चुनाव : जीतनारायण-रवि र गोविन्द-स्वर्णिमको

Read Time = 15 mins

✍️ प्रा. पुरुषोत्तम दाहाल

उपचुनावको चर्चा यतिविधि २०५० पछि पहिलो पटक हँुदैछ । तीन स्थानको उपचुनावमा बारा-२ चितवन-२ र तनहूँ-१ अहिले नेपाली राजनीतिको केन्द्रमा छन् । २०५० मा काठमाडौं-१ को उपचुनावमा नेपाली कांग्रेसका तत्कालीन सभापति पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रतिस्पद्र्धा एमाले महासचिव दिवंगत मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीसँग भइरहेको थियो । यो उपचुनावका समयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँका अनन्य सहयोगीहरूले स्थापित गरेको अनैतिक राजनीतिक अपसंस्कृतिको भारीबाट नेपाली राजनीतिको अन्तरचरित्र संघीय लोकतान्त्रिक गणतन्त्र पनि मुक्त हुनसकेको छैन । त्यो भारी अद्यापि परिवर्तित राजनीतिक प्रणालीले बोकिरहेको छ ।

(क) गौण हो जय वा पराजयको विषय :
यो निर्वाचनमा कसको जय वा पराजय हुने भन्ने विषय गौण हो तर स्थानीय रूपमा टुरिष्ट उम्मेदवारहरू निर्वाचनमा भन्ने चर्को नारा सुनिन्छ । यथार्थमा त्यो नारा गलत हो । लोकतन्त्रमा नागरिक जो भए पनि जुनसुकै निर्वाचन क्षेत्रमा गएर विधिसम्मत उम्मेदवारी दिन सक्छ । स्थानीयताको हल्ला गर्नु आपत्तिजनक छ । अहिले तनहूँमा गोरखा अब त चितवन, काठमाडौं र एकप्रकारले अन्तर्राष्ट्रिय क्षेत्रको यात्रा गर्दै डा.स्वर्णिम वाग्ले उम्मेदवारी दिन पुग्नुभएको छ । काभ्रे, अमेरिका, ललितपुर हुँदै रवि लामिछाने चितवनमा र मोरङ, सुनसरी, सप्तरीको परिक्रमा गर्दै उपेन्द्र यादव बारा पुग्नुभएको छ । यो परिक्रमा उदेकलाग्दो र सत्ताको अतृप्त भोक भए पनि उम्मेदवारीलाई टुरिष्ट भनेर अपमानित गर्नु गलत हुनेछ । यस्तो आरोप लोकतन्त्रको मर्यादाविपरीत हुन्छ तर सत्ताको अतृप्त भोक, अहंकार र महत्वकांक्षाको बिम्ब उम्मेदवारीलाई बनाउन सकिन्छ ।

(ख) तनहूँले विवेक मार्‍यो भने के हुन्छ ?
तनहूँ एकमा जसले जिते पनि गोविन्द भट्टराई पराजित भए भने तनहूँका मानिसहरूसँग विवेक मरेको निष्कर्षमा पुग्नुपर्ने हुन्छ । चितवनमा रविको विजयलाई अहिलेसम्म चुनौती देखिएको छैन । त्यस क्षेत्रका जनताको निरासा, अरू राजनीतिक दलहरूसँगको विकर्षणप्रति नागरिकको प्रतिवादका रूपमा चुनौतीविहीनतालाई बुझ्नुपर्ने हुन्छ । नत्र, नागरिकता विवाद, पासपोर्ट काण्ड, भरखरै सार्वजनिक भएको परिचय पत्रको खेल, पत्नी र महिलाको विषय, त्यही चितवनको चर्चित शालिकराम प्रकरण, अनि सत्ताका लागि हरेक गठबन्धनलाई समर्थन गर्नै पर्ने अवस्थाको अन्तर्य, सरकारमा पुग्दा गृहमन्त्रालय नै चाहिने जस्ता विषयलाई राम्ररी देखेका, भोगेका सचेत नागरिकहरूको पंक्ति हुनुपर्ने चितवनमा ।

अबका केही दिनमा देखिन्छ कि थाहा छैन । जनताको निर्णय लोकतन्त्रमा सर्वोपरी हुन्छ । त्यसमा विवाद हँुदैन तर लोकतन्त्रमा जनमतमात्रै मूल होइन भन्ने स्थापित मान्यतालाई छिमेकी भारतमा विपक्षका नेता राहुल गान्धीको सांसद पदसमेत गुमेको परिघटनाले पुष्टि गरेको छ । जनमतले पनि विवेकलाई अस्वीकार गर्दा अनेक दुर्घटनाहरू हुनसक्छन् । चितवन दुईका नागरिकहरूले भोलिका दिनमा कस्तो राजनीतिक संस्कृति बसाउन आफ्नो विवेकलाई कसरी प्रयोग गर्ने हुन् त्यसको समीक्षा पछि अवस्य हुनेछ ।

तनहूँमा अरू कुनै उम्मेदवारले कुनै पनि बहानामा विजय हासिल गरे भने रामचन्द्र पौडेलको विगतमा नेतृत्व क्षमता थियो, रहेछ र सही उत्तराधिकारित्व स्थापित गर्नुभएको छ भन्ने प्रमाणित हुनेछैन । तर, त्यसभन्दा पनि ठूलो परीक्षण हुनेछ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ।

बारा दुईमा सत्ताको अतृप्त भोक उदाहरणीय हुनेछ । सायद उपेन्द्रजीको प्रतिस्पद्र्धा सहज नभए पनि विजयको सम्भावना स्पष्ट लाग्छ । यहाँ हिन्दी सिनेमाको सिंहम जस्ता मानिने रमेश खरेल र अर्का जनमत पार्टीका उम्मेदवारको प्रतिस्पद्र्धा पनि कमजोर नहुन सक्छ । बारा दुईमा प्रतिस्पर्धी जो भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत मूल खेलाडी हुन् र जय पराजय पनि त्यही आधारमा हुनेछ ।

(ग) मेरो कुनै अतिरिक्त धारणा छैन :
तिनै क्षेत्रमा हुने यो उपचुनावी प्रतिस्पर्धी उम्मेदवारका विषयमा मेरो अरू कुनै धारणा छैन । नेपाली जनता आफ्नै कारणले अरूबाट ज्यादा दोहन र शोषणमा परेका छन् । आवेश, उत्तेजना, लोभ र क्षणिक निरासाको जालझेलमा निरीह भएका छन् । त्याग, योगदान, संघर्ष, साधना, सिद्धान्त जस्ता लोकतन्त्रमा अपेक्षित गुण र चरित्रलाई २०५० को काठमाडौं-१ को उपचुनावमा नै हामीले खरानी बनाएको हुनाले त्यो उदाहारण सदावत्र्त भइरहेको छ, त्यसकै पक्षपोषण भइरहेको छ र हुनु अस्वाभाविक मानिएको छैन । तर, म यस बेला उम्मेदवारबीचको प्रतिस्पर्धाभन्दा पनि फरक विषयमा केन्द्रित छु ।

(घ) गगन र स्वर्णिमको लय :
गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका स्वयंभू युवा नेता गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीचको अघोषित लयका विषयमा चितवन, मकवानपुर, नवलपरासी र काठमाडौंमा पर्याप्त चर्चा थियो । अनि निरन्तर पुस्ताहस्तान्तरण, नेतृत्व क्षमता प्रभावको दुन्दुभी बजाइरहनेहरूले विश्वप्रकाश र गगनबाहेक कांग्रेसको पुनरोदयका लागि अरू कुनै पनि औषधि छ भन्ने पटक्कै सोचेका छैनन् । यस पटक नेपाली कांग्रेसले यी दुई अचूक औषधिको संपरीक्षण चितवन र तनहूँको प्रयोगशालामा गर्न लागेको छ । तनहूँमा त गगनमात्रै होइन वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको समेत उत्तराधिकारित्वको संपरीक्षण हुँदैछ ।

(ङ) रामचन्द्र पौडेलको परीक्षा किन ?
यो प्रश्न धेरैका मनमा होला तर उहाँले २०४८ देखि नै आफ्नो जमिन्दारीभित्र राखेको, विगतको संघर्षको इतिहास त्यही भूमिमा बनाएको, आफू त्यही स्थानमा जन्मेको र नेपाली कांग्रेसको शीर्ष स्थानमा पुर्‍याउँदै राष्ट्रपतिको योग्य बनाउने तनहूँ नै हो । यहाँका नागरिक नै हुन् । त्यही तनहूँमा आफ्नो उत्तराधिकारीका रूपमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द विजयी भएनन् भने पौडेलको ऐतिहासिक विरासत निरर्थक हुनेछ । हुन त आफ्ना प्रतिस्पर्धीहरूलाई धुलोमा मिलाएर आफ्नो उत्थान खोज्ने संस्कृति रामचन्द्रको नेतृत्वमा तनहूँमा पनि पर्याप्त स्थापित छ । सम्भवतः काठमाडौं-१ को उपनिर्वाचन २०५० कै प्रतिछायाँ र प्रतिक्रिया हुनुपर्छ त्यो ।

चितवनका मतदाताले रवि, जीतनारायण र एमालेका उम्मेदवार रामचन्द्रको मूल्यांकन कुन रूपमा गर्ने हुन् । उम्मेदवार वा सारथीको मात्रै परीक्षण हुँदैन निर्वाचनमा मतदाताको पनि परीक्षण हुने गर्छ । चितवन दुई नम्बर क्षेत्रवासीले आफूलाई यसपटक विवेकको तराजुमा जोख्नै पर्ने हुन्छ ।

यद्यपि अहिले राष्ट्रपति पद कुनै दलीय विवादमा, पक्ष वा विपक्षमा रहनु हँुदैन । उहाँले कसैको पक्ष वा विपक्षमा प्रचार गर्नु अमर्यादित हुनेछ । तैपनि हिङ नभए पनि हिङ बाँधेको टालो भने झैँ उहाँका सहयोगी र समर्थकहरू कुन रूपमा सक्रिय हुने हुन्, कसरी सहयोग गर्ने हुन् त्यसको लेखाजोखा हुने होला । यदि त्यस स्थानमा अरू कुनै उम्मेदवारले कुनै पनि नारा वा बहानामा विजय हासिल गरे भने रामचन्द्र पौडेलको विगतमा नेतृत्व क्षमता थियो, रहेछ र सही उत्तराधिकारित्व स्थापित गर्नुभएको छ भन्ने प्रमाणित हुनेछैन । तर, त्यसभन्दा पनि ठूलो परीक्षण हुनेछ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ।

(च) गगन र विश्वप्रकाशको परीक्षण किन :
अघि नै उल्लेख गरेको छु नेपाली कांग्रेसमा भगवान्, ईश्वर, स्वयंभू जस्तो गगन थापालाई मान्नेहरूको बोलबाला चलिरहेको छ । अनि मंसिरमा सम्पन्न निर्वाचनका समयको विवादको थोपा पनि चुहिने गरेको छ । विनायोगदान नेपाली कांग्रेसमा छोटो समयमा नै निरन्तर बढी लाभ लिनेहरूमध्येका विद्वान् युवा डा.स्वर्णिम वाग्लेप्रति गगनको निकै ठूलो भरोसा देखिएको थियो । कछुवा शैलीमा योगदान गर्नेे निरन्तर संघर्षका पर्यायहरूको अपमान गर्दै, उनीहरूको तेजोबध गर्दै कांग्रेसभित्र अभियान चलाउनेहरूको यो पंक्ति यति खेर विभाजित भएको छ स्वर्णिमका रूपमा ।

स्वर्णिमले आफ्नो उम्मेदवारी दिँदै गर्दा आफूलाई सम्माननीय राष्ट्रपतिको उत्तराधिकारी हुने दाबी जसरी गर्नुभएको थियो त्यसरी नै कांग्रेस सभापति देउवा र उहाँकी पत्नी आरजुको पेलाइका कारण कांग्रेस परित्याग गरेको बताउनुभएको थियो । यससँगै डा.शेखर र गगनहरूको पुनरोदय कांग्रेसमा भएमा पुनः आफू सहकार्यमा रहने सूचित गर्नुभएको स्मरणीय छ ।

यसरी हेर्दा अहिले पनि स्वर्णिमले आफूलाई गगनको र रामचन्द्रको सान्निध्यमा रहेको छु भन्ने देखाइरहनु भएको छ । सम्भवतः यसैकारण नेपाली कांग्रेसले तनहूँमा स्वर्णिमका विरुद्ध निर्वाचन अभियानको वाग्डोर गगनलाई सुम्पिएको हुनुपर्छ । गत निर्वाचनका समयमा आफूले तीनपटक सांसद भएको काठमाडौं–४ मा स्वर्णिमलाई उम्मेदवारी दिन प्रस्ताव गर्ने गगनका सर्वाधिक भरपर्दा बुद्धिजीवी हुनुहुन्छ स्वर्णिम । अहिले तिनकै विरुद्ध शब्दवाण प्रहार गर्न निकै कठिन हुनुपर्ने हो । राजनीतिमा जे पनि हुन्छ र सम्भव छ भन्ने स्पष्ट छ । यद्यपि गगन र स्वर्णिमको वाग्जुहारी रमाइलो भए पनि यो जुहारी कृत्रिम अभिनय जस्तो लाग्छ ।

चितवनमा अर्का युवामहामन्त्री विश्वप्रकाशले कांग्रेसको निर्वाचन रूपी रथको जिम्मेदारी पाएका छन् । उनी कवितात्मक शैलीमा तर बडो विनम्रतापूर्वक विचार प्रक्षेपण गर्छन् । त्यो कवितात्मक कलाको जादू कति चल्ने हो भन्न सकिँदैन । अहिलेसम्मका सूचनाका आधारमा जादू प्रभावकारी भएको अनुभव हुँदैन । हुन त उम्मेदवारको योगदान, योग्यता, जनतामा परेको प्रभाव, विगतमा उसका अनेक व्यवहार र आचरण आदिको प्रभाव पनि मतदाताले यस्तो समयमा सम्झने गर्दछन्

चितवनका मतदाताले रवि, जीतनारायण र एमालेका उम्मेदवार रामचन्द्रको मूल्यांकन कुन रूपमा गर्ने हुन् । उम्मेदवार वा सारथीको मात्रै परीक्षण हुँदैन निर्वाचनमा मतदाताको पनि परीक्षण हुने गर्छ । चितवन दुई नम्बर क्षेत्रवासीले आफूलाई यसपटक विवेकको तराजुमा जोख्नै पर्ने हुन्छ । चितवनको मात्रै होइन तनहूँले पनि विवेकको वाणीलाई भावना र परिवर्तनका नाममा अनाहकमा निरर्थक बनाउने छैनन् भन्ने विश्वास लिनु अनुपयुक्त हुँदैन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu k shrestha
Bishnu k shrestha
2023-04-19 7:31 am

Asha navayako Asha garnu vayako jasto lagyo any way shubhachintak pakkai ho ni !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?