर्दा उनीहरू किम्बदन्तीमा, अन्धविश्वासमा र अन्ध आस्थामा जे जति चित्त बुझाउन सकिन्छ त्यही गरेर बस्नु शेर्पाहरूको नियति बनेको छ । बाहिरबाट हेर्दा विश्वको दृष्टि परेको खुम्बु क्षेत्र वास्तवमा भने दृष्टिविहीनको बस्ती जस्तो बनेको छ ।

छिरिङले के कसरी हो आफूले किताब पढ्न जानेको थियो । किताबले उज्यालो दिन्छ आँखा दिन्छ भन्ने उसलाई थाहा थियो र उसले अरू सबैलाई पनि र आफ्नी छोरी पेमालाई किताबको उज्यालो दिन चाहन्थ्यो तर परम्पराको अँध्यारोलाई आफैँले पनि चिर्न नसकेर पलायन भयो । पेमाको बालसखा कर्मा रिङ्पोछे भयो तर रिङ्पोछे वा लामा गुरु हुनेहरू पनि आफ्नैमात्र आत्मोन्नतिमा रमाउने किसिमका भए । समाजलाई पनि उठाउनुपर्छ भन्ने अभियान चलाउनतिर लागेनन् । एकोहोरो बुद्ध धर्मका भक्तिवादी समर्थक मात्र बन्न सके । पेमाले आपूmले किताब पढ्ने वातावरण पाइन तर ऊभित्र बीज रूपमा बसेको उज्यालो खोज्ने चेतना धेरैपछि मूर्त रूपमा आयो ।

उसले छोरालाई किताब पढाएर ठूलो मान्छे बनाउने सपनासम्म उमार्न सकी । उसले धेरै नबुझे पनि किताबले उज्यालो दिने हुनाले यो खुम्बुको अँध्यारोलाई चिर्न किताबको खेती गर्नुपर्छ भन्ने बुझेर त्यो अभियानमा लागेकीसम्म हो । तर, परिस्थितिको बलियो पञ्जामा जकडिएर उसले समयमै त्यो सपनाको थालनी गर्नै पाइन । उसले छोराको निम्ति किनेका बोराभरिका किताबहरू कसैलाई सत्ता पल्टाउने बम बनेर प्रकट भए, कसैलाई राज्यद्रोह र आतंक मच्चाउने साधन बने ।

यसरी विवेकहीन समाज र परिस्थितिले मानिसलाई सार सुहाउँदो बाँच्ने दिँदैन । अत्यन्त लज्जास्पद बनेर कठोर परिस्थिति अगाडि उभिएपछि विक्षिप्त जस्तै बनेकी पेमाले छोराको निम्ति बोकेका किताबहरू लिएर फर्किन सम्म त सकी तर टुङ्गोमा पुग्न पाइन । ऊ हिमालमा बिलाए पनि उसको फुर्बाले समयमै पुस्तकको उज्यालो देख्न नपाए पनि उसको खुम्बु सेछिनमा पुस्तकको उज्यालो पुगेको छ ।
पेमाले छोरालाई पठाएका किताब लिएर लामा सिङ भएको चौरी गाउँमा प्रवेश गरेको छ । अब छिट्टै नै आजका र भोलिका छिरिङ, दावा र पेमाहरूले आफ्ना फुर्वा र पेमाहरूलाई किताबको उज्यालो संसारमा प्रवेश गराउने छन् । पेमाले आफ्ना फुर्वालाई पठाएका किताबहरू गाउँभरि र खुम्बु क्षेत्रैभरि उज्यालो छर्ने माध्यम बन्ने छन् । खुम्बुले किताबको उज्यालोले संसार हेर्ने छ । सदियौंदेखिको अघोषित दासताबाट सेछिनले मुक्ति पाउने छ ।

पेमाको सपना उसको फुर्वामा चरितार्थ हुन नसके पनि यसको थालनी भएको संकेत गर्दै खुम्बुका देउताले पठाएको हिमाली हाँसको एउटा प्वाँख सल्लीपिरले छोपिएको मसिनो बाटोमा आएर थपक्क बसेको छ । ती सल्लीपिर जहाँ पेमा र कर्माका सपना पनि छोपिएका थिए । खुम्बुका सपनाहरूलाई छोपेर राखेका सल्लीपिरमा अब गति आउनेछ । अब सल्लीपिरले खुम्बुको अँध्यारोलाई छोप्ने छन् र आफूले लुकाएर राखेको खुम्बुको उज्यालो सल्लीपिरले फिर्ता गर्ने छ ।

अब सल्लीपिर सपना लुकाउने साधन नभएर उज्यालो फैलाउने र अँध्यारो लुकाउने साधन बन्नेछ । सल्लीपिर हिमक्षेत्रको मौलिक सौन्दर्य र विशेषता पनि हो । सल्लीपिरको सङ्कलनमा युगौं अँध्यारोमा बिताएका पेमा, कर्मा, दावा, छिरिङहरूले अब सल्लीपिर उघारेर सल्लीपिरले छोपेर राखेको उज्यालो खोज्न लाग्नेछन् र आवश्यक पर्‍यो भने अब सल्लीपिरले खुम्बुको अँध्यारोलाई ढाकेर राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?