ब्राइट फ्युचरको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आयोजक ब्राइट फ्युचरले दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नैकापस्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रेकरमा चार-तीन गोलअन्तरले पराजित गर्‍यो ।

ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डाइमण्डले एलआरआईलाई चार-शून्य, धु्रवतारा स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई छ-शून्य, नेरिक एकेडेमीले सनसाइनलाई सात-शून्य, नेपाल तारा स्कुलले सेन्ट्रल हाईस्कुललाई पाँच-शून्य र ग्रिन भिलेजले सेन्ट लरेन्सलाई एक-शून्य गोलअन्तरले हरायो ।

त्यस्तै, श्री सञ्जय साई विद्या मन्दिरले न्यु डायमण्डलाई दुई-एक, भक्ति इन्टरनेसनल स्कुलले मिनिल्याण्डलाई पाँच-शून्य, ब्राइट होराइजनले एआई स्कुललाई छ-तीन, पद्मोदयले मोडेललाई आठ-शून्य, पिनाकलले श्री मंगललाई चार-शून्य, क्यामेलियाले समृद्धिलाई ३-०, तिरूपतिले जेसेसलाई नौ-दुई, प्रिमियरले महांकाल जनजागृतिलाई सात-तीन र बालवाटिकाले बेस्ट प्वाइन्टलाई पाँच-एकले पाखा लगाए ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य पुरुषोत्तम थापाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । नकआउट प्रतियोगितामा ३० टिम छन् ।

ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले घरेलु प्रतियोगितामा मात्र नभई ब्राइट फ्युचरले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत ब्राइट फ्युचरका विद्यार्थी खेलाडीलाई अवसर प्रदान गर्दै आएको बताउनुभयो ।

ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्याम महर्जनले विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा पनि प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

पहिलो हुने टिमले नगद ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । दोस्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यस्तै, सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगद पुरस्कारसँगै शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । अनुशासित टिमका खेलाडीले पनि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?