विश्वविद्यालयको लक्ष्य योग्य विद्यार्थी उत्पादन गर्नु हो । मुलुकका लागि आवश्यक एवं उपयोगी दक्ष जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको उद्देश्य हो । अध्ययन अनुसन्धानका माध्यमद्वारा भएका ज्ञानको संरक्षण सम्बद्र्धन गर्दै नयाँ ज्ञानको खोजी विश्वविद्यालयहरूले गर्नुपर्दछ । विश्वविद्यालयले आफैंलाई ज्ञान विज्ञानको केन्द्रका रूपमा विकसित गर्दै मुलुकमा देखा परेका समस्याहरूको समाधानका लागि प्राज्ञिक समाधान दिन पनि सक्नुपर्दछ । देशको आवश्यकता बमोजिमको उच्चशिक्षा तहका पाठ्यक्रमहरूको पठनपाठनको जिम्मा विश्वविद्यालयहरूले लिन सक्नुपर्दछ ।
कुनै कुनै विश्वविद्यालयहरू विशिष्ट स्वरूपका पनि हुने गर्दछन् । सबै विषय र सबै तह पढाउनै पर्ने खालका सबै विश्वविद्यालय हुन्छन् भन्ने पनि छैन । त्यस्ता विश्वविद्यालयहरूलाई ऐनमा नै उनीहरूको कार्यक्षेत्र तोकिएको हुन्छ । नेपाल संस्कृत विश्वविद्यालय संस्कृत विषय पढाउनका लागि नै खुलेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको मूल उद्देश्य भगवान बुद्धबाट निसृत ज्ञान र दर्शनको अध्ययन अनुसन्धान गर्दै बौद्ध दर्शनको संरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धन हो । कृषि तथा वन विश्वविद्यालयले कृषि र वन सम्बद्ध ज्ञान नै बाँड्ने हो ।
विशिष्टीकृत विश्वविद्यालयहरू समेत अहिले आफ्नो उद्देश्यबाट बाहिर जान खोजेका देखिन्छन् । विद्यार्थी संख्या ज्यादै न्यून भएको भनी शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग एवं समाजबाट समय समयमा प्रश्नहरू उठाइने गरेकाले त्यसको जवाफ दिने उद्देश्यले केही विद्यार्थी संख्या बढेको देखाउन आफूसँग असम्बद्ध विषयहरूको पठनपाठन गराउने प्रयासमा यस्ता विश्वविद्यालयहरू रहेको पनि देखिन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिकित्साशास्त्र र नेपाल संस्कृत विश्वविद्यालयले इन्जिनियरिङ पढाएर एक डेढ सय विद्यार्थी बढेको देखाउने प्रयास गर्न खोजे भने त्यसमा कुनै तूक रहन्छ जस्तो लाग्दैन ।
अहिले टड्कारो रूपमा विश्वविद्यालयले भोगेको समस्या भनेको विश्वविद्यालयदेखि बाहेकका संस्थाहरू र समाजले उठाउने गरेको प्रश्न विद्यार्थीहरूको न्यूनता नै हो तर अहिले संस्कृत विश्वविद्यालयले जति विद्यार्थी पढाइ रहेको छ, त्यसलाई न्यून भन्न मिल्ने अवस्था छैन ।
यहाँ प्रसंग नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को उठाउन खोजिएको हो । विधिमा व्यवस्था गरे अनुसार नेसंविका उद्देश्यहरूमा नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन-पाठन गराई दक्ष जनशक्ति उत्पादन गर्ने, संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्बद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’ जस्ता उदात्त भावना प्रवाहित गराउने, नेपालमा अति प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत् आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने रहेका छन् ।
साथै सामाजिक आश्यकता अनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञान-विज्ञानका पक्षहरूलाई उजागर गर्ने, प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्य-मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने र विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रूपमा विकसित गर्ने विषयहरू नेसंविका उद्देश्यमा समाविष्ट छन् । विश्वविद्यालयको उद्देश्य गहन छ ।
सामान्य प्रक्रियाद्वारा यी उद्देश्यहरू पूरा हुने सम्भावना पनि देखिँदैन । विश्वविद्यालयका पदाधिकारीहरूको विश्वविद्यालयप्रतिको इमानदारी, मुलुकप्रतिको जवाफदेहिता र जिम्मेवारीपनले मात्रै यसको लक्ष्य हासिल हुन सक्दछ । पदाधिकारीहरूको सत्कर्ममा प्राध्यापकहरूको सहयोग, कर्मचारीहरूको इमानदारीपूर्ण कार्यान्वयन र विद्यार्थीहरूको भविष्यप्रतिको चिन्ता समेत समाविष्ट भएमा मात्रै विश्वविद्यालयले गति लिन सक्दछ । यसमा कुनै एक वर्गले बाटो बिराउँदा मात्रैमा पनि विश्वविद्यालय अन्यौलताको भासमा रुमलिन पुग्नेमा कुनै शंका छैन ।
अहिले टड्कारो रूपमा विश्वविद्यालयले भोगेको समस्या भनेको विश्वविद्यालयदेखि बाहेकका संस्थाहरू र समाजले उठाउने गरेको प्रश्न विद्यार्थीहरूको न्यूनता नै हो तर अहिले संस्कृत विश्वविद्यालयले जति विद्यार्थी पढाइ रहेको छ, त्यसलाई न्यून भन्न मिल्ने अवस्था छैन । राज्यले नै संस्कृत माध्यमिक विद्यालयहरूलाई साधारण माध्यमिक विद्यालयमा परिवर्तन गरिदिने र संस्कृत उच्च माध्यमिक विद्यालयहरूको व्यवस्था नगर्ने अनि उच्चतहमा विद्यार्थी भएनन् भनेर कुरा उठाउने सन्दर्भलाई त्यति सान्दर्भिक मान्न सकिँदैन ।
इन्जिनियरिङ विषयमा स्नातक पढ्न चाहनेका लागि १२ कक्षामा गणित र विज्ञान पढेकै हुनुपर्ने अनि चिकित्सा शास्त्र पढ्नेहरूले बायोलोजी पढ्नै पर्ने व्यवस्था भए जस्तै संस्कृतमा स्नातक अर्थात् शास्त्री पढ्नका लागि १२ कक्षामा संस्कृत पढेको वा उत्तरमध्यमा उत्तीर्ण हुनै पर्दछ । जबकि राज्यले १२ कक्षासम्म संस्कृतै पढाउँदैन र पढाउने व्यवस्था भएका विद्यालयहरूलाई समेत अन्यमा परिवर्तन गर्दछ भने संस्कृत विश्वविद्यालयले कसरी विद्यार्थी पाउँदछ ? उत्तरमध्यमा तह त उहिल्यै बन्द भइसकेको छ । यद्यपि भाषा प्रशिक्षण कक्षा सञ्चालन गरेर नेसंविले येनकेन विद्यार्थी जुटाइरहेको छ र यो कार्यलाई प्रशंसनीय मान्नुपर्दछ ।
नेसंविका उद्देश्यहरूलाई राम्ररी मनन गर्ने हो भने यसले हजारौंको संख्यामा जनशक्ति उत्पादन गर्नु पर्दछ भन्ने नै छैन । पूर्वीय वाङ्मयमा रहेका ज्ञानको संरक्षण एवं सम्बद्र्धन गर्दै ती ज्ञानका व्याख्याताहरू उत्पादन गर्न सके पुग्दछ । हाम्रा धर्म संस्कृतिहरू आधारित रहेका ग्रन्थहरूको संरक्षण गर्दै तिनले दिन खोजेको शिक्षालाई समाजमा प्रचार प्रसार गर्न सक्ने विद्यार्थीहरू उत्पादन गर्न सकेमा नेसंविले आफ्नो लक्ष्यलाई पूरा गरेको मान्नुपर्दछ । यो भएको छ कि छैन भनेर हेर्नु चाहिँ महत्वपूर्ण कुरा हो जस्तो लाग्दछ ।
विश्वविद्यालयका पदाधिकारीहरू आफूलाई नियुक्ति दिने राजनीतिक दलहरूप्रति जवाफदेही हुने, त्यही दलका भ्रातृ संगठनहरूप्रति उत्तरदायी हुने र आफू निकटकालाई नियुक्ति दिलाउन रूचाउने प्रवृत्ति हावी हुँदै गयो भने विश्वविद्यालयले सही बाटो समात्नै सक्दैन । प्राध्यापकहरू विद्यार्थी देखेपछि भाग्ने, आफूले पढाउनुपर्ने ग्रन्थका बारेमा नै जानकार नहुने र पढाउन भन्दा अन्यत्र अरू नै कुरालाई प्राथमिकता दिने भए भने पनि विश्वविद्यालयको प्रगति अधोगतितिरै लम्कन्छ । विद्यार्थीहरूले पनि भोलिको संस्कृतको प्रकाण्ड विद्वान् हुनेभन्दा पनि राजनीतिक दलहरूका आडमा जागिर खाने मनस्थिति लिएर पढे भने नेसंविको भविष्य उज्ज्वल छ भन्न सकिँदैन ।
योग्यताविनाका सयौं विद्यार्थीहरू उत्पादन गरेर विश्वविद्यालयको ग्राफ माथितिर उक्लेको देखाउन भन्दा योग्यतासहितका दश विद्यार्थी उत्पादन गरेर इज्जत चम्काउने प्रयास नेसंविले गर्दामा नै सबैको हित हुने देखिन्छ । पास हुनका लागि पढेका भन्दा विद्वान् हुनका लागि अध्ययन गरेका सीमित संख्याका उत्पादनले नै नेसंविको साखलाई जोगाउन सक्दछ । चिट चोरेर पास भएका विद्यार्थीको ठूलो संख्याले भन्दा ज्ञान हासिल गरेर आफूले पढेको ग्रन्थलाई समाजमा बुझाउन सक्ने एकादुई पण्डितहरूबाटै संस्कृत विश्वविद्यालयको अपरिहार्यता पुष्टि हुन्छ ।
नेसंविका केही प्राध्यापकहरूलाई लिएर नै नेसंविको उत्पादन कस्तो हुनुपर्दछ भनेर उदाहरण दिन सकिन्छ । संस्कृत साहित्यका प्राध्यापक डाक्टर नुरापति पोखरेल छन्, जसको कलम साहित्यमा मात्रै होइन, जुनसुकै विषयमा चल्न सक्दछ । ग्रन्थ सम्पादनमा दैनिकी बित्दछ । अध्ययन, अनुसन्धान, पठनपाठन र लेखन नै उनको जीवनको ध्येय हो जस्तो लाग्दछ । वेद होस् या धर्मशास्त्र, व्याकरण या इतिहासपुराण, यस्तै अन्य थुप्रै विषयहरूमा कुनै समस्या आएमा त्यसको समाधान उनले दिन सक्दछन् । संस्कृत भाषामा प्रखरमात्रै होइनन् कि ज्ञानको भण्डार नै हुन् भन्दा अत्युक्ति हुँदैन ।
नुरापति काठमाडौंमा डेरामा बस्दछन् । उनको कोठामा पुगियो भने धोती र गञ्जीका साथमा जाडो महिना हो भने कम्बल ओढेर बसेका एक सन्त जस्तै देखिन्छन् । ठूलो स्क्रिन भएको कम्प्युटरमा काम गरिरहेका भेटिने उनी आधुनिक प्रविधिमा पनि उत्तिकै पोख्त छन् ।
नुरापति काठमाडौंमा डेरामा बस्दछन् । उनको कोठामा पुगियो भने धोती र गञ्जीका साथमा जाडो महिना हो भने कम्बल ओढेर बसेका एक सन्तजस्तै देखिन्छन् । ठूलो स्क्रिन भएको कम्प्युटरमा काम गरिरहेका भेटिने उनी आधुनिक प्रविधिमा पनि उत्तिकै पोख्त छन् । उनलाई बाटोमा देख्नेले यी पनि विद्वान् हुन् र भन्ने अवस्था आउन पनि सक्दछ । लाउन त कोट पेन्ट र छालाको जुत्ता नै लगाएर हिँड्छन् तर त्यसको समन्वय कत्तिको छ भन्ने हेक्का राख्दैनन् । सर्टको एकातिरको फुर्को पेण्टभित्र र अर्को फुर्को बाहिरै रहेको पनि पत्तो नपाएका अवस्थामा उनी भेटिन सक्दछन् । राजनीतिक नियुक्तिका लोभलालचबाट धेरै टाढा छन् । सारांशमा भन्नुपर्दा विद्वान्हरू, वैज्ञानिकहरू र दार्शनिकहरू कस्ता हुन्छन् भनेर चित्रण जसरी गरिन्छ उनी त्यस्तै पनि देखिन सक्दछन् ।
यो कुनै बढाई चढाइ गरिएको होइन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री छँदा बोलाएर भगवान रामको जन्मभूमि नेपालमै पर्दछ भन्ने पुष्टि गर्ने सामग्रीहरू तयार गर्न उनलाई पनि भनेका थिए । अरूले भए हस् हजुर भनेर भए नभएका प्रमाणहरू जुटाउन प्रयत्न गर्थे होलान् तर रामायणले जे भनेको छ, रामायणमा भनिएका कुराहरूको व्याख्या के हो आदि सही कुराहरू संकलन गर्ने हो भने गर्छु तर नियोजित कार्य म गर्दिन भन्ने हिम्मत राख्ने यिनै नुरापति हुन् । सहीलाई सही भन्न सक्ने र गलतलाई गलत भन्ने नै असली विद्वान् हो । त्यसैले होला, जे जस्तो अवस्थामा देखिए पनि उनलाई चिन्नेले नतमस्तक भएर सम्मान गरेकै देखिन्छ । यस्तै विद्वान्हरू वर्षको पाँच जना नेसंविले उत्पादन गर्न सकेमात्रै पनि पुग्छ भन्न अप्ठ्यरो मान्नुपर्दैन । त्यस्तैका साथै आफ्ना विषयमा साधिकार उपस्थापन गर्न सक्ने नेसंविमा पढाइ हुने सबै विषयमा दुई-दुईजना वर्षेनी उत्पादन भने गर्नैपर्दछ ।
यस्तै सबै विषयमा क्षमता राख्ने नभए पनि आ-आफ्ना विषयमा पोख्त प्राध्यापकहरू पनि पर्याप्त छन् । कसैको नाम लिँदा कसैको छुट्ने भएकाले त्यतातर्फ नलागौं तर यही संस्कृत विश्वविद्यालयमा विद्यार्थीले पढाइदिनुस् भन्दा भाग्ने तर राजनीतिक दलहरूका नेताहरूका समीपमा बसेर ठूला नियुक्ति लिनेहरू एकादुई पनि भेटिन्छन् । विश्वविद्यालयका पदाधिकारीहरू ती विद्वान्हरूको भन्दा यी भगौडामा आश्रित हुने परम्परा बस्दै गयो भने विश्वविद्यालयले प्रगति गर्न निश्चय नै मुस्किल पर्दछ । विश्वविद्यालयले उत्पादन गर्ने पण्डित नै हो र यसमा स्पष्ट लक्ष्य राखेर अगाडि बढेमा नेसंविमाथि कसैले औंला ठड्याउन सक्दैन । पण्डित अर्थात् आजको समाजले बुझ्ने कर्मकाण्ड गराउने व्यक्ति होइन कि ठूलो विद्वान् ।
डा शान्तिकृष्णलाइ बधाइ ।राम्राे विषय उठाएछन् ।संस्कृत वाङ्मयमा ज्ञान,विज्ञान,्म संस्कृति,समाजशास्त्र सबै छन् ।गीत सङ्गीत स्वास्थ्य,वनस्पति शास्त्र,कृषिविज्ञानजस्ता विषय पनि छन् ।तिनलाई आधुनिक विषय र जनताकाे आावश्यक्ता पूरा गर्नेगरी अघि बढाउन पनि सकिन्छ तर राज्य र पदाधिकारी अनि प्राध्यापकमा सुझबुझ अ आावश्यक छ ।त्यता पनि ध्यान दिनु्ला ।्थकरी संज्ञानात्मक गरि दुई विभाजन गरेर पाठ्यक्रम बनाउन सकिन्छ ।अब नेसंविले त्यता ध्यानदिनुपर्छ ।
हार्दिक कृतज्ञता दाजु