सिँचाइको अभावमा खेतीयोग्य जमिन बाझै

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीमा सिँचाइको अभावमा गाउँ नै विस्थापित बनेको छ । जिल्लाको मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडी गाउँका ५० परिवार सिँचाईको सुविधा नहुँदा विस्थापित बनेका हुन् । वर्षमा तीन खेती पाक्ने, उब्जनी पनि राम्रो हुने खेत अहिले झाणीमा परिणत भएको छ ।

१७ बर्षअघि आएको बाढीले सुर्नया नदीसंग जोडिएको सिँचाइ कुलो बगाएपछि मुद्रे स्याल्तडी गाउँ बन्जर बनेको छ । ‘घरहरु खण्डहर बनेका छन्, खेतभरी झारहरू उम्रीएका छन्’ विस्थापित लालमनी भट्टले भन्नुभयो ‘हाम्रा पीडा कस्ले सुन्ने ? कस्ले देख्ने ।’ २०६२ सालको बाढीले सिँचाई कुलो श्रमदानबाट निर्माण गर्न नसकिने गरी भत्काएपछि विस्थापित हुन परेको उहाँले बताउनुभयो । सो गाउँको १० हेक्टर जमिन बाझै रहेको छ।

विस्थापित भट्ट अहिले वडा नम्बर ६ मा बस्दै आउनु भएकाे छ । आकाशे पानीका भरमा खेतीपाती गर्दा उब्जनी हुन छाडेपछि ५० परिवार वडा नम्बर ६ मा बस्दै आएका छन् । पाँच परिवार मुद्रे स्याल्तडीमै बसिरहेका छन् । उब्जनी राम्रो हुने जमिन सिँचाइ सुविधा नहुँदा छोडेर गिट्टी कुटेर छोराछोरी हुर्काउनु परेको उहाँले दुखेसो पोख्नुभयो ।

त्यहाँका स्थानीयहरूले सिचाई कुलो निमार्णको माग गर्दै तत्कालीन गाविस, जिल्ला विकास समिति र संघीयतापछि तीनै तहका सरकारमा धाए । १४ बर्षपछि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ५० लाख विनियोजन ग¥यो तर सिँचाइ डिभिजन कार्यालय पाटनले समयमा सम्झौता नगरिदिँदा फ्रिज गएको स्थानीय जयान्नद भट्टले बताउनुभयो । सम्झौताका लागि पटक पटक आग्रह गर्दा समेत कहिले इन्जिनियर छैन, कहिले म बाहिर छु, टाइम छँदैछ भन्दै २०७६ जेठ सम्म अल्मल्याएर बजेट फ्रिज गएको भट्टको भनाइ छ । आएको बजेट सम्झौताका लागि उपभोक्ता समिति समेत गठन गरेका यहाँका नागरिकहरूलाई तत्कालीन सिँचाइ डिभिजन कार्यालयका प्रमुख तेजप्रसाद दाहालले अलमलमा पारेर सम्झौता नगरी दिएको त्यहाँका स्थानीयहरूको आरोप रहेको छ ।

गाउँमा सिचाई सुविधा पु¥याउन प्रदेश र केन्द्र सरकारसँग समन्वय भैरहेको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले बताउनुभयो । ‘सिँचाइ अभावमा मुद्रे स्याल्तडीका ५० परिवार अन्तै बसाइ सरिसके खेतीहरु बाझै छन्, नगरपालिकाले सिँचाइको सुविधा पु¥याउनका लागि आवश्यक समन्वय गरीरहेका छौ’ चन्दले भन्नुभयो ।

मुद्रे स्याल्तडीको विषयमा याक नेपालले स्थानीय, प्रदेश र संघ सरकारसमक्ष विस्थापित नागरिकहरूलाई जोड्ने काम गरेको थियो । याक नेपाल संस्थाकै सहयोगमा स्याल्तडीका स्थानीयहरुले सिँचाइ डिभिजन कार्यालयमा आगामी आर्थिक वर्षमा बजेटको माग गर्दै ज्ञापनपत्र पेस गरेका छन् । सिँचाइ डिभिजन कार्यालय पाटनका प्रमुख सन्दिप ढंगोलले आगामी आर्थिक वर्षका लागि पहिलो प्राथमिकतामा राखेर बजेट माग गरिने जानकारी दिनुभयो । ज्ञापनपत्र सहित प्रदेश मन्त्रालयका सचिवलाई पठाएर आगामी आर्थिक वर्षमा प्राथमिकतामा राख्नेगरी काम गर्ने प्रमुख डंगोलले बताउनुभयो ।

(गाउँ नै विस्तापित बनेपछि खण्डहर बनेका मुद्रे स्याल्तडीका जिर्ण घर र झाणीमा परिणत भएको खेती ।

तस्वीरः डम्बर बोहरा । हिमालय टाइम्स : बैतडी)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?