फुट्ने र जुट्ने क्रममा कम्युनिष्ट पार्टीहरू

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालका कम्युनिष्ट पार्टीहरूको जुट र फुटको शृंखला निरन्तर चलिरहेकोे छ । स्थापनाकालदेखि चल्दै आएको यो परम्पराको निरन्तरतामा पुनः अर्को शृंखला थपिएको छ, वैद्य-बास्तोलाको एकताबाट । मानिसमा हुने इगोका कारण आफ्नै धारणा स्थापित गर्न खोज्नु स्वाभाविक हो । यही क्रमबाट पार्टीहरू फुट्ने गरेका छन् । सामान्य मानिसहरूले अनौपचारिक सन्दर्भमा समेत आफ्ना कुरामाथि पार्न खोज्छ, यहीबाट मानिसहरूबीच मनमुटाव हुनसक्छ भने पार्टीहरूमा यस्तो इगो त हुने नै भयो । आफ्ना भावना, धारणा र विचारले स्थान पाउन् भन्ने चाहना राख्नु अन्यथा होइन । यस्तो चाहना गरेर आफ्नै मान्यतालाई स्थापित गर्न पार्टी सदस्यहरूले पनि चाहन्छन् भने पार्टीका पदाधिकारीलगायत अध्यक्षमा त्यस्तो चाहना अवश्य हुन्छ नै ।

अझै भन्ने हो भने यस्ता पार्टीहरूका अध्यक्षहरूमा बढी निरंकुश प्रवृत्ति हावी हुन्छ । यस्तो विशेषता कम्युनिष्ट पार्टीहरूमा बढी हुनेगरेको छ । यस कारण पार्टीमा फुट हुनेगर्छ । यसको अर्को कारण पद र पैसा पनि बन्न आउँछ । पदका लागि लुछाचुँडी गरेर आफूले चाहेको पद नपाउनासाथ पार्टी फुटाएर अर्को खोल्ने, पार्टीबाट पलायन हुने वा अर्को दलमा मिसिन जाने प्रवृत्ति देखिँदै आएकै छौं । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको केही समयदेखि यस्तो फुट-जुटको परम्परा स्थापित बन्न पुग्यो । नेकपा अमात्य, नेकपा बर्मा, नेकपा मानन्धर, नेकपा माले, नेकपा माक्र्सवादीलगायत पार्टीहरू यसरी नै बनेका हुन् ।

लामो समयसम्म ती पार्टीका कार्यकार्यकारीका रूपमा रहे तर तिनले पार्टीले गर्ने कुनै काम गर्न सकेनन् । यीमध्ये नेकपा माले अरूभन्दा ठूलो थियो । राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, खड्गप्रसाद शर्मा ओली, माधव नेपाल, मदन भण्डारी, झलनाथ खनालहरू यही पार्टीबाट उदाएका नेता हुन् । प्रजातन्त्र आएपछि यस पार्टीको मनमोहन अधिकारीको नेकपा माक्र्सवादी पार्टीसँग एकता भएपछि नेकपा एमाले बन्यो । नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये यो अरूभन्दा ठूलो पार्टी हो तर यसमा पनि फुट र जुटको शृंखला निरन्तर चलिरहेको छ । माक्र्सवादीसँगको जुट, २०५४ सालमा वामदेवहरूको फुट र हालैको माधव नेपालहरू फुटेर गएका उदाहरण छँदैछन् ।

नरम र गरम भनिने कम्युनिष्ट पार्टीहरूमध्ये गरम वा कट्टर विचार राख्नेहरू जनमोर्चा, माओवादीलगायत अनेकौं नाममा अस्तित्वमा आए । अन्ततः नेकपा माओवादीले त नेपालमा एक दशकभन्दा लामो समयसम्म सशस्त्र विद्रोह नै गर्‍यो । तर, विद्रोहका समयमा जसरी उक्त पार्टीका नेताहरू एक भएका थिए, शान्ति प्रक्रियामा आएर सत्तामा पुग्न सुरु भएपछि फुटको पनि सुरुवात भयो । पद, प्रतिष्ठा र पैसा नै कारक बनेर आयो माओवादीमा पनि । भन्न त सिद्धान्त पालन गर्ने र सिद्धान्तच्युत हुनेहरूबीचको झगडा हो भन्ने गरिन्छ, यथार्थ त्यस्तो छैन । डा.बाबुराम भट्टराईले माओवादी छोड्नुमा अनेक कारण होलान् ।

यसैगरी प्रचण्डका पनि राजनीतिक गुरु मानिएका मोहन वैद्य किरणले माओवादी छोड्नु, नेत्रविक्रम चन्द विप्लव अर्को पार्टी खोल्नु, धर्मेन्द्र बास्तोलाहरू माओवादीबाट विमुख हुनु, रामबहादुर थापा बादललगायतका केही माओवादी हस्ती मानिनेले पार्टी छोडेर अन्य पार्टीमा लाग्नु, सिद्धान्तको कारणमात्र होइन, पद प्रतिष्ठा र पैसासमेत माओवादी पार्टीको कारण बनेको छ । हाल मोहन वैद्यको पार्टी र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको बहस छ । यसले एकताहरू कुनै ठाउँ नपाएकाका लागि एकता हो भन्न सकिन्छ ।

यसले दीर्घकालसम्ममा के गर्ला त्यो अहिले नै आकलन गर्न नसकिएला तर तत्कालका लागि नेपालको राजनीतिक वृत्तमा कुनै प्रभाव पार्न भने सक्दैन । ठूलो खोलामा मिसिएपछि सानो खोलाको अस्तित्व हराए झैँ ठूला पार्टीमा मिसिँदा आफ्नो पहिचान हराउने भयबाट साना–सानाहरू एक हुनेगरेका छन् तर यसले ठूला पार्टीलाई कुनै प्रभाव पर्ने देखिँदैन । अर्को कुरा राजनीति गर्नेहरूले देश र जनताका लागि काम गर्न सक्नुपर्छ तर त्यस्तो भावना फुटेर जानेहरूमा पाइएको छैन र मिल्न आउनेहरूमा पनि पाइएको छैन । स्वार्थका लागि यस्ता काम हुनुलाई हर्ष र विस्मात्को चाकाचुली वा लेखाजोखामा राख्न आवश्यक मानिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?