१६ औँ दरबारमार्ग सडक महोत्सव हुने

Read Time = 4 mins

काठमाडौं । नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम भन्ने नाराका साथ १६औँ दरबारमार्ग सडक महोत्सव हुने भएको छ । नयाँ वर्ष २०८० का अवसरमा वैशाख २ गते अर्थात् शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डेः १६औँ दरबारमार्ग सडक महोत्सव हुने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्न महोत्सव आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत महोत्सव सहयोगी हुने बताइएको छ । काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिसाथ महोत्सवको औपचारिक शुभारम्भ हुनेछ । महोत्सवमा चर्चित गायक-गायिका, कलाकार दिपक बज्राचार्य एण्ड रिदम ब्याण्ड, कुटुम्ब, पहेंलो बत्तीमुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्ट्स आदिको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा शारीरिकरूपमा भिन्न क्षमता भएका उद्यमीले उत्पादन गरेका हस्तकला र महिला उद्यमीसहित हस्तकला उद्यमीबाट उत्पादित वस्तु पनि प्रदर्शनीमा रहनेछन् भने विभिन्न नेपाली खानाका परिकार, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवका विशेष आकर्षण हुनेछन् । त्यसैगरी महोत्सवमा भिडियो गेम पारखीका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह-प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडिज आइसक्रिम र केएफसी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?