देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ ।

प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उहाँले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताउनुभयो ।

“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उहाँले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले गृह मन्त्रालयअन्तर्गत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भन्नुभयो, “उहाँको योगदानका आधारमा उहाँ नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ ।”

धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्धधर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “झण्डै २० वर्षअघि मैले उहाँको शिष्य बन्ने अवसर पाएको थिए । म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उहाँ नै हो ।” उपमेयर डङ्गोलले महानगर धर्मकीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मीनुभएको भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाड्दै आउनुभएको छ । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?