सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग सांसद कार्कीको माग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पार्नु भयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले अर्बाैको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देश भित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताउनु भयो ।

नेता कार्कीले भन्नु भयो, ‘यो विधेयक हरेक हिसावले मुलुकका लागि आवश्यक छ । सुरक्षण मुद्रणका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेश जाने गरेको छ । यतिमात्र होइन । स्वेदशमा सुरक्षण मुद्रण नहुँदाखेरी नक्कली मुद्रणको प्रयोग गरेर, ती स्टिकरहरु प्रयोग भएर राजस्व अपचलनमा पनि यसले एउटा गम्भिर समस्या सृजना गरेको छ । नेपालको सुरक्षण मुद्रण सुरु भयो भने देखि यसले एकातर्फ अर्बौ रुपैयाँको बचत मुलुकमा हुन पाउँछ । जसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिन्छ । अव म मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु–यो विधेयक पारित गर्दैगर्दाखेरी यदि यो विधेयक पारित गरेर मुद्रा सुरक्षण सम्बन्धि काम कारबाही नेपालमा गराउने हो भने यसलाई यथेष्ट बजेटको व्यवस्था गर्न जरुरी छ । यदि हामीले यथेष्ट बजेटको व्यवस्था गर्न सकेनौं भने यो विधेयक अगाडि बढाउनुको कुनै अर्थ छैन । विगतमा पनि यो विधेयकको महत्वलाई हेरेर सरकारले बजेट विनियोजन पनि गरेको थियो । र, फेरी त्यो बजेट सरकारले घटाएको पनि यर्थाथता छ । त्यसैले सरकार स्पष्ट भएर सुरक्षण मुद्रणलाई अगाडि बढाउने हो भनेदेखि केवल हामीले बैंकका भौचरहरु मात्रै होइन् बैंकका चेकबुकहरु मात्रै होइन । नेपालको पासपोर्ट र नेपालको मुद्रा पनि हामीले छाप्न सक्छौं । त्यो कुरालाई केन्द्रमा राखेर सरकार स्पष्ट भएर यो व्यवस्था गर्ने हो भनेदेखि यसका निमित्त अहिले बजेट सेसन पनि छ । र, अहिले आउने बजेटमा यसलाई अगाडि बढाउने स्पष्ट खाकासाथ अगाडि बढदाखेरी देशलाई आर्थिक हिसावले पनि र देशलाई सुरक्षा सम्बन्धि जुन प्रिन्टिङको आवश्यक्ता छ । त्यसको अभावबाट मुक्त गर्नका निम्ति पनि यो विधेयक जरुरी छ । यसमा पर्याप्त बजेट ल्याउने भने यो विधेयक अगाडि बढाए हुन्छ । होइन् यसमा पर्याप्त बजेट राख्न नसक्ने हो भने यो विधेयकलाई अगाडि बढाएर मुलुकलाई फाईदा छैन भन्ने कुरा म राख्न चाहन्छु ।’

नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?