पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

विरोधमा देशभर प्रदर्शन सुरु

हिमालय टाइम्स
Read Time = 5 mins

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ पर्नुभएको छ । उहाँलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत परिसरबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । इस्लामावाद प्रहरीको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुग्नुभएको थियो ।

इस्लामावादको हाई कोर्टमा उहाँविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई ठूलो संख्यामा रहेका उक्त फोर्सले अपहरण शैलीमा पक्राउ गरेको उहाँको पार्टी पिटिआईले जनाएको छ । उक्त समयमा पिटिआईका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । सो क्रममा आफ्ना कार्यकर्ता र वकिलहरूसमेत घाइते भएको पिटिआईले दाबी गरेको छ । खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रूपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आउनुभएको थियो ।

गतवर्ष अप्रिलमा प्रधानमन्त्रीको रूपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिनुभएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहनु भएको थियो । खान दुईवटा मुद्दामा जमानतका लागि उच्च अदालत पुग्नुभएको थियो । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उहाँको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको थियो । पाकिस्तानी सेनाले यो आरोपको खण्डन गरेको छ । यसपछि इमरानले मंगलबार बिहान एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याउनुभएको थियो । उक्त भिडिओ सार्वजनिक गरेको चार घण्टापछि उहाँलाई पक्राउ गरिएको हो ।

७१ वर्षीय खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरिफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाउनुभएको थियो । यस आक्रमणमा उहाँको खुट्टामा तीनवटा गोली लागेको थियो । खान पक्राउ परेसँगै उहाँको पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने देशका विभिन्न सहरमा उहाँका समर्थकहरूले प्रदर्शन सुरु गरेका छन् ।

इमरान खान पक्राउ परेसँगै यो प्रश्न फेरि उठेको छ कि पाकिस्तानमा अब के हुन्छ ? छिमेकी मुलुक भारतको अर्थतन्त्र धराशायी भइसकेको छ । यस्तो अवस्थामा राजनीतिक अस्थिरताले आगोमा इन्धनको काम गर्न सक्छ । यस्तो अवस्थामा पाकिस्तानी सेनाको मनोवृत्ति कस्तो हुन्छ, त्यो सबैभन्दा महत्वपूर्ण छ । इमरान खानको पार्टीले जनतालाई घर छाड्न अपिल गरेको छ । हाल इमरान खान देशमा सबैभन्दा धेरै फलोअर भएका नेता हुनुहुन्छ ।

जनता सडकमा निस्कँदा कोलाहल अवश्य हुन्छ र यो कोलाहल कति हदसम्म जान्छ, केही भन्न सकिने अवस्था छैन । अदालत र सेनाको भूमिका भविष्यमा महत्वपूर्ण हुन सक्छ । इस्लामावाद हाईकोर्ट बाहिर इमरानलाई जसरी पक्राउ गरियो त्यसबाट अदालत खुसी छैन । अदालत आफ्नो अडानमा अडिग रह्यो भने पाकिस्तानमा फेरि नयाँ द्वन्द्व सृजना हुन सक्छ । अर्थात् सरकार र अदालत पनि आमनेसामने हुन सक्छन् । यता, सेना भने खानसँग खुसी छैन ।

पछिल्लो समय इमरानले सेनामाथि गम्भीर आरोप लगाउनुभएको छ । स्थिति नियन्त्रणबाहिर गए सेनाले कुनै पनि बेला हस्तक्षेप गर्नसक्ने अवस्था छ । हालको अवस्थामा पाकिस्तानमा फेरि एकपटक ‘कू’को सम्भावना बढेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?