आर्मीमाथि थ्रीस्टारको जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार साविक विजेता मच्छिन्द्र फुटबल क्लव हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ । भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साविक विजेता मच्छिन्द्र फुटबल क्लव बिहीबार हिमालयन शेर्पा क्लवसँग १-१ को बराबरीमा रोकिएको हो । यस्तै अर्को खेलमा थ्री स्टार क्लवले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । एन्फा कम्प्लेक्समा भएको प्रतिष्पर्धामा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर अन्तिम चार मिनेटमा अग्रता कायम राख्न नसक्दा हिमालयनले बलियो मच्छिन्द्रसँग अंक बाँड्न बाध्य भएको हो ।

निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा अंक जोड्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले केही राम्रा अवसर बनाएपनि बललाई पोस्टको दिशा दिन असफल भएका थिए । अन्तिमतिर काउन्टरको प्रयास गरेको हिमालयनले निर्धारित खेल सकिन चार मिनेट बाँकी रहँदा सत्यम शर्माले पेनाल्टीबाट अग्रता दिलाउनुभएको थियो । निशान लिम्बूको प्रहार मच्छिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरमा सत्यमले सहजै गोलमा परिणत गर्दा हिमालयनले अग्रता पाएको थियो । पछि परेसँगै खेलमा फर्किने प्रयासमा रहेको मच्छिन्द्रले इन्जुरी समयमा गोल गर्दै हारको संकट टा¥यो । विमल घर्ती मगरले गोल गर्दै टोलीको हारलाई बचाउनुभएको हो । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोड्दा मच्छिन्द्रको पनि समान खेलमा ६ अंक नै छ ।

लिगअन्तर्गत बिहीवार नै भएको अर्को खेलमा थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मीमाथि १-० को रोमाञ्चक जित निकाल्यो । थ्री स्टारलाई स्पस्ट अंक दिलाउने क्रममा फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो ।

च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टारले १७ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टरको प्रयास गरेको अवस्थामा अजाईले कप्तान विक्रम लामाले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल हुनुभएको थियो । त्यसपछि आर्मी खेलमा फर्किनका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेन ।

यद्यपि दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । राष्ट्रिय टोलीमा अटाउनुभएका खेलाडी भएपनि आर्मीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन र अंक सुम्पिन बाध्य बन्यो । यससँगै थ्री स्टारले ६ खेलबाट लिग तालिकामा १० अंक जोडेको छ । उता पराजय भोगेको आर्मीको समान खेलबाट आठ अंक छ । सातौं चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मस्र्याङ्दी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लवको सामना गर्नेछन् ।

लिगमा शुक्रबार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र फ्रेण्ड्स क्लव तथा एन्फा मुख्यालयमा खुमलटार युथ क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?