दौडिनुपर्ने अवस्थामा सरकार तुना बाँध्नमै अल्मलिएकाे छ : गगन थापा

प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाउन आग्रह

फाइल तस्वीर

Read Time = 8 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गर्नुभएको छ ।

बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गर्नुभएको हो ।

उहाँले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताउनु भयो । सरकार खर्चमा मितव्ययी हुनुपर्ने उहाँको भनाई छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताउनु भयो । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेर, सम्माननीय राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानूनले सुविधा दिएको छ । तर म पाँच जना मात्रै राख्छु । म ३ जना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अफ्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अफ्ठ्यारोको बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यक बाहेकको खर्चलाई हामी कटौती गर्दैछौँ । मितव्ययी हुँदैछौँ । तर विकासको क्षेत्रमा गर्नुपर्ने, पुँजिगत खर्च गर्नुपर्ने हो त्यो खर्चमा भने हामी पहिलाको भन्दा पनि सुधार गर्छौं । हामी दिनरात एक ठाउँमा बसेर काम गर्छौ भन्ने ढंगबाट गयौँ भने बल्ल यसबाट थोरै भएपनि सुधार आउँछ ।’

उहाँले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उहाँले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताउनु भयो । त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उहाँले बताउनु भयो । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म त प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु उहाँले काँग्रेस, समाजवादी, माओवादी गठबन्धनमा रहेका दलमात्र होइन, प्रमुख प्रतिपक्ष दलसँग कम्तिमा अपm्ठ्यारोको बेलामा यसरी जाऔँ । यसरी गरौँ । किनकी स्थानीय सरकार त नेकपा(एमाले)को पनि छ नि त । कतिपय ठाउँमा प्रदेशमा हामीसँगै मिलेर काम गर्नुपर्ने छ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग त बसेर संवाद गर्नुपर्ने भएको बेलामा यो बेलामा जसले पार्टीहरुका बीचमा, सरकारका विभिन्न तहका बीचमा समन्वय, सहकार्य गर्ने बेलामा यतिखेर सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि, एकअर्काको परिपूरकको जस्तो सम्बन्ध हुनुपर्छ । सरकारले पनि राष्ट्र बैंकको नेतृत्वलाई त्यही हिसावले, राष्ट्रबैंकको नेतृत्वले पनि सरकारलाई को सरकारमा छ, कहाँबाट को आएको छ भन्ने आँखाले होइन यो बेलामा विश्वसनीय सम्बन्ध पनि हुनुपर्छ । पारदर्शी हुनुपर्छ । एकअर्काको दृष्टिकोणमा पनि समानता ल्याउनुप¥यो ।’

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अल्मल्लिएको भन्दै दौडिन शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी ५/६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न शुरु ग¥यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस समेत सम्मिलित भएको अझ एकप्रकारले भन्ने हो भने नेपाली काँग्रेसकै नेतृत्व रहेको सरकार भर्खर बनेको छ । केन्द्रमा पनि बन्यो । प्रदेशमा पनि ३/४ दिन भित्रमा नयाँ सरकारहरु बन्ने, बदलिने क्रम हुन्छ । कम्तिमा ८/१० दिन समय लाग्ला । अब यो सरकारसँग छुट छैन । हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस् । हिँडेर पुग्ने सुविधै छैन हामीसँग । हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्नसक्ने अवस्था छ । तर सरकार दौडिन शुरु नै गरेन । अझैपनि तुना बाँधेको जस्तो छ । कहिले तुना बाँधेर बस्छ । कहिले कुर्सी खोज्छ । अल्मल्लिएको जस्तो भयो । यसले दौडिन शुरु गर्नुप-यो । प्रधानमन्त्री भनेको क्याप्टेन हो । क्याप्टेनले सिंगो टिमलाई साथमा लिने । अब यतिखेर के हेर्ने हो भने अब बजेटको साइकललाई हेरौँ । जेठ १५ गते बजेट आउँछ । डेढ, दुई महिनाको समय छ । बजेट पछि पनि समय छ । सरकारले पाँच, ६ महिना सोच्ने हो । यो पाँच महिनाभित्र नेपालको सरकारले दगुर्न शुरु गरेर नागरिकहरुलाई सरकारले दगुर्न थाल्यो, गति पनि छ । लय पनि छ । संकल्प पनि छ । लक्ष्यमा पनि पुग्छ । काम शुरु ग¥यो भन्ने कुराको महशुस गराएर नागरिकहरुको मनमा जुन अविश्वास देखिएको छ, भरोसा दिनुप¥यो ।’

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?