पाल्पाका लघुवित्त ‘पीडित’ भन्छन्: ‘लघुवित्तले आत्महत्या गर्न बाध्य बनाउँदैछ’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका नायरचौपारीकी कमला रानाले नेस्डो लघुवित्तिय संस्थाबाट श्रीमानलाई विदेश पठाउन ३ लाख ऋण लिनुभयो । श्रीमान विदेश गएर कमाउला भन्ने आशामा उहाँले ऋण लिनुभएको थियो । तर परिस्थिती सोचे जस्तो भएन् । विदेश गएका श्रीमान लामो समय विरामी पर्नुभयो । यता कमलालाई लघुवित्तले पटक–पटक ऋण तिर्न ताकेता गर्दे आयो । घरमा भएका कुखुरा,बाख्रा बचेर जनेतेन किस्ता तिर्दे आउनुभएकी कमलालाई पछिल्लो समय आर्थिक संकटले नराम्रोसँग गाज्यो । किस्ता पनि तिर्न नसक्ने अवस्था भएपछि लघुवित्तका कर्मचारी दैनिक उहाँको घरमा आउन थाले । कर्मचारी घर आएर पैसा माग्ने मात्रै होईन्, धम्क्याउने र अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पीडित रानाले बताउनुभयो । ‘तैले पैसा नतिरे झुन्डिएर मर ऋण तिर्नु पर्देन् भन्दै कर्मचारीले घरमै आएर गाली गर्छन् रानाले गहभरी आशु खसाल्दै दुखेसो पोख्नुभयो ।’

घुवित्त संस्थाबाट पीडित हुनु भएकी तानसेन दमकडाकी मीनाकुमारी घर्तीको पीडा पनि उस्तै छ । उहाँले पसल सञ्चालन गर्नका लागि लघुवित्तबाट दुई लाख ऋण लिनुभएको थियो । कोभिडका कारण पसल चल्न सकेन् । समयमा किस्ता बुझाउन नसेकेपछि उहाँले ८० हजारमा किनेर ल्याएको भैँसी ५० हजारमा बेच्नु्प¥यो । अझ केही रकम बुझाउन बाकीँ छ तर रातिराति लघुवित्तका कर्मचारी घरमै आएर दबाब दिन थालेको उहाँको गुनासो छ । लघुवित्त संस्थाको ज्यादती विरुद्ध आन्दोलनमा आउनुभएकी तानसेन अर्चलेकी दुर्गाकला रेस्मीको पनि पिडा उस्तै छ । लघुवित्तबाट ऋण लिएर किराना पसल सुरु गरे लगत्तै कोरोना महामारी सुरुभयो, कोरोना महामारीका कारण व्यापार चौपट भयो । बल्ल बल्ल किस्ता तिर्दे आउनुभएकी रेस्मीलाई अहिले ठुलो चोट परेको छ । लघुवित्तको तनाव सहन नसकेर उहाँ अहिले डिपरेसनमा पुग्नुभएको छ ।

घर्ती, राना र रेस्मी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरूजस्तै लघुवित्तमा आबद्ध धेरैको व्यथा उस्तै छ । लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पाल्पासहित देशभर आन्दोलन भइरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले आफुहरुलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरु सडकमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् ।

चैत २१ गतेदेखि शान्तिपूर्ण धर्नामा बस्दै आएका पाल्पाका लघुवित्त पीडितहरु सोमबारदेखि भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सरकारले आफ्नो आवाज नसुनेको भन्दै चर्को नारासहित सडक प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेको लघुवित्त पीडित संघर्ष समिति पाल्पाले आफूहरूलाई बेवास्ता गरेको भन्दै प्रदर्शनमा उत्रिएको जनाएको छ । समितिकी अध्यक्ष कृष्ण माया आले मगरले महिलाहरुलाई उठिबास गराउँदै आत्महत्याको बाटोमा डो¥याउने लघु वित्तको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै देशव्यापी भइरहेको आन्दोलन अनुरुप नै पाल्पामा पनि सडकमा उत्रिएको बताउनुभयो । बिना धितो ऋण दिने प्रलोभन दिँदै सोझा साझा महिलाहरुलाई समूहमा राखेर थरिथरिका दर्जन बढी बचत खाता खोल्न लगाई भएभरको पैसा जम्मा गर्न लगाएर कंगाल बनाएको उहाँको आरोप छ । विभिन्न किसिमका बचत खोलेर पैसा राख्न लगाउँदै लघु वित्तहरू आफू मोटाउने तर, सदस्य महिलाहरुलाई उठिबास लगाएर अकालमा मर्न बाध्य बनाउने गरेकाले बाध्य भएर संघर्ष गर्नुपरेको उहाँले बताउनुभयो ।

विरोध ¥यालीमा सहभागीहरू अधिकांश महिला रहेका छन् । पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् । उनीहरुले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको समेत उनीहरुको गुनासो छ । लघुवित्तले शुरूमा घरघरमै आएर ऋण बाँडेको र पछि उठिबास लगाउने काम गरेकाले आत्महत्या रोज्नुपरेको बगनासकाली –३ नायरचौपारीकी पीडित लिनी रानाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो‘ दुई वर्ष अघि एउटा वित्तिय संस्थाबाट ऋण लिए, अहिले अचाक्ली व्याजदर वृद्धि गरे, त्यसमा पनि आर्थिक मन्दीका कारण समयमा बुझाउन सकिएको छैन्, तर अहिले दिनहुँ संस्थाहरुले टर्चर दिन थालेका छन्, जसले गर्दा म डिपरेसनमा गएर आत्महत्या गर्ने प्रयास गरेकी थिए तर अरुले रोके ।’ बिना धितो ऋण दिने नाममा दर्जनौँ बचतमा रकम जम्मा गर्ने लघु वित्तहरूले अहिले आफुहरु समस्यामा परेको तानसेन ५ अर्चलेबाट विरोध प्रदर्शनमा आउनुभएकी लेखकुमारी गाहा सोमैले बताउनुभयो । लघुवित्तहरूको अत्याचार अचाक्ली हुन थालेपछि आन्दोलनमा उत्रिनु परेको लघुवित्त पीडित वीरबहादुर विकले बताउनुभयो ।

तानसेनमा विभिन्न माग समेटिएको ब्यानर र प्लेकार्ड लिएर लघुवित्त पीडितहरु प्रदर्शनमा निस्किएका थिए । उनीहरुले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?