पुँजी बजार लगानीकर्ताका १० बुँदे माग

Read Time = 4 mins

काठमाडौं । सेयर लगानीकर्ताहरूले सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई १० बुँदे मागपत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्तरूपमा बोर्ड अध्यक्ष हमाललाई मागपत्र बुझाएका हुन् । निरन्तररूपमा घटिरहेको पुँजी बजारले आमलगानीकर्तामा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति संघहरूले ध्यानाकर्षण गराएका छन् । नेपालको पुँजी बजार इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम १५ खर्बको हाराहारीभन्दा बढी गुमाइसक्दा पनि सम्बन्धित निकायहरू मौन रहँदा ५५ लाखभन्दा बढी लगानीकर्ता मर्कामा परेको संघहरूको भनाइ छ ।

केही समयअघि नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको प्रमुख मागका रूपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा बोर्ड अध्यक्ष रमेशकुमार हमाल र लगानीकर्ताको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएकाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको काम यथाशीघ्र सुरु गर्न माग गरिएको छ ।

त्यस्तै, लगानीकर्ताको बढ्दो सेयर खरिदबिक्री लागत न्यूनीकरण गर्न हाल रहेको महँगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढीमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसनदर तत्काल पुनरवलोकन गर्न, डिपी चार्ज रकम २५ रुपैयाँबाट घटाएर बढीमा पाँच रुपैयाँ कायम गर्न, दीर्घकालीन लगानीकर्ता र अल्पकालीन लगानीकर्ताको वर्गीकरण गरी दीर्घकालका लागि तीन प्रतिशत र अल्पकालका लागि पाँच प्रतिशत पुँजीगत लाभकर कायम गर्न माग गरिएको छ ।

त्यस्तै, दोस्रो बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संस्थागत लगानीकर्तालाई छिटो बजार प्रवेशको वातावरण बनाउन, केवाइसी डिजिटल सुरु गरी भौतिक केवाइसी अन्त्य गर्न, ब्रोकर कम्पनीमार्फत् सुरु गर्ने भनिएको मार्जिन ल्याण्डिङ व्यवस्था अबिलम्ब सुचारु गर्न, नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सीमा १२ करोड नीतिलाई तत्काल खारेजीको पहल गर्न र राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औसतदर प्रतिशत नै कायम गर्न पहल गर्न माग गरिएको छ । इन्भेष्टर फोरम अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघ सुदूरपश्चिम संयोजक कुमार थपाले संयुक्तरूपमा मागपत्र बुझाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?