डा. इन्दुलको ‘शब्दसागरका मोती’ टिप्न पस्ता

हिमालय टाइम्स
Read Time = 9 mins

✍️ पदम दाहाल

समालोचक डा.इन्दुल केसीद्वारा समीक्षा संग्र्रहका रूपमा प्रकाशित ‘शब्दसागरका मोती’ नामक ९० पृष्ठमा लेखिएको कृतिको प्रकाशक अनुशीलन नेपाल रहेको छ । कृतिको सुरुमा उनकी धर्मपत्नी र छोरी दुईजनाको संयुक्त शुभेच्छा रहेको छ । उक्त कृतिउपर प्रा.डा.कृष्णप्रसाद दाहालद्वारा आफ्नो गहन समालोचकीय भूमिका लेखिएको छ । उनी लेख्छन्, ‘शब्दसागरका मोती स्वयंमा विषयगत विविधताको मौजीमसला हो ।’

अर्काे एक ठाउँमा डा.दाहाल भन्छन्, ‘मोतीराम भट्टले नेपाली साहित्यको इतिहासमा आफूलाई मात्रै नचिनाएर आफूभन्दा पूर्ववर्ती र समवर्ती साहित्यकारहरूलाई चिनाउने काम गरेजस्तै डा.इन्दुलले पनि अरूलाई चिनाएर साहित्यिक सन्तुष्टि लिने काम गरेका छन् । यो कृतिको मूल प्राप्ति भन्नु यही नै हो ।’ यसो भनिरहँदा के अवगत हुन्छ भने ८२ वर्षीय डा.इन्दुलले उक्त पुस्तकभित्र २२ जना लेखकका विविध विधा र विषय क्षेत्रका कृतिउपर संक्षिप्त रूपमा समीक्षात्मक विश्लेषण गर्न पुगेका छन् । २२ मोतीका दानालाई एउटै मालामा उनेका छन् ।
अनेकन विविधता र विशेषता बोकेको मालाको हार बनेको छ यो चिज । यसमा विधागत विविधतालगायत विभिन्न समावेशी पाइन्छ जसलाई यसरी प्रकाश पार्ने प्रयत्न गरिएको छ :

१) धर्म र दर्शनमा आधारित भई शब्दसागरको गहिराइमा पसी मोती बटुल्न गरिएको विश्लेषण हो यो ।

२) आध्यात्मिक जगतका होनहार लेखकका एक से एक ग्रन्थमाथि पसेर त्यसभित्रबाट मन्थन गरी निकालिएको नौनीको मिठास छ यसभित्र ।

३) ओतबहादुर खड्काको ‘वेद के भन्छ ?,’ ‘ईशावास्योपनिषद्’, टीकाराम अर्यालको ‘जीवन दर्शन’, शताब्दी पुरुष सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’ (नाटक)
देखि लिएर राहुल सांकृत्यायनको ‘दर्शन- दिग्दर्शन’ भित्रसमेत डुबुल्की मारेर निकालिएको अमृतपान हो यो ।

४) २२ मध्ये नौवटा कृति धर्म र दर्शनसँग सम्बद्ध हुनाले विश्लेषक इन्दुलजी अधिकाधिक रूपमा धर्म र दर्शनभित्र पौडिएर आध्यात्मिक रसास्वादन गर्न अभिरुचि राख्ने व्यक्ति हुन् भन्न अन्कनाइरहनु पर्दैन । अरूलाई धर्म र दर्शनको स्वाद चखाउने चाहना छ उनमा ।

५) साहित्य क्षेत्रका आख्यान विधाअन्तर्गत चल्दाबल्दा अहिलेका उपन्यासकार प्रजापति तिमिल्सिनाको ‘कालो पहाड’देखि लिएर यौनफ्रायडेली कथाकार परशु प्रधान र नेपाल भाषाका कथाकारहरू पशुपतिमान पःमा र तेजकृष्ण ताम्राकार जस्ताका कथा विधामाथि विश्लेषण गर्न सहजै भ्याएका छन् उनले ।

इन्दुलको यो पुस्तक ‘शब्द सागरका मोती’ विविधताको कसीमा गुजुल्टिएको एक समीक्षात्मक सँगालो हो । जीवनको यस उत्तराद्र्धमा उनी जसरी कस्सिएर साहित्य साधनामा र समालोचनात्मक रचना जन्माउनमा लागेका छन्, त्यसमाथि पटक्कै मन्दी नआइदेओस्, जाँगर र खटाइ उत्तिकै अघि बढिरहोस् ।

६) कविता विधामाथि विवेचना गर्ने क्रममा मुक्तककार विष्णु ओलीजीको ‘मेरी परी’ भित्रका मुक्तकदेखि लिएर कवि पदम दाहालका छन्द कविताहरूको सँगालो ‘आँसुको दह’ भित्रका आठवटा बेग्लाबेग्लै छन्दका कविताभित्र डुबेर दृष्टिपात गर्न भ्याएको देखिन्छ ।

७) निबन्ध विधाअन्तर्गत् वासुदेव ढकालको ‘उत्तरी ध्रुव प्रदेशको यात्रा साथै लेखन्तेको जीवनयात्रा’ भित्र पसी नियात्रा वर्णनलाई पनि खोतलखातल पार्न कम्मर कसेका छन् भने चूडाप्रसाद चौलागाईंको ‘विषय र विवेचना’, निर्मला श्रेष्ठको ‘आफू अरूका लागि’, प्रकाशप्रसाद उपाध्यायको ‘छेउ न टुप्पो’सम्मका निबन्ध उपर गहिरिएर तिनको रसास्वादन गरी पाठक समक्ष प्रसाद बाँडचुँड गर्न पनि सफल छन् ।

८) सहलेखनको ‘संगीत मन्थनाञ्जलि’ को गुदी निकालेर संगीतको सीप चाख्न चाहनेहरूका लागि पनि विश्लेषणात्मक खुराक बाँड्न चाहेका छन् । उता साधुराम गिरीको ‘मान्छे, प्रकृति र भेगन’ बिरौंलासंग्रह अध्ययन गरी भेगनहारी हुनका लागि प्रोत्साहन गर्न उत्तिकै आतुर छन् ।

९) इतिहासकार जीवनाथ अधिकारीको ‘प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा’ पुस्तकभित्र पसी विश्वको ऐतिहासिक घटनाक्रम चखाउन पनि इन्दुलजी लालायित छन् ।

१०) नेपाल भाषामा लेखक प्रेमकृष्ण ताम्राकारद्वारा लिखित ‘मतिनाया सः’ को भने उनले नेपाली भाषामा विवेचना नगरी नेपाल भाषालाई नै पछ्याएका छन् । तर, नेपाल भाषा नबुझ्नेका लागि चाहिँ उक्त विश्लेषण थोतेलाई ठेट्ना मकैको खाजा हुन जाला कि भन्ने लागेको छ ।
२२ कृतिमाथिको अध्ययन विश्लेषणपश्चात् अन्त्यतिर पहिल्याउँदा रचनाकारकै ‘शब्दचित्रमा म’ भन्ने कविता, इन्दुलकै जीवनी, उनैको पछिल्लो रचना ‘सगुन भजन’ सहित लेखक र संगीतकार सत्यनारायण मानन्धरको फोटो पाइन्छ । भजनले मर्यादापुरुष रामचन्द्रका आदर्श पालना गरौं, अवतारी कृष्ण भगवानको गीताज्ञान आर्जन गरौं, महामानव बुद्धको शान्तिमार्गमा लागौं र समाजसेवामा संलग्न होऔं भन्ने सन्देशमूलक विचार प्रवाह गर्दछ ।

पुस्तकको अघिल्लो आवरणमा बाइस मोतीका गोटी उनिएर २२ जना सर्जक एउटै मालामा उनिएको प्रतीकात्मक चित्र झल्किन्छ । पछिल्लो आवरण पृष्ठमा समालोचकीय भूमिकाकार प्रा.डा.कृष्णप्रसाद दाहालको इन्दुलप्रतिको दृष्टिकोणसहित सन्तभेष र पहिरनमा रहेका समीक्षक इन्दुलको महात्मा झैँ लाग्ने शालीन तस्बिर उभिएको अवस्थामा छ । समग्रमा इन्दुलको यो पुस्तक ‘शब्द सागरका मोती’ विविधताको कसीमा गुजुल्टिएको एक समीक्षात्मक सँगालो हो । जीवनको यस उत्तराद्र्धमा उनी जसरी कस्सिएर साहित्य साधनामा र समालोचनात्मक रचना जन्माउनमा लागेका छन्, त्यसमाथि पटक्कै मन्दी नआइदेओस्, जाँगर र खटाइ उत्तिकै अघि बढिरहोस् । यस्ता २/४ कृति अझै ‘मित्र पदम दाहालज्यूमा सप्रेम उपहार ¤’ भनेर पाइरहन सकूँ, हार्दिक शुभकामना छ लेखकलाई ¤

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?