ब्राइटनसँग चेल्सीको हार

Read Time = 2 mins

लण्डन । लण्डन क्लब चेल्सीले घरेलु मैदानमा ब्राइटनसँग २-१ ले हार बेहोरेको छ । चेल्सीलाई हार चखाउन ड्यानी वेलबेक र जुलियो इनसिसोले गोल गर्नुभयो । चेल्सीका कोनर गल्लाघेरले एक गोल फर्काउनुभयो ।

खेलको १३औँ मिनेटमा कोनर गल्लाघेरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ४२औँ मिनेटमा ड्यानी वेलबेकले पास्कल ग्रसको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि ६९औँ मिनेटमा जुलियोले सोली मार्सको पासमा गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा हार चखाउनुभयो ।

यस जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंक जोडेर सातौँ स्थानमा रहेको छ । हारसँगै चेल्सी ३१ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा छ । यता, म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३-१ ले पराजित गर्‍यो । सिटीको जितमा हालाण्डले दुई तथा जोन स्टोन्सले एक गोल गर्नुभयो । लेस्टरका केलिची इहानाचोले एक गोल फर्काउनुभयो ।

खेलको पाँचौँ मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाउनुभयो । १३औँ मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो । २५औँ मिनेटमा हालाण्डले तेस्रो गोल गरेपछि सिटी खेलमा ३-० ले अघि रहृयो । ७५औँ मिनेटमा केलिचीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याउनुभयो ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी तीनमा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ७३ अंक छ । पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?