प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको काम सुरु गरिहाल्छुः नवनियुक्त परराष्ट्रमन्त्री साउद

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाई हाल्ने बताउनु भएको छ ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सो कामलाई अघि बढाइहाल्ने बताउनु भएको हो । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरुसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताउनु भयो ।

उहाँले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहि आएको छ । हामीले आगामी दिनमा पनि विश्वभरीका देशहरुसँग, छिमेकीहरुसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं । र, यसरी हामी नेपाल एउटा शान्तिप्रीय देशको रुपमा, एउटा लोकतान्त्रिक देशको रुपमा विश्वभरी चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा हामी छलफल अगाडि बढाउँछौं । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायतका टिमहरु त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु ।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरुले मन्त्री साउदको स्वागत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?