घरमै गएर नागरिकता प्रमाणपत्र वितरण

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका-४, झुटेडाकी विसु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ ।

सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।

यातायातको सहज पहुँच नहुनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उहाँको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।

नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि थापा खुशी हुनुभएको छ । थापाको पहिले बनाएको नागरिकता १ बर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता विचैमा रोकिएको छविसपाथिभेरा गाउँपालिका-४ का वडाअध्यक्ष अम्मराज थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्थ्याैं । अहिले बैङ्कले नमान्ने भएकाले नागरिकता हराएकाले भत्ता रोक्किएको थियो । अबबाट फेरि पाउनुहुने भयो ।’ नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?