रुबिनाको उत्कृष्ट ब्याटिङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा जारी फेयरब्रेक इन्भाइटेसनल टी-२० क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्नुभएको छ । बार्मी आर्मीबाट खेलिरहनुभएकी रुबिनाले बुधबार बिहान भएको खेलमा साफिरेस वुमनविरुद्ध खेल्दै ५ विकेट लिनुका साथै ३२ रन प्रहार गर्नुभएको हो । उहाँको सानदार प्रदर्शनमा बार्मी आर्मीले साफिरेसलाई ६१ रनले पराजित गरेको छ ।

प्रतियोगितामा यो बार्मी आर्मीको चौथो जित हो । बार्मीले दिएको १६९ रनको लक्ष्य पछ्याएको साफिरेस १५.५ ओभरमै १०७ रनमा रोकियो ।
नयाँ बल लिएर बलिङ गर्नुभएकी रुबिनाले ४ ओभरमा १ मेडन राख्दै ११ रनमात्र खर्चेर पाँच विकेट हात पार्नुभयो । उहाँले साफिरेसकी कप्तानी गर्नुभएकी पाकिस्तानकी भेट्रान खेलाडी साना मिरको समेत विकेट लिनुभयो । यस्तै, बार्मीका लागि रुचिता भेनकाटशले २ तथा तारा नोरिस र लाउरा कार्डासोले समान १ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्मी आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । बार्मीका लाउरा वलभर्टले सर्वाधिक ३९ रन बनाउनुभयो । उहाँले ३२ बल खेल्दै ९ चौका प्रहार गर्नुभयो । रुबिनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाउनुभयो ।

सेमाइन क्याम्पबेलले १७ बलमा ३० रन जोड्नुभयो । साफिरेसका जिभाना भरासले ४ विकेट लिनुभयो । रुबिनाले यसअघि वारियर्सविरुद्ध एक विकेट लिनुभएको थियो । उहाँले अहिलेसम्म तीन खेल खेल्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?