नरपथगञ्ज र एनबिएससी फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा भारत विहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध पार्दै पाहुना टोली नरपथगञ्ज उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि नरपथगञ्जले शनिबार हुने फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबिएससीले बोस्टन झापा, मिल्स एकेडेमी र वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो । नरपथगञ्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगर १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सीमित भयो । जसमा विराटनगरका अरुण एरीले २९ रन बनाउनुभयो । अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोड्नुभयो ।

नरपथगञ्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिनुभयो । सक्षमत शर्मा र रवण कुमारले समान २-२ विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगञ्जले १९ ओभर २ बलमा १० विकेट गुमाई १९८ रन बनाएको थियो । नरपथगञ्जका अभिषेक पाण्डे र विजय भारतीले अर्धशतकीय इनिङ खेल्नुभयो । अभिषेकले २० बलमा ५९ रन बनाउनुभयो भने विजय भारतीले ५५ रनको योगदान दिनुभयो ।

विराटनगरका अरुण एरीले हृयाट्रिक गर्दै ४ विकेट लिनुभयो । भुलावन सनीले ३ विकेट लिँदा मञ्जिल श्रेष्ठले १ विकेट लिनुभयो । म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार घोषित हुनुभयो । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँछन् । उपविजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?