पहिरोले उजाडियो तोराखेत गाउँ: २० बर्षदेखि निरन्तर पहिरो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । पुछारमा भीर, सिरानमा जंगलको बीच भागबाट खनिएको कच्ची मोटरबाटो । बीचमा पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँ । त्यही गाउँमा वस्छन् ३२ घर परिवारका डेढ सय सदस्य ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । यो दुई दशकको अवधीमा गाउँबाट ६० जना भन्दा बढी व्यक्तिहरूले बसाइँसराइ गरिसके । तर, ७३ बर्षीय भक्तवहादुर सापकोटा गाउँ छाडेर अन्यत्र बसाइँ सर्न मान्नुभएन । गाउँमै रहनुभएका भक्तवहादुरसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ ।

२०५८ सालदेखि खस्न सुरु गरेको यो पहिराले वर्षेनी उग्ररूप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् ।

पहिरो नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दाबढी घर उच्च जोखिममा परेका छन् भने पहिराकै कारण पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भएका छन् ।

२०७२ सालको भूकम्पका कारण जमिनको सतहलाई खल्बल्याएपछि उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताउनुभयो । तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको, मुख्य पहिराको तलपट्टिका वस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेका उहाँको भनाइरहेको छ ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिनेक्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा वसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

तल विशाल चट्टाने पहरोकोबीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मिटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानी सम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासी बताउँछन् ।

कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जंगल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरा तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपिरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताए ।

भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमाभन्दा यस वर्षको वर्खायाममा तोराखेत गाउँ बढी खतरायुक्त रहेको भक्त सापकोटाले बताउनुभयो । “बर्खा नलाग्दै पहिरोको चिन्ताले रातभरी निद्रा लाग्दैन, पहिरोकै कारण सबै दामलीहरु गाउँ छोडेर हिँडे,बसेका हामी र बँचेको जग्गा जमिन पनि पहिरोले कतिबेला उजाड बनाउँछ र थाँतथलो नासिन्छ भन्ने त्रासमा छौं हामी” सापकोटाले भन्नुभयो । स्थानीयवासीका अनुसार विगतको वर्षका तुलनामा यस वर्ष तोराखेतको वस्ती नजिकको जमिन धेरै नै भासिएको छ ।

गाउँको पूर्वपट्टि करिब ३५० मिटरको दुरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिन पनि ठाडोमुख चिरिएको छ । पहिराका कारण सदरमुकाम बेनीबजारसँगै सीमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी समेत त्रसित हुने गर्दछन् ।

पहिरो नियन्त्रण र भू-अध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरिक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले मात्र सम्भव नहने सुझाव आएपछि यहाँ रहेका वासिन्दाहरुलाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ स्थानीय तह लागेको बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?