म्याग्दीको भकिम्लीमा भीषण आगलागी : जिल्लाको ७० हेक्टर वन क्षेत्रमा क्षति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीमा वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जंगलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । त्यसैगरी गत शुक्रबारदेखि बेनी नगरपालिका २ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

भकिम्लीको गजुरे सामुदायिक बनमा भीषण आगलागी भएको छ । आइतबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्णमा जुटेका छन् । सामुदायिक बनबाट सुरु भएको आगो फैलिँदै भकिम्लीको हल्लेगौडाा, पोलधारा, सल्देना लगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको छ । प्रतिकुल मौसमका कारण दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साझँपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

‘अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्’ उहाँले भन्नुभयो । आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

‘मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छांै, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन’ वडा अध्यक्ष पुनले भन्नुभयो । आगलागीले सामुदायिक बन सखाप पारेको छ । हावा चलेपछि आगोले झनै तीव्र गतिमा फैलिएको छ, घरेलु सामाग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइएपनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताउनुभयो । आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने अवस्था नभएकाले अहिलेको प्राथमिकता बस्ती जोगाउने भएको उहाँको भनाइ छ । ‘सुख्खा र भीर भएकोले पनि सहजै निभाउन सकिएको छैन । भीरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौं’ प्रमुख रानाभाटले भन्नुभयो ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेहरूले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्नीरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक बनमा बादर, खरायो, मृग लगायतका जनावर र चराचुरुङगीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ । आइतबार दिउँसो सामान्य बर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो ।

यसैबीच यसबर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । भकिम्लीमा लागेको डढेलोका सदरमुकाम बेनी आपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरणहरू संकलनको काम चलिरहेको भन्दै उहाँले बुधवारसम्ममा सबै यकिन हुने जानकारी दिनुभयो । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताउनुभयो ।

आगलागीका कारण वातावरण धूवाँमय बन्दा बायु प्रदूषण ह्वात्तै बढेको छ । म्याग्दी र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्न समेत कठिन भइरहेको छ। तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धूवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्ग समेत प्रभावित भएको छ । घरबाट बाहिर निस्किँदा धूवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउनुहुन्छ । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिक ब्रोन्काइटिस जस्ता समस्याहरू आएका उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?