भरत, निशान र प्रशान्त सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास रानामगरलाई पराजित गर्नुभयो ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनिष बिसी, कर्णाली प्रदेशका दर्शन घर्तीमगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

गणेशमानसिंह फाउण्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापामगरलाई पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो । यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाक ओभर पाउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।

महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुग्नुभयो । महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सञ्जिता चौधरी तथा एपीएफकी संगीता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभयो । महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा पुग्न सफल हुनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?