उपाधिका लागि आर्मी र एनबिएससी भिड्दै

हिमालय टाइम्स
Read Time = 7 mins

विराटनगर । प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबिएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई चार रनले स्तब्ध पार्दै एनबिएससी फाइनलमा पुगेको हो । एनबिएससीले लगातार तेस्रो जित निकाल्दै समूह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिका लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो ।
शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबिएससी भाग्यमानी बन्यो । एनबिएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा नौ विकेट गुमाई १८७ रनमा समेटियो ।

पुलिसका सुनिल धमलाले ३७ बलमा तीन छक्का, तीन चौका हिर्काउँदै ४५ रन बनाउनुभयो । अमित श्रेष्ठले २० बलमा २ छक्का र पाँच चौका प्रहार गर्दै ३३ रनको पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिनुभयो । दिलिपले ९ बलमा ६ छक्का र दुई चौका हिर्काउनुभयो भने शंकरले १३ बलमा एक छक्का र दुई चौका प्रहार गर्नुभयो । प्रेम तामाङले १५ बलमा दुई छक्का र दुई चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिनुभयो । पुलिसका अरू ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरन बाध्य भयो ।

एनबिएससीका विधान गोस्वामीकोे घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उहाँले तीन ओभरमा २६ रन खर्चेर तीन विकेट लिनुभयो । एनबिएससीका अलराउण्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर दुई विकेट लिनुभयो । राहुल चौधरी, अनुभव श्रीवास्तव र एमडीले समान एक-एक विकेट लिनुभयो ।

यसअघि एनबिएससीले निर्धारित २० ओभरमा नौ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । एनबिएससीलाई फाइनलमा पु¥याउन अलराउण्डर खेलाडी रवि शर्माले विस्फोट ब्याटिङ र घातक बलिङ गर्नुभयो । उहाँले ३६ बलमा तीन छक्का र छ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनको योगदान दिनुभयो । इमरानले दुई छक्का र छ चौका प्रहार गर्नुभयो । मुकुन्दले दुई चौका हिर्काउनुभयो । राहुल चौधरीले १० बलमा २२ रन, माइकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिनुभयो ।

बलिङमा पुलिसका मन्जित श्रेष्ठले चार ओभरमा ४८ रन खर्चेर ३ विकेट लिनुभयो । रसिद खान र ललित भण्डारीले समान दुई-दुई विकेट लिनुभयो । रसिदले चार ओभरमा ३३ रन खर्चनुभयो भने ललित भण्डारीले चार ओभरमा ४० रन खर्चनुभएको थियो ।

यसअघि भएको पहिलो खेलमा सुदूरपश्चिमको एनबी ग्रुप धनगढीले पहिलो जित निकालेको छ । दिल्ली युनाइटेडमाथि सुदूरपश्चिमले तीन रनको रोमाञ्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदूरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्ली लगातार तीनपटक पराजित हुँदै घर फर्किन बाध्य भयो ।

सुदूरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १९२ रन बनाउन सक्यो । दिल्लीका अलराउण्डर खेलाडी साकेट केडियाले क्रिजमा घातक बलिङ र विस्फोट ब्याटिङ गरे तापनि जित टिमको पक्षमा पार्न असफल हुनुभयो । उहाँले ३१ बलमा ७ छक्का र ४ चौका हिकाउँदै ६१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । मनिष कुमारले २६ बलमा दुई छक्का र ६ चौका प्रहार गर्दै अविजित ४४ रनको योगदान गर्नुभयो । मोहितले १५ बलमा २० रन पारी खेल्दा अरिन्द्रले पाँच बलमा १६ रनको योगदान गर्दा दिल्लीका अरू ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा सुदूरपश्चिमका दिपक बोहराले चार ओभरमा ३३ रन खर्चेर तीन विकेट लिनुभयो । कैलाशले चार ओभरमा ४४ रन खर्चेर दुई विकेट लिनुभयो भने विशाल चौधरी, नरेन साउद र जोगेन्द्र बोहराले समान एक-एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रनको विशाल योगफल खडा गरेको थियो । गजेन्द्र बोहराले २६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

अलराउण्डर खेलाडी दिपक बोहराले १३ बलमा ३२ रन जोड्नुभयो । उहाँले दुई छकका र चार चौका हिर्काउनुभयो । दीपक बोहरा ‘बी’ ले ११ बलमा तीन छक्का हिर्काउँदै २३ रन पारी खेल्दा उत्तम थापा मगरले १८ बलमा २७ रनको योगदान दिनुभयो । हरेनले १२ बलमा अविजित २३ रन पारी खेल्दा नरेशले १७ रन बनाउनुभयो ।
दिल्लीका अलराउण्डर खेलाडी सकेट केडियाले घातक बलिङ गर्दै चार ओभरमा ३० रन खर्चेर पाँच विकेट लिन सफल हुनुभयो । अलराउण्डर खेलाडी केडिया खेलको म्यान अफ द म्याच पनि घोषित हुनुभयो । उहाँले पाँच विकेट र ३१ बलमा ६१ रनको योगदान गर्नुभएको थियो । यस्तै, मोहितले दुई विकेट, अंकित गोस्वामी र भुर्माले समान एक-एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?